काठमाडौं/ दुग्ध विकास संस्थान (डिडिसी)बाट दैनिक १० हजार दुई सय ५१ लिटर प्रशोधित दुध खरिद गर्न नेपाली सेनाले सम्झौता गरेको छ । डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डे र नेपाली सेनाको आपूर्ति तथा परिवहन निर्देशनालयका रथी सञ्जयकुमार रञ्जितबिच दुध, दही, पनिर, पाडउर र चिज खरिद गर्ने सम्झौता भएको हो ।
सम्झौताअनुसार सेनाले डिडिसीबाट दैनिक दही तीन सय ६५ लिटर, पनिर ३७ किलो, पाउडर दुध २१ किलो र चिज १५ किलो खरिद गर्नेछ । यो खरिद सम्झौता आगामी १ माघबाट लागू हुने डिडिसीका महाप्रबन्धक पाण्डेले जानकारी दिए । ‘दैनिक १० हजार लिटर दुध सेनाको ब्यारेकमा आपूर्ति गर्ने गरी भएको सम्झौता डिडिसीका लागि ठुलो उपलब्धि हो,’ उनले भने, ‘यो सम्झौता कार्यान्वयन गर्न हामीले किसानबाट खरिद गर्ने दुधको परिमाण पनि तत्कालै बढाउनेछौँ ।’
उनका अनुसार डिडिसीले देशभरबाट दैनिक ७० हजार लिटर दुध संकलन गरिरहेको छ । दसैँलगत्तै थप ४० हजार लिटर बढाउने पाण्डेले बताए । ‘दसैँपछाडि दैनिक एक लाख लिटरभन्दा बढी दुध किसानबाट खरिद गर्नेछौँ,’ उनले भने । अहिले डिडिसीले बक्यौता पनि चुक्ता गरिसकेको पाण्डेले जानकारी दिए । सेनाको ३२ जिल्लामा रहेका ब्यारेकमा दुध तथा दुग्धजन्य उत्पादन आपूर्ति गर्ने गरी सम्झौता भएको पाण्डेले जानकारी दिए ।
कृषि मन्त्रालयका सहसचिवसमेत रहेका पाण्डेले महाप्रबन्धकको जिम्मेवारी पाएलगत्तै दुबईमा घिउ र थाइल्यान्डमा याक चिज निर्यात गर्न थालेका छन् । जापान र कोरियामा पनि चाँडै घिउ निर्यात हुन लागेको उनले बताए । ‘निर्यातबाट मात्र होइन, आन्तरिक बजार पनि बलियो बनाउनुपर्छ भनेर केही रणनीति अख्तियार गरेका छौँ,’ उनले भने ।