ओली–प्रचण्ड : आफैँ चुनौती र आफैँ सम्भावना

पार्टीमा ध्रुवीकरण सिर्जना गर्ने चिन्तनशैली

आइतबार, २५ असोज, २०७७
डिजिटल संस्करण

नेकपाको करिब सय दिनको पेचिलो अन्तरपार्टी संघर्ष अन्ततः आपसी समझदारी कायम गरेर नेकपालाई विभाजनबाट जोगाउन अध्यक्षद्वय सफल भए । पार्टीपंक्तिलाई चिन्तित र थकित तुल्याउने र आमजनसमुदायलाई तरंगित बनाएको नेकपाको आन्तरिक अन्तर्विरोध लामो र धैर्यशील भएर दुवै पार्टी अध्यक्षको सकार वा नकार नेतृत्वदायी भूमिकामा एकता र समझदारीमा रूपान्तरण गरेर फेरि अर्कोपटक सबैलाई चकित पारेका छन् । 

सत्तारूढ पार्टीमा ध्रुवीकरणको अवस्थाले पार्टी विभाजनको दिशामा उन्मुख गराउँछ । पार्टी नेतृत्व र सरकारमा एकल वर्चस्व कायम गर्ने महŒवाकांक्षाले पार्टी ध्रुवीकरणका लागि वातावरण बन्न पुग्यो । पार्टी र सरकारबारे उच्च नेताहरूमा भएको असमझदारी र महŒवाकांक्षाले एक–अर्काप्रति आशंका चुलिँदै गयो । 

सत्तारूढ पार्टीमा ध्रुवीकरणको तरिकाद्वारा अथवा विधि–प्रणालीमा पार्टी सञ्चालन कहिल्यै सम्भव भएन । बीसौँ वर्ष महाधिवेशन नहुँदा पनि माओवादी विशाल पार्टी बनेकै थियो । ध्रुवीकरणको अर्थात् बहुमतको विधि प्रणाली लागू गर्न खोज्दा विगतमा कांग्रेस एमाले र माओवादी पटक–पटक विभाजन भएका अनेक उदाहरण छन् । राजसत्ताको केन्द्रभागका ठूला दल महाधिवेशनले निर्धारित विधि–विधानले चल्न छाडेका छन् । सत्ता साझेदारी गर्न मात्र पार्टीलाई ध्रुवीकरणको अवस्थामा पुग्न रोकेका छन् । पार्टीको विचारमा जीवन्तता र गतिशीलता अवरुद्ध भएको अवस्थामा एउटा समूह पार्टीलाई अधीनमा राख्न सफल हुन्छ । र, त्यसैलाई पार्टीको रूपमा स्वीकार्य बनाउँछन् । 

नेकपाको ध्रुवीकरणपश्चात् पार्टीमा विधि प्रणाली लागू गर्ने भनियो, तर उत्साहसाथ सुरु भएको स्थायी समितिको बैठक समापन गर्न नै धौधौ भयो । कमिटीको बैठक बस्नै नसक्ने र प्रस्तावहरू अलपत्र पर्ने अवस्था बन्यो । सहमति र समझदारीबाट बिच्केको अवस्थामा ध्रुवीकरणको तरिकाद्वारा एकले अर्को पक्षलाई नियन्त्रित वा निषेध गर्ने विकल्प थियो । तर, त्यो हदसम्मको निर्णयमा पुग्नु पार्टी विभाजन सहज बनाउनु नै हुन पुग्थ्यो । पार्टी र सत्तामा एकल वर्चस्व कायम गर्ने पक्ष वा ध्रुवीकरणको विधि–प्रक्रियाबाट सरकारमाथि नियन्त्रण र हस्तक्षेप बनाउन चाहने अर्को, दुवै पक्ष अन्ततः एक कदम पछाडि हटेर पुनः समझदारी कायम गरी अगाडि बढ्न सहमत भए । 

पार्टीमा पुनः समझदारी र एकता कायम भयो, राम्रो भयो र पार्टीपंक्ति र शुभचिन्तकहरू खुसी छन् । परन्तु, एकता रूपान्तरण बाध्यात्मक हो कि सचेतनाका कारण हो, महŒवपूर्ण चुरो कुरो यो हो । 

सरकार सञ्चालन पार्टीद्वारा निर्देशित हुने कि पार्टी सरकारको सारथि बन्ने बहसमा नेकपा ध्रुवीकृत भयो । प्रधानमन्त्री नै पार्टीको अध्यक्ष भएको अवस्थामा सरकार पार्टीद्वारा निर्देशित वा पार्टी नै सरकारको सारथि, उस्तै–उस्तै भने जस्तो हो । यदि यो सही हो भने अन्तर कहाँ प¥यो ? 

