पुष्पलाल स्मृति ब्याड्मिन्टन अर्को साता

शनिबार, ११ पुष, २०७७
डिजिटल संस्करण

१०औँ संस्करणको योनेक्स पुष्पलाल स्मृति वरीयता ब्याड्मिन्टन प्रतियोगिता अर्को साता काठमाडौंमा हुने भएको छ । नेकपाको भातृसंगठन नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय ब्याड्मिन्टन संघ नेपालको आयोजनामा हुने प्रतियोगिता २२ पुसदेखि राष्ट्रिय खेलकुद परिषद्, त्रिपुरेश्वरको कभर्डहलमा हुने भएको हो ।

प्रतियोगितामा पुरुष एकल (शीर्ष १६ स्थानका खेलाडीहरू) र महिला एकल (शीर्ष १२ स्थानका खेलाडीहरू), पुरुष एकल (शीर्ष १६ देखि बाहेक) र महिला एकल (शीर्ष १२ देखि बाहेक), पुरुष तथा महिला युगल, छात्र तथा छात्रा यू – १७ एकल र ४५ वर्षमाथिको भेट्रान्स युगल गरी १० विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा नेपाल ब्याड्मिन्टन संघसंग आबद्ध ४७ जिल्ला, तीन विभागीय टोलीका  गरी करिब दुई सय खेलाडीहरूले सहभागिता जनाउने आयोजक संघले जानकारी दिएको छ  ।

प्रतियोगिताको वरीयता प्रतिस्पर्धामा सहभागी खेलाडीहरूले सहभागिता भएबापत एक हजार पाँच सय प्राप्त गर्नेछन् । यस्तै, पहिलो चरण लिगमा विजयी हुने खेलाडीहरूले प्रत्येक खेलबापत थप एक हजार पाँच सय प्राप्त गर्नेछन् । यस्तै, क्वाटरफाइनलमा विजयी खेलाडीहरूले आठ हजार प्राप्त गर्नेछन् ।  सेमिफाइनलमा विजयी खेलाडीहरूले १६ हजार प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगितामा विजयी खेलाडीहरूले थप २० हजार प्राप्त गर्नेछन् भने उपविजेता खेलाडीहरूले थप पाँच हजार प्राप्त गर्नेछन् ।

यस्तै, अन्य विधामा वरीयताबाहेकका प्रतियोगितामा पुरुष तथा महिला एकल र युगल, यस्तै ४५ वर्षमाथिको भेट्रान्स युगलका विजयी खेलाडीहरूले नगद २० हजार, उपविजेताले नगद १० हजार र शीर्ष चारमा पुग्नेले नगद पाँच–पाँच हजार प्राप्त गर्नेछन् । यसैगरी, छात्र तथा छात्रा यू – १७ का विजयीले नगद १५ हजार, उपविजेताले नगद आठ हजार र शीर्ष चारमा पुग्न सफल खेलाडीले नगद चार–चार हजार प्राप्त गर्नेछन् । 

कुल १९ लाख ८४ हजार लागत रहेको प्रतियोगितामा पुरस्कारतर्फ पाँच लाख ५८ हजार तथा अन्य सञ्चालन खर्च रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा ब्याड्मिन्टन खेल सामग्री उत्पादक तथा वितरक योनेक्स सन्राइज रहेको छ । 
२०६७ सालमा संघको स्थापनापछि  १०औँ संस्करणसम्म पुग्दा पुरस्कार राशिमा वद्धिका साथै खेलाडीहरूको हौसला अभिवृद्धि गर्न मोटरसाइकल प्रदान गर्ने कार्यसमेत गरिइसकेको छ । यो प्रतियोगिता भूकम्पका वेला मात्र स्थगित गरिएको थियो ।  

सुझावित समाचार