‘नबिल एसएसई’बाट जन्मिए ३१८ उद्यम

१९ हजार ३०३ जनाले पाए रोजगारी, सातौँ ब्याजका लागि खुल्यो आवेदन

बुधबार, २१ असोज, २०८३
प्रिन्ट संस्करण

१० भदौमा ल्हेन्दे–भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारीले बाढीले उक्त करिडोरलाई नै प्रभावित बनायो । तर, बाढी जानासाथ त्यस करिडोरमा कस्तो असर पुग्यो भनेर अनुमान गर्ने आधार भने भएन । जसले गर्दा उद्धार तथा राहतका काम कसरी अघि बढाउने भनेर अलमल थियो ।

त्यसवेला ‘गल्ली म्याप’ले धेरैको अन्योल अन्त्य गरिदियो । ‘गल्ली म्याप’मा नेपालका विभिन्न भौगोलिक स्थानको विस्तृत जानकारी उपलब्ध छ । बाढी जानासाथ गल्ली म्यापले प्रभावित क्षेत्रको प्रयोगकर्तालाई ‘सुरक्षित क्षेत्रमा जान’ अलर्ट गरायो । त्यसपछि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयनमा बाढी आएको दुई घण्टामै रसुवा पुगेर ‘ड्रोन म्यापिङ’ गर्यो । जसले गर्दा बाढीले कुन क्षेत्रमा कस्तो असर पार्यो, विश्लेषण गर्न सहज भयो । प्राधिकरण तथा नेपाली सेनाले सोहीअनुसार उद्धारका काम अघि बढाए ।

‘स्कुल अफ सोसल आन्टरप्रेनरसिप’ (एसएसई) कार्यक्रममा सहभागी भएपछि राजविक्रम महर्जनले ‘गल्ली म्याप’ स्थापना गरेका हुन् । महर्जन नेपालको आफ्नै मौलिक म्याप बनाउने सोचमा थिए ।  तर, त्यसलाई अघि बढाउने विषयमा उनी अन्योलमा थिए । नबिल बैंकको ‘स्कुल अफ सोसल आन्टरप्रेनरसिप’ (एसएसई)ले उनलाई आफ्नो सपना साकार बनाउन सहयोग गर्यो । महर्जन नबिल एसएसईको पहिलो ब्याच ०२१ का विद्यार्थी हुन् । ‘मसँग गल्ली म्यापको आइडिया थियो । त्यसलाई अघि बढाउने कि नबढाउने ? लगानी गर्ने कि नगर्ने भन्ने ? भन्नेमा द्विविधा थियो,’ उनले भने, ‘तर, नबिल एसएसईले हौसला प्रदान गर्यो । त्यसमा मेन्टरसिपसहित व्यावसायिक तालिम प्रदान गरियो । बिजनेस आइडिया पनि मिल्यो ।’ गल्ली म्यापपछि उनले एयर लिफ्ट पनि स्थापना गरे ।

नबिल एससईकै कारण अहिले रसुवाका सनदेवी तामाङ पनि व्यवसायमा सक्रिय छिन् । उनी छेरिङ सोलक्राफ्टकी संस्थापक हुन् । यो संस्थाले स्थानीय महिला, विशेषगरी एकल महिलाका लागि जीविकोपार्जनका अवसर सिर्जना गर्दै आएको छ । तामाङले हालै आएको रसुवा–नुवाकोट बाढीमा आफ्नो गाउँ, आफन्त र आमाबुबा गुमाइन् । तर, आफ्नै गहिरो पीडाका बिच पनि उनी बाढी प्रभावित परिवारलाई सहयोग गर्न तथा बालबालिका र समुदायलाई सामान्य जीवनमा फर्किन सहयोग गर्न सक्रिय रूपमा लागिरहेकी छिन् ।