पार्टीको सर्वोच्च एक पदमा दुई अध्यक्ष हुनु नै अन्तर्विरोध हो । एकै पदका दुई अध्यक्ष कार्यकारी व्यवस्था भएजसरी कार्यान्वयन निकै जटिल हुन्छ । भर्खरै दुई ठूला विपरीत धार र नेतृत्व एकीकरणको प्रक्रिया झनै चुनौतीपूर्ण हो । पार्टी एकीकरणको मर्म र उद्देश्यबाट दायाँ–बायाँ हुनेबित्तिकै अन्तर्विरोधको अवस्था सिर्जना हुन्छ । 

पार्टी र सरकार समानान्तर कार्यक्षेत्र होइन र हुन सक्दैन । यसकारण पार्टी र सरकारको कार्यकारी पनि समानान्तर होइन भने पार्टी र सरकारको जिम्मेवारी पनि समानान्तर हुनु समस्याको समाधान होइन । यस अर्थमा पार्टी र सरकारको कार्यकारीलाई एकीकृत गर्ने विधि के हुन सक्छ ? 

पार्टी र सरकारमध्ये पार्टी नै प्रधानमन्त्री हो, त्यसकारण सरकार पार्टीद्वारा निर्देशित हुन्छ । साथै, सरकार पार्टीको सारथि पनि हो र हुनुपर्छ । सरकार सञ्चालन प्रभावकारी, जनमुखी बनाउन सरकारका नीति कार्यक्रम जनस्तरमा लागू गर्न–गराउन र आवश्यकताअनुरूप सरकारका काम–कारबाहीमा निगरानी हस्तक्षेप गर्न–गराउन पार्टी सरकारको सारथि बन्नुपर्छ । जनपरिचालन गरेर उत्पादन निर्माण कार्यमा पार्टी अग्रपंक्तिमा हुनुपर्छ । 

सरकारको कार्यकारी प्रधानमन्त्री बनेलगत्तै पार्टी र सत्तामा एकल वर्चस्व कायम गरे इतिहास रचिन्छ भन्ने प्रधानमन्त्री केपी ओलीको सोच गलत साबित भयो । पार्टी र सरकार एकलौटी गर्ने प्रधानमन्त्रीको काम–कारबाहीले अन्ततः स्वयंलाई पार्टीमा अलगाव र कमजोर अवस्थामा पु¥यायो । पार्टीमा ध्रुवीकरणको अवस्था सिर्जित भएपछि पार्टी विभाजन रोक्ने विकल्प दिन बाध्य हुनुप¥यो । ‘भुइँको टिप्न खोज्दा पोल्टाको पोखिने’ भनेझैँ अधिक शक्तिको आकांक्षा राख्दाको परिणाम प्रधानमन्त्रीलाई पनि राम्रैसँग अनुभूति भयो । 

संघीय गणतन्त्र नेपालको संविधान कार्यान्वयन गर्न र ऐतिहासिक राजनीतिक परिवर्तनको पहिलो आभास जनतामा पु¥याउन स्वर्ण अवसर प्राप्त गरेका प्रधानमन्त्री केपी ओलीका निम्ति सम्भावनाहरू सर्वत्र छन् । 

दुई ठूला कम्युनिस्ट पार्टी माओवादी र एमालेको एकीकरणबाट प्राप्त विशाल जनमतलाई प्रधानमन्त्री वास्तविक उत्प्रेरक शक्तिको स्रोत मान्छन् र जनयुद्ध, जनआन्दोलन र शान्ति–प्रक्रियाका प्रधानमन्त्री नेता प्रचण्ड तथा वरिष्ठ नेतासँग सहकार्य गर्न तत्पर छन् भने प्रधानमन्त्री केपी ओलीका अपार सम्भावनाहरू छन् । 

प्रगतिशील र देशप्रेमी जागरुक जनसमुदाय नेकपाको सरकारका स्थायी सत्ता हुन् । प्रधानमन्त्रीले यो सच्चाइलाई मान्छन् भने जनसमुदायको हितलाई सर्वोच्च स्थानमा राखेर राज्य सञ्चालन गर्ने अवसर आजभन्दा पहिले कहिल्यै थिएन । प्रधानमन्त्री केपी ओलीले आफूलाई पुरानो सत्ताको शासकीय निरन्तरता वा वंश परम्पराजस्तो गरी शासकको रूपमा होइन, संघीय गणतन्त्रात्मक संविधानको पहिलो कार्यपालक जननिर्वाचित प्रतिनिधि संस्थाको कार्यकारी प्रधानमन्त्रीको रूपमा आत्मसात् गर्छन् र शान्तिप्रक्रियाले स्थापित गरेको राजनीतिक संस्कारलाई निरन्तरता दिन चाहन्छन् भने उनीसामु सम्भावना नै सम्भावना छन् । 

