अस्ट्रेलिया र भारतबीचको चार टेस्ट सिरिजमा ७५ प्रतिशत दर्शकलाई रंगशालामा प्रवेश अनुमति

शनिबार, २७ मंसिर, २०७७
डिजिटल संस्करण

गत साता आर्सनलले घरेलु मैदानमा भएको फुटबल प्रतियोगितामा दुई हजार दर्शकलाई अनुमति दिएको थियो । कोरोना महामारीपछि इंग्लिस प्रिमियर लिग क्लबले यसरी दर्शकको उपस्थितिमा प्रतिस्पर्धा गरेको पहिलोपटक थियो । 

यसअघि कोभिड–१९ महामारीको समयमा फुटबल, क्रिकेट, बक्सिङ, टेनिस तथा अन्य खेलमा दर्शकको उपस्थितिलाई अनुमति थिएन । तर, आर्सनलको प्रयासपछि अब अन्य खेलमा पनि दर्शकको बाक्लै उपस्थिति हुने छाँटकाँट देखिएको छ । 

बक्सिङ डेमा आयोजना हुने भारत र अस्ट्रेलियाबीचको टेस्ट खेलमा दर्शकले भरपुर मनोरञ्जन लिन सक्ने छन् । आयोजक क्रिकेट अफ अस्ट्रेलिया (सिए)ले २६ देखि ३० डिसेम्बरसम्म हुने पहिलो टेस्टमा दर्शकलाई अनुमति दिएको छ । आश्चर्यनजक पक्ष के छ भने सिएले प्रतिदिन टेस्ट खेल हेर्न ३० हजार दर्शकलाई मेलबर्न रंगशालामा अनुमति दिएको छ । 
एमसिजी मैदानमा एक वर्षपछि पहिलोपटक दर्शकले क्रिकेट खेल हेर्न अवसर पाउन लागेको हो । ‘हामी यो घोषणा गर्न पाउँदा अत्याधिक खुसी छौँ, एमसिजी मैदानमा दर्शकले अस्ट्रेलिया र भारतका खेलाडीलाई स्वागत गर्न पाउनेछन्, यो कोभिड १९ को भयावह अवस्था पनि दर्शकले भरपुर मनोरञ्जन प्राप्त गर्ने विश्वास लिएका छौँ,’ सिएले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

यसअघि क्रिकेट अफ अस्ट्रेलियाले पहिलो दिन केबल २५ हजार दर्शकलाई मात्रै अनुमति दिने भनेको थियो । सुरक्षा व्यवस्थामा विश्वस्त भएकाले नै सिएले थप पाँच हजार दर्शकलाई रंगशालामा प्रवेश दिएको जनाएको छ । यसैगरी, एडिलेडमा हुने दोस्रो टेस्टमा २७ हजार दर्शकलाई अनुमति प्राप्त छ । यो साबिक क्षमताअनुसार ५० प्रतिशत मात्र हो । 
सिड्नीमा हुने तेस्रो टेस्टमा सिएले आफ्नो दर्शक क्षमताको आधा मात्र राखेको छ । यहाँ हुने टेस्टमा २३ हजार दर्शकले प्रवेश पाउनेछन् । १५ जनवरीदेखि सुरु हुने चौथो टेस्टमा सिएले ७५ प्रतिशत दर्शकले खेल हेर्न सक्ने जनाएको छ । चौथो टेस्टमा ३० हजार दर्शकको उपस्थिति हुनेछन् । यो ब्रिस्बनमा हुनेछ । 

भारतमा पनि दर्शकसहितको क्रिकेट हुँदै
यसैबीच, भारतीय क्रिकेट बोर्डले पनि अहमदाबादको रंगशालामा भारत र इंग्ल्यान्डबीचको दुई टेस्ट तथा पाँच टी–२० खेल हुने जनाएको छ । दर्शक क्षमताअनुसार यो विश्वकै ठूलो रंगशाला हो । यहाँ सहजै एक लाख १० हजार दर्शक बस्न सक्छन् । इंग्ल्यान्ड भारतको भ्रमण फेब्रुअरीमा हुँदै छ । सरदार वल्लभ पटेल रंशगाला नाम दिइएको अहमदाबाद रंगशाला इंग्ल्यान्ड चार टेस्ट सिरिजमा सहभागी हुनेछ । 
 

सुझावित समाचार