खेलाडीको तलबमा विभेद : क्रिकेटतर्फ पुरुष र महिलाबीच १८ देखि ३५ हजारसम्म अन्तर, फुटबलमा महिलालाई ८ हजार कम

क्रिकेटमा ‘ए’ ग्रेडका पुरुष खेलाडीलाई मासिक ५० हजार, महिलालाई १५ हजार मात्र, फुटबलमा पुरुषले १५ हजार पाइरहँदा महिलालाई मासिक सात हजार मात्र

शनिबार, १७ असोज, २०७७
डिजिटल संस्करण

नेपालमा करिब दुई सयवटा खेल संघ छन् । तीमध्ये नेपाल क्रिकेट संघ (क्यान) र अखिल नेपाल फुटबल संघ (एन्फा)ले मात्र आफ्ना खेलाडीलाई मासिक तलब दिन्छन् । तर, दुवै संघले गर्ने तलब भुक्तानी असमान छ । पुरुषको तुलनामा महिला खेलाडीले आधाभन्दा कम तलब पाउँछन् ।

क्यानले केन्द्रीय सम्झौतासहित खेलाडीलाई मासिक तलब दिन थालेको ६ वर्ष पुग्दै छ, जसले ०७१ देखि खेलाडीलाई तलब दिन थालेको हो । एन्फाले पनि आफ्ना खेलाडीलाई तलब दिँदै आएको छ । अन्य कुनै खेल संघले आफ्ना खेलाडीलाई नियमित तलब दिँदैनन् ।

एन्फाले महिला र पुरुष दुवैतर्फ राष्ट्रिय टोलीका खेलाडीलाई मासिक तलब दिन्छ । पुरुष खेलाडीले मासिक १५ हजार रुपैयाँ पाइरहेका छन् । महिला खेलाडीलाई भने मासिक सात हजार मात्रै दिइन्छ ।

यस्तै, क्यानले ए, बी र सी वर्गीकरणका आधारमा क्रिकेट खेलाडीलाई तलब दिन्छ । ‘ए’ वर्गीकरणमा परेका पुरुष खेलाडीले मासिक ५० हजार रुपैयाँ पाउँछन् । यस्तै, ‘बी’ वर्गीकरणमा ४० र ‘सी’का खेलाडीले ३० हजार रुपैयाँ मासिक तलब बुझ्छन् ।

तर, महिलातर्फ ‘ए’ वर्गीकरणमा परेका खेलाडीले १५ हजार रुपैयाँ मात्र पाउँछन् । जब कि, पुरुषतर्फ ‘सी’ वर्गीकरणमा परेका खेलाडीले ३० हजार रुपैयाँ पाइरहेका छन् । महिलातर्फ ‘बी’ क्याटेगोरीका खेलाडीले १२ हजार र ‘सी’ले मासिक १० हजार रुपैयाँ मात्र बुझ्छन् ।

महिला खेलाडीलाई पनि तलब दिने निर्णय क्यानले गत ७ असोजमा गरेको हो । उनीहरूलाई पनि पुरुषकैजस्तो केन्द्रीय सम्झौतासहित तलब दिइने भएको छ । तर, तलब भने पुरुषको भन्दा निकै कम छ । क्यानको केन्द्रीय कार्यालयले सीधै खेलाडीसँग कन्ट्र्याक्ट गरेर तलब भुक्तानी दिने प्रक्रियालाई केन्द्रीय सम्झौता नाम दिइएको हो । त्यस्तो सम्झौता एक वर्षको हुने गर्छ ।

क्यानले गरेको ग्रेडिङप्रति पुरुष र महिला दुवै खेलाडीले असन्तुष्टि जनाएका छन् । सोहीकारण क्यानले खेलाडीको फेरि वर्गीकरण गर्ने भएको छ । तलबमान भने यसअघिकै कायम रहने क्यानले बताएको छ ।

पहिलोपटक तलब पाउने निर्णय भएकामा महिला खेलाडी उत्साही छन् । साथमा, पुरुष खेलाडीको तुलनामा मासिक तलब कम निर्धारण गरिएकामा उनीहरू बेखुसी पनि छन् ।

महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुविना क्षत्री क्यानको निर्णयलाई सकारात्मक मान्छिन् । तर, यो रकम पर्याप्त नभएको उनको तर्क छ । ‘पहिलोपटक महिला खेलाडीलाई पनि मासिक तलब दिने निर्णय भएको छ । यो हाम्रा लागि राम्रो निर्णय हो,’ रुविना भन्छिन्, ‘म अहिल्यै पुरुष क्रिकेटसँग दाँज्न पनि चाहन्नँ । तर, यो रकम हाम्रा लागि पर्याप्त छैन । क्यानले यस विषयमा आगामी दिनमा ध्यान देओस् ।’

महिला फुटबल टोलीकी कप्तान निरु थापा समान तलबका लागि लामो समयदेखि कुरा उठाए पनि पूरा नभएको बताउँछिन् । ‘अहिले महिला फुटबल समितिले पनि समान तलबका लागि कुरा उठाइरहेको छ,’ निरु भन्छिन्, ‘तर, तलबकै सन्दर्भमा हामीले लामो समयदेखि कुरा उठाएका छौँ । यद्यपि, यो असमान व्यवहार अझै जारी छ ।’

‘राम्रो सुरुवात हो, तर यति रकमले पुग्दैन’
रुविना क्षत्री
कप्तान, महिला क्रिकेट टोली

रुविना क्षत्री

क्यानले महिला खेलाडीलाई पनि केन्द्रीय सम्झौतामा राखेर तलब दिने निर्णय गर्नु राम्रो सुरुवात हो । यो निर्णयले महिला क्रिकेट खेलाडीलाई धेरै खुसी बनाएको छ । अबदेखि महिला खेलाडीले पनि खेलेर तलब पाउने भएका छन् । पुरुष खेलाडीले महिलाको भन्दा धेरै बढी तलब पाउँछन् । ‘ए’ ग्रेडमा परेका पुरुष खेलाडीले ५० हजार पाउँदा त्यही ग्रेडका महिला खेलाडीले १५ हजार मात्रै पाउने भनिएको छ ।तलबमा महिला र पुरुषबीच ठूलो अन्तर छ । तर, म पुरुष क्रिकेटसँग दाज्न चाहन्नँ । पुरुष टोली एक दिवसीय टोली बनिसकेको छ । पुरुष खेलाडीले पनि पहिलोपटक तलब पाउँदा अहिलेको जति थिएन । यद्यपि, यति रकमले महिला खेलाडीलाई जीवन धान्न सहज छैन भन्ने दृष्टिकोणबाट कुरा उठाइरहेकी छु । यो रकमले क्रिकेट सामग्री किन्न पनि पुग्दैन । बाहिरका खेलाडी काठमाडौं आउँदा यति रकमले कसरी व्यवस्थापन गर्न सक्छन् ? क्यानले भविष्यमा यो विषयमा ध्यान दिने विश्वास छ । कोभिड–१९ महामारीका कारण यस वर्ष कुनै प्रतियोगिता भएका छैनन्, जसका कारण खेलाडीको आर्थिक अवस्था जर्ज बनेको छ । त्यसैले, क्यानले दिने भनेको रकम एकमुष्ट दिए थप राहत हुने थियो ।

‘हामीले पनि देशकै लागि खेल्ने हो, तर तलबमा विभेद छ’
निरु थापा
कप्तान, महिला फुटबल टोली

निरु थापा

हामीले धेरैपटक कुरा उठायौँ । समान तलब हुनुपर्छ भन्यौँ । अहिलेसम्म भएको छैन । महिला फुटबल खेलाडीले पनि देशकै लागि खेल्ने हो । हामीले पनि देशलाई नै योगदान दिने हो । तर, तलबमा अझै विभेद छ । यो असमान व्यवहार हामी अझै बेहोर्दै आएका छौँ । पुरुष खेलाडीले पाउने तलबको आधाभन्दा पनि कम महिला खेलाडीले पाउँछन् । यस्तो व्यवहारले महिला खेलाडीलाई प्रोत्साहित गर्दैन । तलबमै विभेद हुन्छ भने खेलाडी कसरी खेलमा लाग्छन् ? हामीले कुरा उठाएपछि महिला फुटबल समितिले पनि महिला खेलाडीको तलब वृद्धिका लागि पहल गरिरहेको छ । भविष्यमा महिला फुटबलरले पनि पुरुषसरह तलब पाउने आशा छ ।

सुझावित समाचार