सुकुम्बासी आयोगको नाममा ठगी गरेको आरोपमा एकजना पक्राउ

सोमबार, २६ असोज, २०७७
डिजिटल संस्करण

सुकुम्बासी समस्या समाधान आयोगको नाममा ठगी गरेको आरोपमा एकजनालाई पोखराबाट पक्राउ गरिएको छ । आइतबार जिल्ला प्रहरी कार्यालयको टोलीले सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने भन्दै ठगी गर्ने समूहका नाइके हिराबहादुर तामाङलाई पक्राउ गरेको हो । 

उनको नेतृत्वमा अव्यवस्थित सुकुम्बासी समस्या समाधान आयोगका गण्डकी प्रदेश कमिटी गठन गरेर ठगी गरेको प्रहरीको भनाइ छ । ‘नक्कली समिति बनाएर सुकुम्बासी समस्या समाधान आयोगका नाममा किर्ते गर्दै ठगी गरेको भन्ने उजुरीका आधारमा हिराबहादुर तामाङलाई पक्राउ गरिएको हो,’ जिल्ला प्रहरी कार्यालय, कास्की एसपी जीवनकुमार श्रेष्ठले भने । पक्राउ परेका व्यक्ति र अन्य समूहबारे अनुसन्धान भइरहेको उनले बताए । अन्य व्यक्तिलाई पनि छिटै पक्राउ गरिने उनको भनाइ छ । 

उनको नेतृत्वमा अव्यवस्थित सुकुम्बासी समस्या समाधान आयोगको गण्डकी प्रदेश कमिटी गठन गरेर ठगी गरिएको प्रहरीको भनाइ छ । उनी कार्यकारी प्रमुख रहेको समितिमा रमेश परियार, सीता सुनार, देवकुमार श्रेष्ठ, हर्कबहादुर विक, विमला रोका, रीति विश्वकर्मा, सोनु परियार र मौसम सदाशंकर रहेका छन् ।

उनीहरूले सुकुम्बासीलाई पत्र पठाएर पोखरा महानगरपालिका–१४ भोटेचौतारामा रहेको तीन सय रोपनी जग्गा एक सय ६० घरपरिवारलाई व्यवस्थापन गर्ने प्रलोभन देखाइएको छ । जसमा २५ असोजभित्र आर्थिक, नैतिक र भौतिक सहयोग गर्न आग्रह गरिएको छ । समितिले प्रतिपरिवार सात हजार रुपैयाँका दरले पैसा मागेको जनाएको छ । 

भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले आयोगमा प्रदेश संरचना नै नरहेको बताए । गण्डकी प्रदेशबाट आयोग सदस्यमा एकबहादुर रानालाई समितिमा नियुक्त गरिएको बताउँदै गण्डकी प्रदेशको पोखरामा नक्कली संरचना खडा गरेर ठग्ने र आयोगको बदनाम गर्न खोजेको थाहा पाएरै प्रशासनलाई गुहारिएको बताए । ‘किर्ते गर्दै नक्कली समिति बनाइएको भन्ने मैले पनि थाहा पाएँ ।

प्रशासनमा उजुरी गरेर कारबाहीको दायरामा ल्याउन भनेको छु,’ उनले भने । उनले पोखरासहित देशभर आयोगका नाममा कसैले किर्ते गरेको र जग्गा मिलाइदिन्छु भन्दै आर्थिक लाभ लिन खोजे प्रशासन या आयोगलाई खबर गर्नसमेत आग्रह गरेका छन् । 

सुझावित समाचार