नयाँ प्रशिक्षकको प्रतीक्षामा नेपाली क्रिकेट

आइतबार, २८ मंसिर, २०७७
डिजिटल संस्करण

सिफारिसमा परेकामध्ये अस्ट्रेलियन डेभ वाटमोरको सम्भावना बढी

नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमुक्त भएपछि नेपाली क्रिकेट फेरि लयमा फर्कने प्रयासमा छ । नयाँ निर्वाचनमार्फत नयाँ नेतृत्वको चयन भएको छ । त्यही नेतृत्वले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को निर्देशन र नियमअनुसार अरू थप कर्मचारीको नियुक्ति प्रक्रिया अघि बढाएको छ । 

सम्भवतः आगामी केही दिनमै क्यानमा केही महत्वपूर्ण पदमा नियुक्ति हुनेछन् । जनरल म्यानेजर, फाइनान्स अफिसर र क्रिकेट म्यानेजर आउनेछन् । नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको नियुक्ति पनि हुनेछ । नेपाली टोलीले झन्डै वर्ष दिनपछि फेरि विदेशी मुख्य प्रशिक्षक पाउनेछ । 

गत माघ अन्तिम साता भारतका उमेश पटवालले राजीनामा दिएपछि नेपाली टोली स्वदेशी प्रशिक्षकको नेतृत्वमै छ । कोरोना भाइरस (कोभिड १९) महामारीले केही सुस्त बनेको नेपाली क्रिकेटको गतिविधि यी कर्मचारी आएपछि रफ्तारमा अघि बढ्ने विश्वास गरिएको छ । 

क्यानले यी सबै पदमा गर्ने नियुक्ति महत्वपूर्ण हुनेछन् । मुख्य प्रशिक्षकको नियुक्ति अझ महत्वपूर्ण हुनेछ । नेपाली टोलीको प्रदर्शनमा मुख्य प्रशिक्षककै प्रशिक्षण कला र नेतृत्वले ठूलो प्रभाव पार्ने गरेको छ । त्यसको नतिजाले नै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली क्रिकेटको स्थान तय गर्नेछ । नेपाली टोलीको मुख्य प्रशिक्षकका लागि ७२ जनाले आवेदन दिएका थिए । त्यसमध्ये २५ जनाको नाम सर्ट लिस्टमा परेको थियो । त्यसमध्ये पनि १४ जना अन्तर्वार्ताका लागि छनोट भएका थिए । छनोट भएकामध्ये पनि १२ जना मात्रै अन्तर्वार्तामा सहभागी भए । अन्तर्वार्तामा सहभागी भएकामध्ये सर्टलिस्टमा परेका अन्तिम तीनजनाको नाम अन्तिम स्वीकृतिका लागि आइसिसीमा पठाइएको छ ।

त्यसमा अस्ट्रलियन डेभ वाटमोर, भारतका अपुर्भा देसाई र स्कट्ल्यान्डका निल म्याकरे छन् । त्यसमध्ये सबैभन्दा अनुभवी वाटमोरको सम्भावना बलियो देखिएको छ । आइसिसीले कुनै ठूलो आपत्ति नजनाए र उनीसँग तलब र अरू सबै कुरामा सहमति भएको अवस्थामा नेपालको पहिलो प्राथमिकतामा वाटमोर नै हुनेछन् । उनलाई नियुक्ति गर्नेबारे उमेरहदको प्रश्न उठेको थियो । यसबारे आइसिसी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र क्यानको कार्यसम्पादन समितिले नै अनुमति भने दिइसकेको छ ।

आवेदन दिएकामध्ये अनुभवी व्यक्तिलाई नै हामीले राख्ने प्रयास गरेका छौँ । तर, हामीले चाहेको व्यक्तिसँग पनि सबै कुरा मिल्नुपर्छ । सिफारिसमा परेका व्यक्तिमाथि आइसिसीले कुनै आपत्ति नजनाएको अवस्थामा हामी फेरि सम्बन्धित व्यक्तिसँग तलब, उनको जिम्मेवारीलगायत सबै कुरामा छलफल गर्छौं । त्यसमा सहमति जुटेपछि मात्रै टुंगो लाग्नेछ । - शोकनाथ प्याकुरेल, सचिव, क्यान

आइसिसीले अनुभवी व्यक्ति आएको अवस्थामा र क्यानले उक्त व्यक्ति नेपाली क्रिकेटको हितमा उपयुक्त छ भन्ने ठहर गरेको अवस्थामा उमेरहद नलाग्ने भनी लेखी पठाएको छ । क्यानको कार्यसम्पादन समितिले पनि सोही कुरालाई सदर गरेको छ । राखेप सदस्यसचिव रमेश सिलवालले यो विषयमा मौखिक अनुमति दिएका छन् । 

आइसिसीबाट अन्तिम स्वीकृति आउनुअघि नै क्यानले वाटमोरका बारेमा उनका एजेन्टसँग कुरा अघि बढाइसकेको छ । वाटमोरसँग कुरा मिले उनलाई ल्याउन क्यान मासिक १२ हजार अमेरिकी डलरसम्म खर्च गर्न तयार देखिएको छ । वाटमोरसँग कुरा नमिलेको अवस्थामा क्यानले सर्टलिस्टमा परेका बाँकी दुई व्यक्तिसँग छलफल अघि बढाउनेछ । 

