कोरोना भाइरसबाट संक्रमित हुने विश्वचर्चित नेताको सूची बढ्दै गएको छ । पछिल्लोपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि कोरोना संक्रमित भएका छन् ।
ट्रम्पभन्दा अधि संक्रमित हुने विश्व नेताहरू
बेलायती प्रधानमन्त्री बोरिस जोनसन
बेलायती प्रधानमन्त्री बोरिस जोनसन कोरोना संक्रमित हुने विश्व नेताहरूमध्ये पहिलो हुन् । गत अप्रिलमा उनी संक्रमित भएपछि उपचारको क्रममा आइसियूमै राखिएको थियो ।
ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो
ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई गत जुलाईमा कोरोना संक्रमण भयो । उनले सामाजिक दूरी काम गर्ने, मास्कको प्रयोग गर्नेलगायत मान्यतालाई बेवास्ता गरेका थिए । उनी लकडाउनविरोधी नेताका रूपमा पनि चिनिन्छन् ।
होन्डुरसका राष्ट्रपति हुवान ओर्लान्डो हर्नान्डेज
होन्डुरसका राष्ट्रपति हुवान ओर्लान्डो हर्नान्डेजलाई गत जुन महिनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तर, उनलाई लक्षण भने सामन्य मात्रै देखियो ।
गुटेमालाका राष्ट्रपति एलेजन्ड्रो गियामाते
गुटेमालाका राष्ट्रपति एजेन्ड्रो गियामाते पनि गत सेप्टेम्बरमा संक्रमित भए । उनले आफूलाई कुनै लक्षणहरू भने नदेखिएको बताएका थिए ।
बोलिभियाका अन्तरिम राष्ट्रपति जेनिन अनेज
बोलिभियाका अन्तरिम राष्ट्रपति जेनिन अनेज पनि गत जुलाईमा संक्रमित भए । संक्रमित हुने उनी ल्याटिन अमेरिकी तेस्रो राष्ट्रप्रमुख थिए ।
डोमिनिकाका राष्ट्रपति लुइस अबिनाडेर
गणतन्त्र मोमिनिकाका नवनिर्वाचित राष्ट्रपति लुइस अबिनाडेर जुलाईमा कोरोना संक्रमित भएका थिए । चुनाव प्रचारप्रसार अभियानकै क्रममा संक्रमित भई निर्वाचन हुनुअगाडि नै हप्ता लामो आइसोलेसनमा बस्नुपरेको थियो ।
इरानका उपराष्ट्रपति र मन्त्रीहरू
कोरोना भाइरसको महामारीको मध्यपूर्वको केन्द्रबिन्दु बनेको इरानका उपराष्ट्रपति र मन्त्रीहरू संक्रमित भएका थिए । देशका वरिष्ठ उपराष्ट्रपति इशाक जाहानगिरि र उपराष्ट्रपति मस्सौमेह इब्तेकर र मन्त्रिपरिषद्का अन्य सदस्यहरू पनि संक्रमित भएका थिए ।
यीबाहेक रूसका प्रधानमन्त्री मिखाइल मिसुस्तिन, आर्मिनियाका प्रधानमन्त्री निकोल पसिनयान, बेलायतका राजकुमार चार्ल्सलाई पनि कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो । त्यसैगरी धेरै देशका सरकार तथा राष्ट्र प्रमुखका श्रीमती तथा परिवारजन र धेरै देशका मन्त्रीसहितका उच्च अधिकारीहरू पनि संक्रमित भएका थिए ।