सिटिजन्स बैंकले तिनाउ डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने अन्तिम सम्झौता

बिहिबार, २३ पुष, २०७७
डिजिटल संस्करण

सिटिजन्स बैंक इन्टर्नेसनल लिमिटेडले बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । बैंकका सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र तिनाउ मिसन डेभलपमेन्ट बैंकका सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक राजेन्द्रप्रसाद ओझाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

दुवै बैंकले आ–आफ्नो विशेष साधारणसभाबाट प्राप्तिसम्बन्धी प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि एकीकृत कारोबार सुरु गरिने बैंकले जनाएको छ । २०७७ साल पुस २२ गतेसम्मको तथ्यांकका आधारमा सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब १ खर्ब २४ अर्ब रुपैयाँ पुग्ने जनाइएको छ । 

त्यस्तै, ऋण लगानी करिब १ खर्ब २ अर्ब रुपैयाँ पुग्ने जनाइएको छ । प्राप्तिपश्चात् बैंकको कुल शाखा संख्या १ सय ६३ हुने बैंकले जनाएको छ । यस प्रक्रियामा तिनाउ मिसनका सेयरधनीले १ सय कित्ता सेयरबराबर सिटिजन्स बैंकको ९६ कित्ता सेयर पाउने जनाइएको छ । बैंकको हाल चुक्ता पुँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्तिपछिको ११ अर्ब ६६ करोड रुपैयाँ हुने बैंकले जनाएको छ । 
 

सुझावित समाचार