स्थिर सरकारका निम्ति पार्टी र सरकारको नेतृत्वको केन्द्रीकरण आवश्यक भएको प्रधानमन्त्रीको विचार गलत होइन । परन्तु प्रधानमन्त्रीले चाहेको जस्तो केन्द्रीकरण पार्टी एकीकरणको विशिष्टता तथा यथास्थितिमा चल्ने सरकारका कारण पूरा हुन सकेन । पार्टी र सत्तामा एकल नेतृत्व र वर्चस्व कायम गर्ने कार्यशैली प्रत्युत्पादक साबित भयो । पार्टीमा समझदारी र सहकार्यको राजनीतिक संस्कारको तरिकाद्वारा नेतृत्वको केन्द्रीकरण गर्ने उपाय आत्मसात् गर्नुको विकल्प प्रधानमन्त्रीलाई मात्रै होइन, अध्यक्ष प्रचण्डसमेत वरिष्ठ नेताहरूलाई पनि छैन । अन्तर्विरोधको सही सञ्चालनको नियमअनुसार मित्र कामरेडहरूसँग मैत्रीपूर्ण एकता संघर्षको तरिकाद्वारा समाधान गर्न सकिने तŒवज्ञान नेताहरूले नबुझेका भने होइनन् । 

प्रधानमन्त्री केपी ओली सरकारको आवधिक कार्यकालमा प्राथमिकतामा पर्नुपर्ने मुख्य कार्यहरू अझै धेरै छन् । स्थिर र शक्तिशाली सरकारले नै गर्नैपर्ने कार्यहरू अझै प्राथमिक सूचीमा परेका छैनन् । 

जसमध्ये उपेक्षित र उत्पीडित जनयुद्ध समुदायलाई स्वीकार्य समावेशी संविधान बनाउन पहल गरेर संघीय समावेशी संविधानलाई पूर्णता दिने अवसर पूरा गर्ने प्रधानमन्त्री केपी ओलीको पहिलो सम्भावना हो । 

राजतन्त्रात्मक शासकीय सेवामुखी, परनिर्भरता एवं आयातित अर्थ–राजनीतिमैत्री कर्मचारीतन्त्र अर्थात् राज्य प्रणाली संघीय गणतन्त्रात्मक संविधानअनुकूल बनाउन संघीय सरकारको सबैभन्दा ठूला चुनौती हुन् । शासकीय सुरक्षाका निम्ति निर्मित वित्तीय पुँजीवादद्वारा पालित पोषित राजनीतिक शक्तिकेन्द्रबाट संरक्षित राजकर्मचारीतन्त्रलाई जनप्रशासनमा बदल्न र विकास तथा समृद्ध नेपालमैत्री बनाउन जनादेशअनुरूप नेकपाको सरकारलाई नैतिक बाध्यात्मक अवस्था छ । परिवर्तनको वास्तविक अर्थ र महŒव दिने यो ऐतिहासिक अवसर र सम्भावना हो । 

संघीय संविधानले समाजवादउन्मुख समावेशी सामुदायिक समाजको पारिकल्पना गरेको छ । यसका लागि महŒवपूर्ण त्यहीअनुरूपको अर्थ– राजनीतिक–सामाजिक आधार तयार पार्नु हो । 

अर्थतन्त्रको रक्तकोषिका भनिएको बौद्धिक सम्पत्ति र श्रमशक्तिको निर्यात गर्ने र परनिर्भरताको खास स्वरूप वैदेशिक वित्तीय पुँजी एवं उपभोग्य वस्तु र निर्माण सामग्रीसम्मको आयातमुखी रामशरण अर्थनीतिको फोटोकपीभन्दा फरक खतिवडा अर्थ कार्यक्रम भएन । यी भनाइ आरोपका लागि होइन, वास्तविकता यही हो । प्रधानमन्त्री ओलीका निम्ति यो सच्चाइलाई आत्मसात् गर्नु नै चुनौतीपूर्ण छ । पाँच–दश वर्ष पछाडि परे पनि समाजवादउन्मुख अर्थव्यवस्थाको जग बसाउन जनताको आर्थिक क्रियाकलाप बढाउन अन्तरनिर्भर, स्वनिर्भरको जग बसाउन नेकपाको सरकारले मुख्य ध्यान दिनुपर्ने हो । समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार नै पार्नु छ भने प्रधानमन्त्री केपी ओलीले नयाँ आर्थिक नीतिको जग बसाउने अवसर यसपछि पाउनुहुनेछ । प्रधानमन्त्रीले इच्छाशक्ति देखाउने र ऐतिहासिक पहलकदमी गर्ने हो भने नेपाली बौद्धिक एवं श्रमशक्ति तम्तयार नै छन् । 

