ट्रम्पद्वारा सर्वोच्च अदालतको न्यायाधीशमा एमिकोने ब्यारेट मनोनयन

आइतबार, ११ असोज, २०७७
डिजिटल संस्करण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षीहरूको अनुरोधलाई लत्याउँदै न्यायाधीश एमिकोने ब्यारेटलाई सर्वोच्च अदालतको न्यायाधीशमा मनोनयन गरेका छन् । ब्यारेटको मनोनयनले आगामी राष्ट्रपतीय चुनावमा पुनः निर्वाचित हुन मद्दत गर्ने ट्रम्पको अपेक्षा छ । 

स्वर्गीय न्यायाधीश एन्टोनिन स्कालियाकी पूर्वसहयोगीका रूपमा समेत कार्य गरेकी ब्यारेटले सर्वोच्च अदालतको न्यायाधीशका रूपमा मनोनयनमा परेकामा खुसी व्यक्त गरेकी छिन् । उनले आफू पूर्वन्यायाधीश स्कालियाको न्यायिक दर्शनबाट प्रभावित रहेकाेसमेत रहेको बताएकी छिन् । 

४८ वर्षीया ब्यारेट ह्वाइटहाउसको रोज गार्डेनमा पति र सात बालबच्चासहित उपस्थित थिइन् । अमेरिकी माथिल्लो सदन सिनेटले उक्त नियुक्तिलाई सदर गरेमा हालै निधन भएकी सुधारवादी न्यायाधीश रुथ बाडर गिन्सबर्गको स्थानमा नियुक्त हुनेछिन् । 

रिपब्लिकन राष्ट्रपतिहरूले नियुक्त गरेकी उनी छैटौँ न्यायाधीश हुनेछिन् भने राष्ट्रपति ट्रम्प एक्लैले तेस्रो नियुक्ति गर्नेछन् । अमेरिकी सर्वोच्च अदालतमा नौजना न्यायाधीश हुने व्यवस्था छ । 

राष्ट्रपति ट्रम्पले ब्यारेटमा उच्चतम बौद्धिक र आचरण रहेको भन्दै प्रशंसा गरेका थिए । आफूले न्यायाधीशका लागि चयन गर्नुअघि ब्यारेटको व्यक्तिगत रेकर्ड राम्रोसँग हेरेको उनको भनाइ छ । 

रिपब्लिकन पार्टीका सिनेटरहरूले आगामी ३ नोभेम्बरअघि नै सुनुवाइ प्रक्रिया पूरा गर्न आतुर रहेको बताइरहेका छन् । ब्यारेटको मनोनयन पूरा हुन सके सर्वोच्च अदालतको बहुमत दक्षिणपन्थी धारमा जाने भन्दै चौतर्फी विरोध र आशंका व्यक्त गरिएको छ । 

सन् २०१६ मा रिपब्लिकन पार्टीको बहुमत रहेको सिनेटले तत्कालीन राष्ट्रपति बाराक ओबामाले प्रस्ताव गरेका न्यायाधीश मरिक गार्लान्डलाई चुनावी वर्ष भन्दै अनुमोदन गर्न अस्वीकार गरेको थियो । तर, यसपटक रिपब्लिकनको त्यही अडान फेरिएको छ । अर्थात् ४२ दिनभन्दा छोटो अवधिमा न्यायाधीश नियुक्तिलाई सदर गर्न सिनेटमा तयारी हुँदै छ । 

सिनेटमा बहुमत पार्टीका नेता मिच म्याककोनेलले सिनेटले आगामी साता ब्यारेटको नियुक्तिलाई सदर गर्ने दृढता व्यक्त गरेका छन् । डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले ट्रम्प र रिपब्लिकन पार्टीले बेइमानी गरेको आरोप लगाएका छन् । 

सुझावित समाचार