पाकिस्तानको प्रहरीले पन्जाब प्रान्तको राजधानी तथा पूर्वी सहर लाहोरस्थित घरबाट जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानकी बहिनी अलिमा खानलाई पक्राउ गरेको छ । खानको रिहाइको माग गर्दै उनको पार्टी ‘पाकिस्तान तेहरिक–ए–इन्साफ’ (पिटिआई) ले सेप्टेम्बर २७ मा आयोजना गर्न लागेको विरोध र्यालीभन्दा ठिक एक हप्ताअघि आइतबार यो गिरफ्तारी भएको हो । लाहोरका एक वरिष्ठ प्रहरी अधिकारीले गिरफ्तारीको पुष्टि गरे, तर थप विवरण भने दिएनन् । लाहोरका डेपुटी कमिस्नरले पन्जाबको ‘सार्वजनिक व्यवस्था कायम राख्ने कानुन’ (एमपिओ)अन्तर्गत अलिमा खानलाई ३० दिनसम्म हिरासतमा राख्ने आदेश जारी गरेका छन् ।
सार्वजनिक व्यवस्था वा सुरक्षाका लागि आवश्यक देखिएमा कुनै व्यक्तिलाई ‘निवारक नजरबन्द’मा राख्न आदेश दिने अधिकार कानुनले अधिकारीहरूलाई दिएको छ । ‘अलिमा खान बिहान चालकसँग घरबाट निस्किएकी थिइन्, त्यसवेला प्रहरीले उनलाई गैरकानुनी रूपमा पक्राउ गरी अज्ञात स्थानमा लग्यो,’ उनका वकिल राना मुदस्सर उमरले एक्समा लेखेका छन् । ‘लाहोरमा उनीविरुद्धका सबै मुद्दामा अलिमा खानले जमानत पाइसकेकी छिन् । उनलाई कुन मुद्दा, स्थान वा प्रहरी चौकीमा राखिएको छ भन्ने अझै खुलेको छैन ।’
गिरफ्तारीबारे सरकारको तर्फबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन । रोयटर्स समाचार संस्थाका अनुसार, शनिबार गृहमन्त्री मोहसिन नकभीले पिटिआईको विरोध ¥याली रोक्न सरकारले सक्दो प्रयास गर्ने बताएका थिए । पिटिआईले यस गिरफ्तारीको निन्दा गर्दै यसलाई गैरकानुनी भनेको छ र उनको तत्काल रिहाइको माग गरेको छ । ‘यो कानुनसम्मत होइन । यो गैरकानुनी गिरफ्तारी हो । यो कायरता र स्थितिलाई अझ बिगार्ने जानाजान गरिएको प्रयास हो,’ पिटिआईका प्रवक्ता सेख वकास अक्रमले एक्समा लेखेका छन् ।
खानको स्वास्थ्यबारे चिन्ता
७३ वर्षीय इमरान खान अगस्ट २०२३ देखि जेलमा छन् । उनलाई विभिन्न मुद्दामा दोषी ठहर गरिएको थियो, जसलाई उनको पार्टीले राजनीतिक उद्देश्यबाट प्रेरित भएको बताउँदै आएको छ । उनको स्वास्थ्य, विशेष गरी महिनौँदेखि विशेषज्ञ उपचार आवश्यक परेको उनको दाहिने आँखाको अवस्थालाई लिएर देखिएको चिन्ताले गर्दा पिटिआईले उनको रिहाइको माग गर्दै अभियान सञ्चालन गरिरहेको छ ।