कोरोना भाइरस संक्रमण तीव्र बनेको भारतदेखि दक्षिण एसियाका प्रायः देशमा घरेलु प्रतियोगिता आयोजना हुन थालेका छन्, तर नेपालमा खेलकुद खुल्ने टुंगो छैन
छिमेकी भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण अझै नियन्त्रणबाहिर छ । बुधबार मात्रै भारतमा भाइरस संक्रमितको संख्या ५० लाख नाघेको छ । तर, भारतमा घरेलु खेलकुद सुरु भइसकेको छ । भारतले अर्काे वर्ष (२०२१)का लागि सरेको टोकियो ओलम्पिक छनोटको तयारीमा रहेका खेलको प्रशिक्षण यसअघि नै सुरु गरेको हो । प्रशिक्षण मात्रै हैन, भारतले प्रतियोगिता नै आयोजना गर्न सुरु गरेको छ । यही २२ असोजबाट छनोट प्लेअफ खेलसँगै भारतले आई लिगको नयाँ सिजन सुरु गर्दै छ ।
भारतीय एथलेटिक्स संघले पनि अक्टोबरबाट राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहेको छ । भारतसँगै पाकिस्तान, श्रीलंका, बंगलादेशलगायत दक्षिण एसियाली देशमा कोरोना भाइरस संक्रमणबाट बच्ने उपायसहित घरेलु प्रतियोगिता आयोजना हुन थालेका छन् । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले १४ असोजबाट राष्ट्रिय टी–२० प्रतियोगिता आयोजना गर्दै छ । त्यसपछि अरू प्रतियोगिता गर्ने तयारी पिसिबीको छ । श्रीलंकामा क्रिकेटको क्लबस्तरीय युथ प्रतियोगिता चलिरहेको छ भने बंगलादेशमा खेलाडी प्रशिक्षणमा फर्किएका छन् । यी देशमा अरू खेलले पनि प्रशिक्षणसँगै घरेलु प्रतियोगिता आयोजनाको तयारी गरिरहेका छन् ।
......
नेपालमा भने झन्डै ६ महिनादेखि खेलकुद गतिविधि ठप्पप्रायः छ । कोरोना भाइरस संक्रमण देखिएपछि सरकारले गत ११ चैतबाट पहिलोपटक ‘लकडाउन’ घोषणा गरेदेखि नै घरेलु खेलकुद गतिविधि भएका छैनन् । साउन ६ मा सरकारले लकडाउन समाप्त भएको घोषणा गरेपछि घरेलु खेलकुद लयमा फर्कने सम्भावना देखिएको थियो । केही खेलले प्रशिक्षण सुरु गरेका थिए । टोकियो ओलम्पिक छनोटका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)को छात्रवृत्ति पाएका खेलाडीले आफ्नो प्रशिक्षण सुरु गरेका थिए । ब्याडमिन्टनले विदेशी प्रशिक्षक ल्याएर आफ्नो खेलाडीको प्रशिक्षण सुरु गरेको थियो ।
टेबलटेनिसले पनि आफ्नो नियमित प्रशिक्षण सुरु गरेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पनि खेलाडीको पिसिआर परीक्षण गरेर बन्द प्रशिक्षण सुरु गर्ने तयारी गरेको थियो । फुटबलले आफूले खेल्ने सम्भावना रहेको प्रतियोगिता स्थगित भएको भन्दै बन्द प्रशिक्षण नै रद्द गर्यो । प्रशिक्षणमा सहभागी हुन जिल्लाबाहिरबाट आएका खेलाडी पनि घर फर्किए । भाइरस संक्रमण फेरि बढ्न थालेपछि ३ भदौबाट सरकारले फेरि निषेधाज्ञा लगाउँदा ती खेलको प्रशिक्षण पनि रोकिएका छन् ।
सरकारले निषेधाज्ञा पनि समाप्त भएको घोषणा गरेको छ । त्यससँगै अरू क्षेत्र पनि खुल्न थालेका छन् । तर, खेलकुद क्षेत्र खुलाउने तयारीसम्म भएको छैन । खेलाडीहरूको संस्था राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ तत्काल प्रशिक्षण गर्न मिल्ने वातावरण बनाउनुपर्ने बताउँछन् । ‘खेलकुद सधैँभरि यसरी चल्दैन । नियमित प्रशिक्षणमा हुनुपर्ने खेलाडीहरू पछिल्लो झन्डै ६ महिनादेखि घरभित्रै छन् ।
अब कम्तीमा प्रशिक्षण सुरु गर्ने व्यवस्था हुनुपर्छ,’ टोकियो ओलम्पिकका लागि आइओसीको छात्रवृत्तिको तयारीमा रहेका कराते खेलाडीका प्रशिक्षकसमेत रहेका श्रेष्ठ भन्छन्, ‘ओलम्पिकजस्तो प्रतियोगिताको छनोटमा सहभागी हुने खेलाडीको तयारीमा अब ढिला हुन दिनुहुन्न ।’ टोकियो ओलम्पिकका लागि आइओसीको छात्रवृत्तिमा प्रशिक्षणमा रहेका जुडोकी प्रशिक्षक देबु थापा पनि प्रशिक्षणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आग्रह गर्छिन् । ‘ओलम्पिकजस्तो महत्वपूर्ण प्रतियोगिताको तयारी गर्नुपर्छ । तर, पछिल्लो ६ महिनादेखि हामीले कोभिड–१९ महामारीका कारण राम्रोसँग तयारी पनि गर्न पाएका छैनौँ,’ देबु भन्छिन्, ‘अहिले बाहिर नमिलेर घरको छतमा अभ्यास गरिरहेका छौँ । तर, यसरी गरिएको तयारीबाट हामी के अपेक्षा गर्न सक्छौँ ?’
