२०२१ कसरी राम्रो होला र ?

मंगलबार, ७ पुष, २०७७
डिजिटल संस्करण

सन् २०२० जे कारणले भयानक भएको थियो, ती सबै कुरा नयाँ वर्षपछि पनि यथावत् नै रहने देखिन्छ 

खासमा म अत्यन्त कठिन समयमा पनि आशा नमार्ने आशावादी मानिस नै हुँ । तर, जब मेरा साथीहरू नजिकिँदै गरेको नयाँ वर्ष सन् २०२१ ले यो वर्ष (सन् २०२०) को सम्पूर्ण पीडा तथा समस्या निर्मूल पार्नेछ भन्ने विश्वासमा बसेको देख्छु, तब मेरो मनमा आशाभन्दा बढी संशय उत्पन्न हुन्छ । मेरा अमेरिकी मित्रहरूलाई राष्ट्रपतिबाट डोनाल्ड ट्रम्पको बहिर्गमन र जो बाइडेनको आगमनले पनि आशा बढाउन सघाएको हुनुपर्छ । तर, नयाँ वर्षप्रतिको उग्र आशा देख्दा मलाई भने साथीहरूलाई प्रश्न गर्न मन लाग्छ , ‘के कुराले तिमीहरू सन् २०२१ राम्रो हुनेछ भन्ने सोच्छौ ?’

अन्य धेरै मानिसजस्तै म पनि अहिलेको लामो विपद्बाट तत्कालै बाहिरिन पाइयोस् भन्ने सोचिरहेको छु । म पनि मास्कविना सबैसँग कुराकानी गर्न पाइने दिनको पर्खाइमा छु । आफ्ना प्रियजनलाई अँगालो हाल्न सकिने दिनको कामना गरिरहेको छु । तर, मेरा यी कामनाका बाबजुद, परिस्थिति नयाँ वर्षको मध्यरात अचानक सामान्य अवस्थामा फर्किंदैन । आखिर संकट पात्रो हेरेर आउँदैन । सन् २०२० का जे जति समस्या तथा चुनौती आए र छन्, ती नयाँ वर्षको दिन छुमन्तर भएजसरी जाँदैनन् । 

निश्चित रूपमा सन् २०२० असामान्य रूपमा खराब रह्यो । वर्षको सुरुमै फिलिपिन्सको तालमा ज्वालामुखी विस्फोट भयो र त्यसका कारण केही समयका लागि एक लाख ३५ हजार मानिस सुरक्षित स्थानमा भाग्न बाध्य भए । त्यसपछि केन्यामा ७० वर्षयताकै गम्भीर सलहको संकट आइपर्यो । दशौँ करोड सलहले केन्या र वरिपरिको क्षेत्रमा बितन्डा मच्चाए । अनि जनवरीको अन्तिममा विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको विश्वव्यापी स्वास्थ्य संकट सुरु भएको घोषणा गर्यो । 

त्यसयता, यस प्रकोपले तीन लाखभन्दा बढी अमेरिकीको ज्यान लिइसक्यो । कोभिड–१९ बाट सबैभन्दा बढी अमेरिकीकै ज्यान गएको छ । हालसालै अमेरिकामा कोरोनाबाट साताको सबैभन्दा बढी मृत्यु मापन भयो । विभिन्न राज्यका गभर्नरले अस्पतालहरू रोगीले भरिने अवस्थाको चेतावनी दिएका छन् । यो वर्ष ठूला स्तरका आँधीको संख्याले ऐतिहासिक संख्या नाघ्यो । भयानक डढेलोले क्यालिफोर्नियाको ४० लाख एकडभन्दा बढी भूभाग नष्ट गर्यो । अझ यहाँ यो वर्षका बाढी तथा भूकम्पको त अझ लेखाजोखा गरिएको छैन । राष्ट्रपति ट्रम्पले उनको कार्यकालमा जलवायु परिवर्तनलाई ‘हल्ला’ मात्र भनेर गम्भीर नहुँदा हामीले जलवायु परिवर्तनसँग लड्नका लागि अमूल्य समय गुमायौँ । सन् २०२० का अन्य सम्पूर्ण समस्या तथा अप्ठ्याराहरू आगामी दिनमा पनि कायम रहनेछन्, अझ थप गहिरिनेछन् । अमेरिकीहरूले कोरोना भाइरसविरुद्ध पूर्वसावधानी अपनाउन बेवास्ता गर्दा र ट्रम्पले नेतृत्वदायी भूमिका निभाउन असफल हुँदा अमेरिकाले भावी दिनमा पनि ठूलो क्षति भोग्नुपर्ने हुन सक्छ । इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसनको प्रक्षेपणअनुसार अगामी अप्रिल १ सम्म झन्डै पाँच लाख दुई हजार अमेरिकीको कोरोनाबाट ज्यान जान सक्छ । हामीले एकातर्फ सामाजिक दूरी तथा मास्क लगाउन जोड दिनुपर्छ भने यसबारेमा अशिक्षित मानिसलाई शिक्षित बनाउन पनि जनचेतना अभियान चलाउनुपर्छ । 