नबिल एसएसईकै कारण अबोध भुसन खोजु श्रेष्ठ पनि व्यवसायी भएका छन् । उनले धुलिखेल, भकुन्डे र सल्लाघारीमा सामुदायिक सहरी स्वास्थ्य तथा कल्याण केन्द्र स्थापना गरेका छन् । उक्त केन्द्रले सहरी न्यून आय भएका समुदायलाई सुलभ प्राथमिक स्वास्थ्य सेवा, आधारभूत स्वास्थ्य परीक्षण, परामर्श तथा स्वास्थ्य–कल्याणसम्बन्धी सेवा दिँदै आएको छ ।

नबिल बैंकको ‘स्कुल अफ सोसल आन्टरप्रेनरसिप’ (एसएसई)बाट यी जस्तै तीन सय १८ वटा उद्यम स्थापना भएका छन् । कृषि, स्वास्थ्य सेवा, खाद्य प्रशोधन, सूचना प्रविधि, उत्पादन, शिक्षा, पर्यटन, हस्तकलाजस्ता क्षेत्रमा स्थापना भएका उद्योगबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १९ हजार तीन सय तीनवटा रोजगारी सिर्जना भएको छ । संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)अन्तर्गत सञ्चालन गरिएको यसअन्तर्गत मुख्यतः नबिल एसएसई फेलोसिप र नबिल एसएसई सर्टिफिकेट कोर्स गरेर दुई कार्यक्रम छन् । नबिल बैंकले त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा सन् ०२१ देखि यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । नबिल एसएसई फेलोसिप कार्यक्रम ६ महिनाको उद्यम विकास कार्यक्रम हो । सर्टिफिकेट कोर्स भने करिब तीन महिनाको उद्यमशीलता विकास कार्यक्रम हो ।

बैंकका अनुसार फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्समार्फत हालसम्म एक हजार पाँच सय ८० जना प्रसिक्षित भइसकेका छन् । फेलोसिपमा ६ वटा समूहबाट एक सय १३ जना प्रशिक्षित भइसकेका छन् । जसबाट ९३ वटा फेलो–नेतृत्वका उद्यम सञ्चालनमा रहेको बैंकले जनाएको छ । त्यस्तै, सर्टिफिकेट कोर्समार्फत एक हजार चार सय ६७ जना सहभागी लाभान्वित भएका छन् । यसका साथै दुई सय २५ वटा उद्यम स्थापना भएका हुन् । ​​​​​​

सातौँ ‘ब्याच’को आवेदन  म्याद २६ असोजसम्म
नबिल एसएसई फेलोसिप कार्यक्रमको सातौँ समूह र नबिल एसएसई सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन पनि माग भइसकेको छ । ३० भदौमा खुला भएको आवेदनको अन्तिम म्याद २६ असोजसम्म छ । १८ वर्ष उमेर पुगेका र नवीन उद्यमशील सोच भएका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

आइडियादेखि फाइनान्सिङसम्म

नबिल एसएसईमा व्यवसाय सुरु गर्न चाहने व्यक्तिलाई व्यवसायको अवधारणा विकास गर्नेदेखि बजार पहिचान, व्यवसाय सञ्चालन, बिक्री तथा बजारीकरण, वित्तीय व्यवस्थापन र लगानी जुटाउनेसम्मका विषयमा व्यावहारिक ज्ञान दिइन्छ। कार्यक्रमको अर्को महत्त्वपूर्ण पक्ष सफल उद्यमी तथा विज्ञबाट प्रत्यक्ष अभिमुखीकरण र मेन्टरसिप पनि हो।

सहभागीलाई व्यवसाय कसरी गर्ने ? भन्ने सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी व्यवसायमा आइपर्ने वास्तविक समस्या कसरी समाधान गर्ने भन्ने विषयमा समेत सिक्ने अवसर दिने नबिल एसएसईले जनाएको छ। व्यवसायको आइडियालाई ‘बिजनेस मोडल’मा रूपान्तरण गर्ने, ग्राहक पहिचान गर्ने, उत्पादन तथा सेवाको बजार विस्तार गर्ने र बिक्री बढाउने रणनीतिसम्मलाई कार्यक्रमले समेट्ने गरेको छ।

