- ढिलोमा दसैँपछि नीतिगत निर्णय गर्ने सरकारको गृहकार्य, एउटा ब्रान्डको मात्रै सिलिन्डर हुने व्यवस्था लागू भए साटफेर गर्न उपभोक्तालाई सहज हुने
- ‘आयल निगम’ ब्रान्डमा मात्रै सिलिन्डर उपलब्ध गराउने उद्योगमन्त्री दीपक साहको योजना, खोजे उद्योगीको साथ
धेरै ब्रान्डका ग्यास सिलिन्डर हुँदा साटफेर गर्न सास्ती खेपेको उपभोक्ताको गुनासो सम्बोधन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले देशभर एउटै ब्रान्डमा मात्रै सिलिन्डर उपलब्ध गराउने नीतिगत निर्णय गर्न थालेको छ । अहिले देशभर सञ्चालित ५८ उद्योगले ५८ वटै ब्रान्डमा ग्यास सिलिन्डरको बजारीकरण गरिरहेका छन् ।
बजारमा धेरै ब्रान्डका सिलिन्डर हुँदा आपूर्ति व्यवस्था चुस्त बनाउन कठिन भएको र उपभोक्ताले समेत साटफेर गर्न समस्या भोगिरहेको गुनासो बढिरहेको छ । सोही समस्याको दीर्घकालीन समाधान खोज्न देशभर एउटा मात्र ब्रान्डमा सिलिन्डर उपलब्ध हुने व्यवस्था गर्ने तयारी थालेको उद्योग मन्त्रालयका सचिव रुद्रसिंह तामाङले जानकारी दिए । उनले सकेसम्म दसैँअगाडि नै यस्तो निर्णय हुने बताए ।

कुन मोडेलमा देशभर एउटै ब्रान्डको ग्यास सिलिन्डर बिक्री हुने व्यवस्था गर्ने भन्नेबारे भने निर्णय भइनसकेको उनले बताए । ‘कुन मोडेल र कसरी गर्ने भन्ने कुरामा निर्णय हुन बाँकी छ, तर देशभर एउटै ब्रान्डको मात्रै सिलिन्डर उपलब्ध हुने व्यवस्था गर्न हामी तत्पर भएर बसेका छौँ,’ सचिव तामाङले भने । उनले मन्त्रालयबाट नीतिगत निर्णय र सहजीकरण भएपछि आयल निगम र ग्यास उद्योगीले कार्यान्वयन गर्ने अपेक्षा राखेको बताए । एउटै ब्रान्डमा ग्यास सिलिन्डर प्रयोगमा ल्याउन तत्काल सम्भव नरहेको सुझाव उद्योगीले दिइसकेका छन् । तर, उद्योगीलाई पनि अप्ठ्यारो नहुने गरी निर्णय गर्ने योजना रहेको सचिव तामाङले जानकारी दिए ।
‘उद्योगीलाई अप्ठ्यारो नपर्ने गरी नीतिगत निर्णय हुनेछ । उपभाक्ताले वर्षौँदेखि एउटै ब्रान्डको सिलिन्डर हुनुपर्छ भनेर उठाइरहेको आवाजलाई अब सम्बोधन गर्न ढिला गर्नुहुँदैन भन्ने हो,’ उनले भने । केही दिनअघि ग्यास उद्योगीसँग भएको भेटमा उद्योगमन्त्री साहले पनि चाँडै एउटै ब्रान्डको सिलिन्डर बजारमा ल्याउने निर्णय हुन लागेको भन्दै साथ खोजेका थिए । मन्त्रीसँगको भेटमा पुगेका एलपी ग्यास उद्योग संघ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठका अनुसार आयल निगमको ब्रान्डबाट देशभर एउटै ग्यास सिलिन्डर प्रयोगमा ल्याउने मन्त्री साहले योजना सुनाएका थिए ।
‘मन्त्रीज्यूले आयल निगमको ब्रान्डमा मात्रै देशभर ग्यास सिलिन्डर बजारमा ल्याउने नीतिगत व्यवस्था गर्न लागेको भन्दै हामीसँग सुझाव माग्नुभएको थियो,’ श्रेष्ठले भने, ‘सरकारले नीतिगत सहजीकरण गर्ने हो भने निजी क्षेत्रले सहयोग गर्छ भनेका छौँ । तर, हामीलाई अप्ठ्यारोमा पार्नुहुँदैन भनेर केही सुझाव दिएका छौँ ।’
जुनसुकै ब्रान्डको सिलिन्डर आए पनि ग्यासको प्रकृति एउटै भएकाले धेरै थरी सिलिन्डरमा भर्नु आवश्यक नरहेको मन्त्रालयको बुझाइ छ । उपभोक्ताकर्मी माधव तिमिल्सिनाले पनि देशभर एउटै ब्रान्डको सिलिन्डर भए साटफेर र प्रयोग गर्न धेरै सजिलो हुने बताए ।
कार्यान्वयन गर्न कति सहज ?
भारतको ग्यास बजारमा सबैभन्दा ठुलो हिस्सा ओगटेको इन्डियन आयल कर्पोरेसन (आइओसी)ले विभिन्न प्लान्टमा ग्यास भर्ने गरेको छ । आइओसीले ग्यास र खाली सिलिन्डर आफैँ दिएर निजी क्षेत्रबाट सञ्चालित प्लान्टमा ‘रिफिलिङ’ गराउने अभ्यास छ । यसरी निजी क्षेत्रलाई ग्यास रिफिलिङबापतको ज्याला आइओसीले नै दिने व्यवस्था छ । नेपालमा भने आयल निगमले भारतबाट ग्यास आयात गर्न पिडिओ मात्रै जारी गर्ने काम गर्छ । यसबाहेक ढुवानी, भण्डारण र वितरणको काम निजी क्षेत्रले गर्छन् । ५८ उद्योगले देशभर पाँच हजारभन्दा बढी डिलर नियुक्त गरेका छन् ।
त्यसैले सुरुमा त आइओसीले जस्तै निगमले ग्यास कारोबारमा उपस्थिति बढाउनुपर्नेछ । निगमले ग्यास आयात र भण्डारणको काम आफैँ गर्नुपर्ने ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले बताए । ‘५८ उद्योगले ग्यास रिफिलिङ गरेर आयल निगमलाई दिन समस्या छैन । तर, आयल निगमले ग्यास आयात गर्ने र ठुलो क्षमताको भण्डारण पूर्वाधार तयार गर्ने काम गर्नुपर्छ,’ उनले भने । अहिले निगमसँग एक थोपा ग्यास भण्डारण गर्ने पूर्वाधार पनि छैन ।
अर्कातिर, देशभर ग्यास वितरण गर्न ५८ उद्योगले आफ्नो नियमअनुसार डिलर नियुक्त गरेका छन् । तिनीहरूलाई एकीकृत र व्यवस्थापन गर्नुपर्ने चुनौती रहेको घिमिरेले बताए । ‘एउटै ब्रान्ड भएपछि प्रत्येक प्लान्टले ग्यास कसरी रिफिल गर्ने, सिलिन्डर डिलरसम्म कुन आधारमा लैजाने, कुनै एउटा सिलिन्डरमा सुरक्षाका दृष्टिकोणले समस्या आयो भने त्यसको जिम्मेवारी कसले लिने, धरौटीबापतको रकम फिर्ता गर्नुपर्यो भने कसले गर्ने भन्ने विषयमा प्राविधिक तथा व्यावहारिक कठिनाइ छ । यी विषयलाई हल नगरी जान खोजियो भने हतारो मात्रै हुन्छ,’ उनले भने ।