नेपालमा कोरोनाको दोस्रो लहरको सम्भावना कति ?

शुक्रबार, २६ मंसिर, २०७७
डिजिटल संस्करण

चिकित्सक भन्छन्, ‘नेपालसम्म कोरोनाविरुद्धको भ्याक्सिन आइपुग्न अझै समय लाग्ने र  दोस्रो लहरसमेत आउन सक्ने भएकाले परीक्षण थप बढाउन आवश्यक देखिन्छ’ 

यतिवेला युरोप, अमेरिका तथा एसियाका धेरै देशमा कोरोना महामारीको दोस्रो लहर चलिरहेको छ । युरोप र अमेरिकामा कोरोनाको दोस्रो लहरमा संक्रमित र मृत्युदर बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

छिमेकी भारतमा पनि कोरोनाको दोस्रो लहर चलेको विज्ञहरूले बताउँदै आएका छन् । जाडोयाम सुरु भइसकेको छ । यो अवस्थामा नेपालमा कोरोनाको दोस्रो लहर कहिलेसम्म आउने वा कति हानिकारक हुने भन्ने यकिनसाथ भन्न सकिने अवस्था नरहेको विज्ञहरू बताउँछन् । 

सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन नेपालमा कोरोना संक्रमणको दर घटेको जस्तो देखिए पनि अवस्था भने भिन्न रहेको बताउँछन् । पुन भन्छन्, ‘पछिल्लो समय भारतमा चलेको सेकेन्ड वेभले मृत्युदर बढाएको पाइन्छ, हालसम्म नेपालमा दोस्रो लहर महसुस नगरिए पनि आउँदा दिनमा नआउला भन्न सकिन्न ।’ 

सरकारले कोरोना परीक्षणको दर घटाएकाले संक्रमितको संख्यामा कमी आइरहेको देखिन्छ, तर योसँगै सघन उपचार अर्थात् भेन्टिलेटर र आइसियूमा संक्रमितको संख्या नघट्नुले नेपालमा संक्रमण बढिरहेको पुष्टि गरिरहेको बताउँछन् डा. जनक कोइराला । उनी भन्छन्, ‘संक्रमितको संख्या पछिल्ला महिनाको तुलनामा कम देखिँदैमा घटेको भन्न सकिँदैन, त्यो टेस्टिङको दायरा घटाएर हो । यस्तै, होम आइसोलेसनमा बस्नेको संख्या बढेकाले समेत अस्पतालमा संक्रमितको संख्या घटेकोजस्तो देखिन्छ । तर, योसँगै आइसोलेसन, भेन्टिलेटर आवश्यक हुने संक्रमित र मृत्युदर बढ्नुले कोरोना संक्रमण बढिरहेको प्रमाणित गर्छ ।’

दोस्रो लहर थाहा पाउन परीक्षणको दायरा बढाउन आवश्यक
अन्य देशमा जस्तो लगातार परीक्षण गर्ने हो भने संक्रमण बढेको थाहा पाउन सजिलो हुने बताउँछन्, डा. पुन । भन्छन्, ‘नेपालमा परीक्षणको दायरा बढाउँदै लानुपर्ने समयमा बिस्तारै कोरोना परीक्षण घटाउँदै गएको पाइन्छ । चिसोको समयमा अन्य संक्रमणहरूको पनि जोखिम रहने र कोभिड निको हुनसमेत लामो समय लाग्न थालेकाले जोखिम झन् बढ्दै गएको देखिन्छ । नेपालसम्म भ्याक्सिन आइपुग्न अझै समय लाग्ने र दोस्रो लहरसमेत आउन सक्ने भएकाले परीक्षण थप बढाउन आवश्यक देखिन्छ ।’ 

नेपालमा चिसो बढेसँगै निमोनिया देखिने र कोभिड मृत्युदर बढ्ने क्रम उकालो लागेको छ । योसँगै एन्फ्लुएन्जाको संक्रमण फैलिनेसमेत जोखिम रहने डा. कोइराला बताउँछन् । ‘नेपालमा यो समयमा काठमाडौं उपत्यकामा मात्रै कम्तीमा २० हजारको हाराहारीमा परीक्षण गर्नुपर्ने हो, साथै नेपालभरि परीक्षणसँगै अन्य मापदण्डमा पनि ध्यान दिइनुपर्ने हो । तर, सरकारले परीक्षणको दायरा घटाएसँगै समुदायमा संक्रमणको जोखिम झन् बढेको पाइन्छ,’ उनी भन्छन्, ‘चिसो बढ्दै जाँदा अन्य फ्लु र कोभिडका लक्षणसहितका बिरामी अस्पताल भर्ना हुन थालेमा मात्र दोस्रो लहर महसुस गर्न सकिने अवस्था छ ।

यस्तोमा दोस्रो लहर देखिएमा मृत्युदर निकै बढ्ने सम्भावना रहन्छ । नेपालसम्म खोप आइपुग्न अझै समय लाग्ने र सँगै चिसो बढेकाले अन्य संक्रमणको जोखिम रहेका आममानिसले सुरक्षाका मापदण्ड अपनाउन र सरकारले कोरोना नियन्त्रणका लागि आधारभूत रणनीति बनाउन निकै आवश्यक देखिन्छ ।’