राष्ट्रिय गौरवका आयोजनासमेत ओझेल पर्ने गरी रेल, पानीजहाजजस्ता अति महŒवाकांक्षी सपना र राष्ट्रिय स्वाभिमान र स्वाधीनतालाई आघात पार्ने एमसिसीजस्ता वैदेशिक सहयोग र ऋण सम्झौताप्रति प्रधानमन्त्रीको जोडबलले सरकारको आर्थिक नीतिको संकेत गरेको छ । प्रधानमन्त्रीको आर्थिक नीतिको उल्टो यात्राले आशंका बढाएको छ । समय छँदै सुल्टो बाटो तय गरे भने आर्थिक क्रान्तिको महान् सम्भावनालाई वास्तविकतामा बदल्न सम्भव छ । 

शान्तिप्रक्रियाका बाँकी कार्य सम्पन्न गर्ने अवसर प्रधानमन्त्री केपी ओलीलाई प्राप्त छ । जनयुद्धका सर्वोच्च कमान्डर तथा माओवादी अध्यक्ष प्रचण्ड र पूर्वप्रधानमन्त्री नेपाली कांग्रेसका सभापतिको अगुवाइमा तत्कालीन एमाले महासचिव माधव नेपालसमेत सात दलले थालनी गरेको ऐतिहासिक शान्तिप्रक्रियाले मूलभूत राजनीतिक कार्यभार सम्पन्न गरे पनि जनयुद्धका सेनानी, पक्ष–विपक्षका न्याय र सम्मान गर्नैपर्ने कार्य बाँकी छ । 

परिवर्तनको उपलब्धि भोग, उपयोग गर्ने तर जनयुद्धका सेनानीले सहिद, बेपत्ता, अपांग र बहिर्गमित युवालाई न्याय र सम्मान दिएर शान्तिप्रक्रिया सम्पन्न गर्न आनाकानी गर्नु राजनीतिक अनैतिक हो । शान्तिप्रक्रियाको १५ वर्षमा पनि माओवादी आन्दोलनप्रति प्रतिशोधपूर्ण रबैयाका कारण यसको समाधान हुन सकेन । प्रधानमन्त्री केपी ओली सरकारलाई शान्तिप्रक्रियाका बाँकी तर अति महŒवका कार्यको स्वामित्व लिने अवसर छ । शान्तिप्रक्रियाका यी कार्य प्रतिशोधको हतियार बनाएर अरू जतिसुकै विकास भए पनि अर्थहीन हुनेछ, साथसाथै राजनीतिक अभिशापबाट कहिल्यै मुक्त हुनेछैन । 

अध्यक्षका प्राथमिक र पहिलो चुनौती जारी शान्तिप्रक्रिया सम्पन्न गरेर माओवादी आन्दोलनको राजनीतिक औचित्य पुष्टि गर्नु हो । यो उद्देश्य पूरा गर्न १५ वर्षदेखि विभिन्न राजनीतिक मोडहरूमा अनेकपटक राजनीतिक सहमति, समझदारी, सम्झौता र सहकार्य गर्दै शान्तिप्रक्रियाको यो उचाइमा पु¥याएका छन् । 

भिन्न अर्थ लाग्दैन भने नेकपाको एकीकरण भिन्न प्रकारको सम्झौता र सहकार्य हो । अपवादका कमी–कमजोरीबाहेक प्रचण्डले राजनीतिक गल्ती गरेका छैनन् । राजनेतृत्वको हैसियत प्राप्त प्रचण्डका निमित्त शान्तिप्रक्रिया सम्पन्न गर्ने प्रश्न दूरगामी महŒवको रहेको छ । 
प्रचण्डको दोस्रो ठूलो चुनौती नेकपा एकीकरणको तात्कालिक उद्देश्य संघीय संविधान कार्यान्वयन, सरकारको स्थायित्व र आर्थिक सामाजिक रूपान्तरणलाई समाजवादका आधार बनाउने उद्देश्यसँग सम्बन्धित छ । यो महान् कार्य पूरा गर्न विखण्डित कम्युनिस्ट जनमतलाई समाजवादी ध्रुवीकरणको कित्तामा एकीकरण गर्नु हो । प्रचण्डका मुख्य यी काम आफ्नो जीवनमा पूरा गर्न देशको राजनीतिक तस्बिर नै बदल्ने उथलपुथलकारी जनयुद्धको र शान्तिप्रक्रियाको विचार र नेतृत्वलाई व्यवहारको परीक्षामा प्रयोग गरेका छन् । 

सुझावित समाचार