पाेखरा/‘टीका, जमरा र चंगा चेट : पोखरामा पर्यटकसँग दसैँ भेट’ भन्ने नाराका साथ पर्यटनको राजधानी पोखरामा ‘दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव–२०८३’ हुने भएको छ । दसैँलाई पर्यटनसँग जोड्ने उद्देश्यसहित महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले ८ कात्तिक कोजाग्रत पूर्णिमाका दिन पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडस्थित बाराहीघाट मैदानमा महोत्सव आयोजना गर्न लागेको हो ।
संस्कृति र पर्यटनलाई जोड्ने उद्देश्यसहित आयोजना गर्न लागिएको महोत्सवमा चंगा चेट प्रतियोगितासमेत गरिनेछ । महोत्सवमा चमरेली पिङ, रोटे पिङ, घुमाउने पिङ, विभिन्न जातजाति एवं समुदायका मौलिक सांस्कृतिक प्रस्तुति, नेपाली मौलिक खानाका परिकार, खानपान, खाद्य संस्कृतिको प्रदर्शनी गरिनेछ । महोत्सवमा सहभागी स्वदेशी एवं विदेशी पर्यटकलाई दसैँको टीका र जमरासमेत लगाइदिने आयोजक ओटेफकी अध्यक्ष ममता न्यौपानेले जानकारी दिइन् । दसैँलाई पारिवारिक पर्वका रूपमा मात्र सीमित नराखी विदेशी पर्यटकलाई समेत नेपाली संस्कृति, परम्परा, खानपान र जीवनशैलीसँग प्रत्यक्ष जोड्ने अवसरका रूपमा महोत्सवलाई लिइएको उनले बताइन् । पर्यटकलाई पोखराको प्राकृतिक सुन्दरतासँगै यहाँको कला, संस्कृति र परम्परालाई देखाउन आवश्यक रहेको र यसका लागि यस्ता महोत्सवले सहयोग गर्ने उनले बताइन् ।
बडादसैँको महत्वबारे विदेशी पर्यटकलाई जानकारी दिने उद्देश्यसमेत रहेको महोत्सवमा परम्परागत सामग्रीका स्टल, स्थानीय उत्पादन तथा पर्यटन सम्बद्ध व्यावसायिक स्टलसमेत रहने ओटेफकी निवर्तमान अध्यक्ष उमा भण्डारीले जानकारी दिइन् ।
पोखरेली पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले महोत्सवलाई पर्यटनसँग जोडेर आन्तरिकसँगै बाह्य पर्यटकलाई हाम्रो संस्कृति अनुभव गराउन सकिने बताए । पोखरामा रहेका सम्पूर्ण पर्यटनसम्बद्ध संस्थाले यसलाई साझा कार्यक्रमका रूपमा अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ अधिकृत जयशक्ति सराफले महोत्सवले पोखराको पर्यटनमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे । महोत्सवलाई सांस्कृतिक पर्वका रूपमा मात्र नहेरी विदेशी र स्वदेशी पर्यटकलाई नेपाली संस्कृति, परम्परा, खानपान र जीवनशैलीको प्रत्यक्ष अनुभव गराउने माध्यमका रूपमा लिइनुपर्ने उनको भनाइ छ ।