विशेषगरी नयाँ उद्यमीका लागि पुँजी व्यवस्थापन र वित्तीय पहुँच चुनौतीपूर्ण विषय बन्ने गरेको छ। व्यवसाय सुरु गर्न चाहने व्यक्तिसँग राम्रो आइडिया भए पनि लगानी कहाँबाट जुटाउने, बैंकबाट ऋण कसरी लिने, व्यवसायका लागि आवश्यक वित्तीय योजना कसरी बनाउने भन्ने ज्ञान नहुन सक्छ। नबिल एसएसईले यस्ता विषयमा ज्ञान प्रदान गर्छ।

यसले ‘आइडिया–इन्क्युबेसन–मेन्टोरसिप–बिजनेस मोडल–फाइनान्स–मार्केट’लाई एउटै प्रक्रियामा जोडेको छ। व्यवसाय सुरु गरिसकेका व्यक्तिले समेत कार्यक्रममा सहभागी भएर आफ्नो व्यावसायिक मोडल, उत्पादन वा बजार रणनीति पुनरवलोकन गर्ने गरेका छन्।

नबिल एसएसईका सहभागी राजविक्रम महर्जनको अनुभवले पनि यसको व्यावहारिक पक्ष देखाउँछ। इन्जिनियरिङ पृष्ठभूमिका महर्जनलाई उद्यमशीलतामा प्रवेश गर्दा धेरै नयाँ चुनौती थिए। तर, त्यो चुनौती तथा समस्या समाधान गर्न नबिल एसएसई कार्यक्रमले सहयोग गरेको उनले बताए। नबिल एसएसईमार्फत उनले बिजनेस मोडल, डिजाइन थिंकिङ, बिक्री तथा मार्केटिङका प्रविधि सिक्ने अवसर पाए।

‘म इन्जिनियर थिएँ। तर, नबिल एसएसईबाट बिजनेस मोडल, डिजाइन थिंकिङको प्रक्रिया, सेल्स र मार्केटिङका विभिन्न टेक्निक्स सिक्ने अवसर भयो,’ उनले भने, ‘त्यसले गर्दा अहिले हामी एयर लिफ्ट र गल्ली म्याप सफलताका साथ सञ्चालन गर्दै आएका छौँ।’

महर्जनको अनुभवले नबिल एसएसईको उद्देश्य केवल ‘तालिम लिएर प्रमाणपत्र प्राप्त गर्ने’भन्दा फरक रहेको देखाउँछ। कार्यक्रममा सिकेका विषयलाई आफ्नो व्यावसायिक यात्रामा प्रयोग गर्ने र आवश्यकताअनुसार व्यावसायिक मोडलमै परिवर्तन गर्ने अवसर सहभागीले पाउने गरेका छन्।

नयाँ व्यवसाय सुरु गर्ने सोचमा रहेका व्यक्ति मात्र नभई व्यवसाय सञ्चालन गरिरहेका, तर त्यसलाई थप व्यवस्थित, प्रतिस्पर्धी र विस्तारयोग्य बनाउन चाहने उद्यमीका लागि पनि कार्यक्रम उपयोगी छ। उद्यमीलाई व्यवसायको सम्भावना र चुनौती पहिचान गर्न, सही निर्णय लिन र आवश्यक नेटवर्क तथा मेन्टरसँग जोडिन कार्यक्रमले सहयोग गर्ने गरेको छ।

नबिल एसएसईले व्यावसायिक यात्राका विभिन्न चरणमा आवश्यक पर्ने ज्ञान, सिप, मेन्टरसिप र नेटवर्कलाई एउटै प्लाटफर्ममा जोडिएको छ।

सुझावित समाचार