क्यानले सम्भव भएसम्म नेपाली क्रिकेटको हितका लागि अनुभवी व्यक्तिलाई नै ल्याउने प्रयास गरेको जनाएको छ । ‘आवेदन दिएकामध्ये अनुभवी व्यक्तिलाई नै हामीले राख्ने प्रयास गरेका छौँ,’ क्यानका सचिव अशोकनाथ प्याकुरेल भन्छन्, ‘तर, हामीले चाहेको व्यक्तिसँग पनि सबै कुरा मिल्नुपर्छ । सिफारिसमा परेका व्यक्तिमाथि आइसिसीले कुनै आपत्ति नजनाएको अवस्थामा हामी फेरि सम्बन्धित व्यक्तिसँग तलब, उनको जिम्मेवारीलगायत सबै कुरामा छलफल गर्छौं । त्यसमा सहमति जुटेपछि मात्रै टुंगो लाग्नेछ ।’

मुख्य प्रशिक्षकका लागि ‘सर्टलिस्ट’मा परेकाहरू 

१. डेभ वाटमोर, अस्ट्रेलिया

नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्न आवेदन दिएकामध्ये वाटमोर सबैभन्दा अनुभवी प्रशिक्षक हुन् । श्रीलंकामा जन्मिएका अस्ट्रलियन क्रिकेटर वाटमोर विश्वकप क्रिकेट जितेका प्रशिक्षक हुन् ।

उनले सन् १९९६ मा मुख्य प्रशिक्षकको हैसियतमा श्रीलंकालाई विश्वकपको उपाधि दिलाएका थिए । विश्वमै सफल र अनुभवीमध्येका प्रशिक्षक उनी दक्षिण एसियाली क्रिकेटलाई राम्रोसँग बुझेका प्रशिक्षक हुन् । उनले श्रीलंकापछि पाकिस्तान, बंगलादेश र जिम्बाबेजस्ता टेस्ट टोलीलाई प्रशिक्षण दिएका छन् ।

यस्ता अनुभवी प्रशिक्षकको नेतृत्वमा नेपालले थप ठूला प्रगति हासिल गर्ने अपेक्षा गरिएको छ । क्यानले सर्टलिस्टमा परेकामध्ये पनि उनलाई नै पहिलो प्राथमिकतामा राखेको छ । ठूलो समस्या नआए र तलबसँगै अरू सुविधामा सहमति भए क्यानले उनलाई नै नियुक्त गर्नेछ ।

वाटमोरले तीन वर्षअघि नेपाली टोलीलाई छोटो समय प्रशिक्षण दिएका थिए । ब्याट एन्ड बल फाउन्डेसनको व्यवस्थापनमा वाटमोरले झन्डै दुई साता नेपाली क्रिकेटरलाई प्रशिक्षण दिएका थिए । 

२. अपुर्भा देसाई, भारत

भारतीय प्रशिक्षक अपुर्भा देसाई नेपाली टोलीको मुख्य प्रशिक्षकका लागि सिफारिसमा परेका दोस्रो व्यक्ति हुन् । उनी पनि अनुभवी प्रशिक्षक हुन् । दुई वर्षपहिले नेपाली राष्ट्रिय टोलीको ब्याटिङ कन्सल्ट्यान्ट प्रशिक्षकका रूपमा काम गरेका उनले यसपटक मुख्य प्रशिक्षककै लागि आवेदन दिएका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)को राष्ट्रिय एकेडेमीमा रहेर काम गरेका उनी क्षमतावान् प्रशिक्षकमा गनिन्छन् । विशेषगरी, उनी नयाँ क्षमतावान् खेलाडीको पहिचानमा माहिर मानिन्छन् ।

उनले इन्डियन प्रिमियर लिग (आइपिएल)का धेरै टोलीका लागि नयाँ खेलाडी पहिचान गर्न काम गरेका छन् । क्यानले उनी नेपाली टोलीको मुख्य प्रशिक्षक नियुक्त भएपछि विश्वमै धनी क्रिकेट बोर्ड बिसिसिआईसँग सम्बन्ध बलियो बनाउन सकिने अपेक्षा गरेको छ ।

यद्यपि, वाटमोर नेपाली टोलीको मुख्य प्रशिक्षक नियुक्त भए अपुर्भाको सम्भावना यस पटकलाई समाप्त हुनेछ । 

३. निल म्याकरे, स्कट्ल्यान्ड

निल म्याकरे स्कट्ल्यान्डका पूर्वक्रिकेटर हुन् । उनले एकदिवसीय, प्रथम श्रेणी र लिस्ट ए क्रिकेट खेलेका छन् । उनी तुलनात्मक रूपमा अघिल्ला दुई प्रतिस्पर्धीभन्दा कम अनुभवी देखिएका छन् । खेलाडी र प्रशिक्षकका रूपमा पनि उनीसँग कम अनुभव देखिन्छ ।

उनले पछिल्लो समय सन् २०१३/१४ मा जर्सीको राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका थिए । यद्यपि, इंग्लिस क्रिकेटको राम्रो अनुभव बटुलेका म्याकरेले मुख्य प्रशिक्षकको हैसियतमा नेपाली क्रिकेटमा पनि योगदान पुर्‍याउन सक्ने अपेक्षा गरिएको छ। 

See More On

सुझावित समाचार