२० प्रतिशत जनसंख्यालाई  पुग्ने गरी खोप ल्याउने तयारी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), गाभी र सेपीको ‘कोभ्याक्स सुविधा’मार्फत सहुलियत दरमा २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप ल्याउने तयारी गरिरहेको बताएको छ । पछिल्लो समय एफडिएले आपत्कालीन प्रयोगका लागि मान्यता दिएका खोप र लगभग ९५ प्रतिशत प्रभावकारी देखिएका फाइजर, मोर्डना र एस्ट्राजेनेका खोप सीमित प्रयोगमा ल्याइएको छ । योसँगै विश्वभरि करिब दुई सय खोप क्लिनिकल ट्रायलमा छन् ।

तत्काल केही सीमित खोप मात्र आपत्कालीन प्रयोगका लागि अनुमति दिइएको समयमा स्वास्थ्य मन्त्रालयले कुन खोप ल्याउने भन्ने यकिन गर्न सकेको छैन । तर, देशको २० प्रतिशत जनसंख्यालाई पुग्ने गरी खोप ल्याउने तयारी गरिएको मन्त्रालयले बताएको छ । तर, कोभ्याक्स सुविधाअन्तर्गतको खोप नेपालसम्म आइपुग्ने समयको भने टुंगो नभएको विज्ञहरू बताउँछन् । 

कोभ्याक्स योजना विश्व स्वास्थ्य संगठनले आफैँ भ्याक्सिन किनेर सम्पूर्ण नागरिकका लागि भ्याक्सिन उपलब्ध गराउन नसक्ने देशहरूको सहयोगका लागि बनाइएको योजना हो । विश्वभरि फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रणमा ल्याउन सहयोगका लागि विश्व स्वास्थ्य संगठनले बनाएको यो योजनाअन्तर्गत एक सय ७२ देश समावेश छन् । कोभ्याक्स सुविधाअन्तर्गत विश्व स्वास्थ्य संगठनले प्रत्येक देशका २० प्रतिशत नागरिकलाई पुग्ने गरी भ्याक्सिन प्रदान गर्नेछ । कोभ्याक्सले सुरुवातमा दुई बिलियन खोप वितरण गर्ने योजना बनाएको बताएको छ, यो योजना सन् २०२१ को अन्तिमसम्ममा पूरा गरिनेछ । 

स्वास्थ्य मन्त्रालयले कोभ्याक्स सुविधा नेपालमा लागू हुने भने पनि कम्तीमा दुई तीन महिना समय लाग्ने बताउँछन्, वरिष्ठ भाइरोलोजिस्ट डा.कोइराला । भन्छन्, ‘हाल एफडिएले इमर्जेन्सी प्रयोगका लागि अनुमति दिएका भ्याक्सिनहरू अमेरिकामा बनिरहेका छन् । बिहीबार एफडिएले फाइजर खोपको प्रमाणीकरण सिफारिस गर्ने नगर्ने निर्णय गर्नेछ ।

यस्तै, मोर्डना प्रयोगका लागि अर्को हप्तासम्म कुर्नुपर्ने देखिन्छ । अक्सफोर्डले निर्माण गरेको एस्ट्राजेनेका, भारत र चीनमा बनिरहेका अन्य खोप अन्तिम चरणको परीक्षणमा रहे पनि एफडिएले प्रयोगका लागि स्वीकृति दिइसकेको छैन । कोभ्याक्स सुविधाअन्तर्गत पनि भ्याक्सिन खरिद गरी सबै देशमा वितरण गर्दा कम्तीमा दुईदेखि तीन महिना लाग्न सक्छ ।’ 

नेपालमा भ्याक्सिन  कहिलेसम्म आइपुग्छ ? 
फाइजर, मोर्डना र एस्ट्राजेनेका भ्याक्सिनहरूको छोटो समयमा अपेक्षित नतिजाले कोरोना नियन्त्रणमा विश्वलाई नै आशा जगाइदिएको छ । हाल मानव शरीरमा ट्रायल परीक्षण भइरहेका ५८ वटा खोपमध्ये सातवटा खोपले केही देश वा क्षेत्रमा आपत्कालीन प्रयोगका लागि अनुमति पाएका छन् ।

एफडिएले स्वीकृति दिएसँगै ती खोपहरू प्रयोगमा आउनेछन्, तर अधिकांशजसो अमेरिका, बेलायत, रुस, चीन, भारतजस्ता देशमा बनिरहेका भ्याक्सिन नेपालमा सर्वसुलभ हुन अझै निकै समय कुर्नुपर्ने विज्ञहरू बताउँछन् । ‘कोभ्याक्सबाहेक अन्य खोप नेपालमा सर्वसुलभ तत्काल हुने सम्भावना देखिँदैन ।

खासगरी खोप लामो समयसम्म भण्डारण गर्न मिल्ने, नेपालको परिवेशमा तापक्रमअनुसार राख्न सकिने वा सस्तोमा उपलब्ध हुन आवश्यक छ । पछिल्लो समय बजारमा छिटो आउने आशा गरिएका कतिपय भ्याक्सिन नेपालमा तापक्रम मिलाएर राख्न निकै गाह्रो हुने खालका छन् । यस्तै, अमेरिकामा बनिरहेका भ्याक्सिन नेपालमा सर्वसुलभ बनाउन सरकारले बलियो रणनीति अपनाउन आवश्यक छ,’ डा. कोइराला भन्छन् ।

सुझावित समाचार