दक्षिण एसियाली देश श्रीलंकाले २१ कन्टेनर फोहनेर युरोपेली देश बेलायतमा पठाएको छ ।
भएको के रहेछ भने, बेलायतबाट आयात गरिएका सामानमा खतरनाक फोहाेर र अस्पतालका फोहाेरसमेत राखिएका सामान आफ्नो देशमा आएपछि श्रीलंकाले पुनः ती फोहाेरलाई बेलायत फिर्ता पठाएको हो ।
ती फोहाेरहरू अत्यन्त खतरनाक सूचीमा पर्ने फोहाेर भएकाले फिर्ता पठाएको श्रीलंकाली अधिकारीहरूले जनाएका छन् ।
एक निजी कम्पनीले बेलायतबाट पठाएको दुई सय ६३ कन्टेनरमा अस्पतालको फोहाेरसमेत भेटिएको श्रीलंकाली भन्सार अधिकारीहरूले जनाएका छन् ।
बेलायतबाट केही पुरानो गद्दा, कार्पेट, दरीलगायतका पुनः प्रयोग गर्ने खालका सामान श्रीलंका आयात हुनुपर्नेमा खतरनाक फोहाेरहरूसमेत त्यसमा मिसाएर पठाएपछि श्रीलंकाका अधिकारीहरू उक्त फोहाेरलाई पुनः बेलायत नै पठाउने टुंगोमा पुगेका हुन् ।
यो घटना सन् २०१८ को हो । त्यसपछि उक्त मुद्दा अदालतमा पुगेको थियो ।
त्यसपछि २१ कन्टेनर फोहाेर पुनः बेलायत नै फिर्ता पठाएको श्रीलंकाली अधिकारीहरूले जनाएका छन् ।
श्रीलंकाको भन्सार विभागका प्रवक्ता सुनिल जयरत्नेले जुन कन्टेनर बेलायतबाट पठाइएको थियो त्यसमा अत्यन्त खतरनाक फोहाेरहरु रहेको र उक्त फोहाेरहरू युरोपेली र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरी बेलायतबाट श्रीलंका पठाइएकाले यस्तो कदम उठाउनुपरेको बताए ।
बेलायतको पर्यावरण विभागले पनि उक्त श्रीलंका पुगेको फोहाेरहरू गैरकानुनी निर्यातको विषयमा प्रतिबद्ध रहेको जनाएको बिबिसीले उल्लेख गरेको छ ।
बेलायती अधिकारीहरूले पनि आफूहरू निरन्तर रूपमा श्रीलंकाली अधिकारीहरूसँग सम्पर्कमा रहेको र यसबारे कानुनी जाँच सुरु गर्ने जनाएका छन् ।