फेसबुक र ट्विटरमा फैलिएको गलत खबरका कारण खोपविरोधी भावना बढेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार खोपविरोधी भावना विश्वको शीर्ष १० जनस्वास्थ्य जोखिममा पर्छ । कोरोना भाइरसविरुद्धको खोप उपलब्ध भइसकेपछि पनि मानिसहरूलाई यो लगाउनु सुरक्षित छ भनेर बुझाउनु चुनौती पर्ने देखिएको छ । सामाजिक दूरी बेवास्ता गर्नेहरूले भाइरसको जोखिमलाई ठूलो मानेको देखिँदैन । एक तप्कामा भाइरस बिल गेट्स वा ठूला देशका सरकारले मानिसको दिमागमाथि नियन्त्रण गर्न बनाएको विश्वास गढेको छ । 

कोरोना भाइरस महामारीको अवधिमा आममानिसले धेरै दुःख पाए, तर अर्बपतिहरूले भने आफ्नो आय झन् बढाएको देखिन्छ । जबकि, यही समयमा सबैजसो देशको कुल गार्हस्थ्य उत्पादन वृद्धिमा धक्का लागेको छ । सन् २०२१ को पहिलो चतुर्थांशमा पनि यो क्रम जारी रहनेछ । कोरोनाका कारण विद्यालय बन्द छ । विद्यार्थीहरू घरमै बसेर अनलाइन कक्षा लिइरहेका छन् । अध्ययनहरूका अनुसार यो पढाइ प्रत्यक्ष रूपमा कक्षामा उपस्थित भएको तुलनामा प्रभावकारी देखिएको छैन । उता, अमेरिकी राजनीतिको कुरा गर्दा रिपब्लिकनले बाइडेनका एजेन्डालाई अघि बढ्न नदिन कम्मर कस्न थालेका छन् । रिपब्लिकनको बहुमत रहेको सिनेटले सहायता प्याकेजलाई बन्धक बनाइराखेको छ । अमेरिकीहरूलाई कठिनाइको समयमा सहायता घोषणा गर्न नदिने रिपब्लिकनहरू चुनावी धाँधलीको झुट भने प्रसार गरिहेका भेटिन्छन् । रोयटर्स/इप्सोसले अघिल्लो महिना गरेको मतसर्वेक्षणअनुसार झन्डै ७० प्रतिशत रिपब्लिकनले चुनावमा धाँधली भएको बताएका थिए ।

सन् २०२१ को आगमनपछि पनि यो समूह हामीसँगै रहन्छन् । अमेरिकीहरूले जर्जियामा हुन लागेका दुई सिनेट पदको चुनावमा डेमोक्रेट्सलाई जिताएमा केही सहजता आउला । तर, मुख्यतः हामी सबैले आगामी दिन पनि कठिन हुनेछ भन्ने स्विकार्दै ती दिनका लागि तयार रहनुपर्छ । धैर्य आवश्यक पर्नेछ । सबैभन्दा महत्वपूर्ण कुरा, हामीले विज्ञान, तथ्य, लोकतन्त्रप्रतिको विश्वास र करुणाजस्ता गुणलाई बढावा दिनुपर्छ । सन् २०२० मा यी कुरामाथि धेरै प्रहार भएको थियो । सम्भवतः यी कुरामा टिकिरह्यौँ भने सन् २०२२ भने निकै राम्रो हुनेछ । 

न्युयोर्क टाइम्सका स्तम्भकार अली परिवार, धर्म र राजनीतिबारे लेख्छन् । 
"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य

सुझावित समाचार