यसको तयारी मिलाउने राष्ट्रिय खेलकुद परिषद् (राखेप) भने अझै योजनाविहीन देखिएको छ । राखेपका तालिम तथा प्रशिक्षण विभाग प्रमुख अर्जुन विक खेलकुद सञ्चालन गर्नेबारे कुनै निर्णय नभएको बताउँछन् । ‘अहिलेसम्म ग्रुप गेम भनेर सरकारले नै खेलकुद सुरु गर्न दिएको छैन । जिमखाना, स्विमिङ पुललागयात सबै बन्द छन्,’ उनी भन्छन्, ‘हामीले पनि खेलकुद सञ्चालन गर्नेबारे छलफल गरिरहेका छौँ । तर, अहिले नै निर्णय भइसकेको छैन ।’
‘घरको छतमा अभ्यास गराउनु परेको छ’ : देबु थापा, टोकियो ओलम्पिक छनोट तयारीकी जुडो प्रशिक्षक
हामी ओलम्पिकजस्तो ठूलो प्रतियोगिताको तयारीमा छौँ । तर, पछिल्लो ६ महिनादेखि हामी आफ्नै घरभित्र छौँ ।
जुडो शारीरिक खेल हो । प्रशिक्षणकै लागि पनि एक–अर्कालाई ‘टच’ गर्नैपर्छ । केही समय हामीले नेपाल पुलिसको प्रशिक्षण केन्द्रमा प्रशिक्षण गर्यौँ ।
तर, भाइरस संक्रमण फैलिएपछि अहिले त्यहाँ पनि प्रशिक्षण गर्न पाएका छैनौँ । हामी अहिले आफ्नो घरको छतमा मिलेजतिको प्रशिक्षण गरिरहेका छौँ ।
ओलम्पिकजस्तो ठूलो प्रतियोगिताको तयारी घरको छतमा गर्नुपरेको छ । यस्तो अवस्थाले के अपेक्षा गर्न सक्छौँ ? त्यसैले चाँडै नै सम्बन्धित निकायले कम्तीमा प्रशिक्षणका लागि मात्रै भए पनि व्यवस्था मिलाइदियोस् ।
‘कम्तीमा प्रशिक्षण गर्ने व्यवस्था गरियोस्’ : कृष्णमाया स्याङ्तान, टोकियो ओलम्पिक छनोट तयारीकी आर्चरी प्रशिक्षक
हामीले पनि अहिले बाहिर अभ्यास गर्न पाएका छैनौँ । भाइरस संक्रमण डरका कारण खेलाडीहरू अहिले घरमै छन् ।
घरमा जति मिल्छ, त्यति अभ्यास गरिरहेका छन् । खासमा आर्चरीको अभ्यास घरमा गर्न मिल्दैन । त्यसका लागि प्रशिक्षणस्थल नै हुनुपर्दछ ।
हामी ओलम्पिकजस्तो ठूलो प्रतियोगितामा छनोट हुने सपना लिएर प्रशिक्षणमा सहभागी भइरहेका छौँ । प्रतियोगिता आउनु पनि धेरै समय बाँकी छैन ।
यति छोटो समयमा खेलाडीले कसरी तयारी गर्न सक्थे । सधैँभरि यसरी सम्भव हुँदैन । अब खेलकुद खुल्नुपर्दछ । कम्तीमा प्रतियोगिताको तयारी गर्न पाउने वातावरण बन्नुपर्दछ ।
‘सरकारले नै रोकेको छ, अहिले नै खुल्ने निर्णय छैन’ : अर्जुन विक, तालिम तथा प्रशिक्षण विभाग प्रमुख, राखेप

खेलकुद लामो समयदेखि ठप्प छ । तर, भाइरस संक्रमण फैलिएपछि सरकारले नै खेलकुद गतिविधि रोकिरहेको छ ।
सरकारले खेलकुदमा धेरैजना उपस्थित हुने भनेर रोकिरहेको छ ।
हामीले पनि खेलकुद सञ्चालन गर्नेबारे छलफल गरेका छौँ । तर, अहिले नै खेलकुद खोल्ने भन्ने निर्णय भएको छैन ।
सरकारले नै रोकिरहेकाले हामीले निर्णय गर्न सक्ने कुरा पनि भएन । केही खेलले प्रशिक्षण सुरु गरेको देखेको थिएँ । उनीहरूलाई किन सुरु गरेको भन्न पनि सकेको छैन । सुरु नगरेकालाई गर भन्न पनि सकेको छैन ।