साबिक विजेता मुम्बई इन्डियन्सले बिहीबार १३औँ इन्डियन प्रिमियर लिग (आइपिएल) मा किंग्स ११ पन्जावलाई ४८ रनले हराएको छ ।
चालू आइपिएलमा मुम्बईले चार खेलमा दुई जित निकाल्यो । उत्कृष्ट फर्ममा रहेको किंग्स ११ लाई हराएको मुम्बई शीर्ष स्थानमा उक्लेको छ ।
किंग्स ११ दुई अंकका साथ तालिकाको छैटाैँ स्थानमा छ । अबुधाबी मैदानमा मुम्बईले पहिलो ब्याटिङ गरी चार विकेटको नोक्सानीमा एक सय ९१ रनको योगफल खडा गऱ्याे । प्रत्युत्तरमा किंग्स ११ ले निर्धारित ओभरमा आठ विकेटको क्षतिमा एक सय ४३ रन मात्र बनाएको थियो ।
किंग्स ११ को ब्याटिङ कमजोर पार्ने क्रममा जेम्स प्याटिसन, जसप्रित बुमराह तथा राहुल चाहरले दुई–दुई विकेट लिएका थिए ।
किंग्स ११ का दुवै ओपनर उत्कृष्ट फर्ममा थिए । कप्तान लोकेश राहुल तथा मायांक अग्रवालले चालू आइपिएलमा शतकीय इनिङ खेलेका छन् । राहुल र अग्रवालले मुम्बईविरुद्ध उत्कृष्ट सुरुवात गर्न सकेनन् ।
दुवैले पहिलो विकेटका लागि ४.५ ओभरमा ३८ रनको साझेदारी गरे । बुमराहले अग्रवाललाई बोल्ड आउट गरे । अग्रवालले १८ बलमा तीन चौकाको सहयोगमा २५ रन बनाए ।
राहुल आउट हुँदा किंग्स ११ ६०–३ को अवस्थामा थियो । राहुलले १९ बलमा १७ रन बटुले । निकोलास पुरनले २७ बलमा तीन चौका र दुई छक्का प्रहार गरी ४४ रन जोडे ।
किंग्स ११ को ब्याटिङ इनिङ्समा पुरनले मात्र आवश्यक रनरेटअनुसार ब्याटिङ गरेका थिए । ग्लेन म्याक्सवेल ११ रन तथा कृष्णपाले २२ रनको योगदान दिए ।
यसअघिको ब्याटिङमा कप्तान रोहित शर्माले पुनः एकपटक उत्कृष्ट प्रदर्शन गरे । इनिङ्सको पाँचौँ बलमै मुम्बईले क्विन्टन डी कोकलाई गुमाएको थियो ।
त्यसपछि रोहितले इनिङ अगाडि बढाए । उनले ४५ बलमा आठ चौका र तीन छक्का प्रहार गरी ७० रन बनाए । रोहित इनिङ्सको १६.१ ओभरमा मोहमद सामीको ओभरमा आउट भएका थिए ।
यसैगरी इशान कृष्णनले २८ रन बनाए । वेस्टइन्डिजका किरोन पोलार्ड र हार्दिक पाण्ड्याबीच पाँचौँ विकेटका लागि ६७ रनको साझेदारी भएको थियो ।
पोलार्डले २० बलमा चार छक्का र तीन चौकाको सहयोगमा ४७ रनको नटआउट योगदान दिए । हार्दिकले ११ बलमा तीनन चौका र दुई छक्काको सहयोगमा ३० रन जोडे । मुम्बईले अन्तिम पाँच ओभरमा ८९ रन जोडेको थियो ।
रोहितले पूरा गरे पाँच हजार रन
मुम्बईका कप्तान रोहित शर्माले आइपिएलमा पाँच हजार रन पूरा गरेका छन्। किंग्स ११ विरुद्ध दुई रन बनाउँदा उनले आइपिएलमा व्यक्तिगत पाँच हजार रन पूरा गर्न सफल भएका हुन् ।
आइपिएलमा रोयल च्यालेन्जर्स बेंग्लोरका कप्तान विराट कोहलीको नाममा सर्वाधिक रन छ ।
चालू आइपिएलमा विराटको ब्याटिङ चल्न सकेको छैन । विराटले आइपिएलमा एक सय ७८ खेलमा पाँच हजार चार सय २६ रन बनाएका छन् । यसैगरी सुरेश रैनाले १९३ खेलमा पाँच हजार तीन सय ६८ रन बटुलेका छन् ।
रोहित आइपिएलमा ३८ अर्धशतकीय इनिङ्स खेल्न सफल भए । उनले चेन्नईका सुरेश रैनाको रेकर्ड बराबरी गरे ।
आइपिएलमा धेरै अर्धशतक बनाउने ब्याट्सम्यान सनराइजर्स हैदराबादका कप्तान डेभिड वार्नर हुन् । उनले आइपिएलमा ४४ अर्धशतक लगाएका छन् ।