अस्ट्रियाका डोमिनिक थिएमले करिअरकै पहिलो ग्रान्डस्लाम जितेका छन् । सोमबार बिहान अर्थुर रंगशालामा थिएमले जर्मन खेलाडी एलेसान्डर ज्भेरेभलाई ३–२ को कठिन सेटमा हराउँदै युएस ओपन ग्रान्डस्लाम जितेका हुन् ।
दोस्रो वरीयताका थिएमले अघिल्लो तीन ग्रान्डस्लाम फाइनल गुमाएका थिए । यसपटक युएस ओपनको प्रिक्वार्टरफाइनलमा शीर्ष वरीयताका नोभाक जोकोभिक अयोग्य भएपछि थिएमको उपाधि जित्ने बाटो खुला भएको हो । यसैगरी पूर्वविजेता एन्डी मुर्रे दोस्रो चरणबाट घर फर्किएका थिए ।
अस्ट्रियाका कुनै पनि टेनिस खेलाडीले पहिलोपटक ग्रान्डस्लाम जितेको यो नै पहिलोपटक हो । थिएमले ज्भेरेभलाई २–६, ४–६, ६–४, ६–३ र ७–६ (८–६) को म्याराथन सेटमा निराश पारे । युएस ओपनको इतिहासमा पहिलो दुई सेट गुमाउँदै उपाधि उचाल्ने थिएम ७१ वर्षपछि पहिलो खेलाडी बनेका छन् । सन् १९४९ को फाइनलमा गोन्जालेजले यस्तो इतिहास रचेका थिए । यो ६ वर्षभित्र थिएम नयाँ विजेता खेलाडी बनेका छन् ।
सन् २०१४ मा मारिन सिलिकले नयाँ खेलाडीका रूपमा उपाधि हात पारेका थिए । सन् २०१५ देखि २०१९ सम्म पूर्वविजेताहरूकै आधिपत्य रह्यो । थिएम यसै वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको फाइनलमा जोकोभिकसँग पराजित भएका थिए । उनी सन् २०१८ र २०१९ को फ्रेन्च ओपन फाइनलमा राफेल नाडालसँग स्तब्ध भए । युएस ओपनको १७ वर्ष इतिहास केलाउँदा अहिलेसम्म पाँचजना खेलाडी मात्र नयाँ च्याम्पियनका रूपमा रहे ।
सन् २००४ देखि २०१६ बीचको संस्करणमा रोजर फेडेरर, नाडाल र जोकोभिकले समग्रमा १२ पटक उपाधि उचाले । जुआन मार्टिन डेल पार्टो (२००९), एन्डी मुर्रे (२०१२), मारिन सिलिक (२०१४) र स्टान वारिन्का (२०१६) मा युएस ओपन हात पारेका थिए । फेडेरर २००४ देखि २००८ सम्म लगातार युएस ओपनमाथि कब्जा जमाए ।
यसैगरी स्पेनिस खेलाडी नाडाल २०१०, २०१३, २०१७ तथा २०१९ मा युएस ओपन च्याम्पियन बने । जोकोभिकले २०११, २०१५ तथा २०१८ को संस्करण जित्न सफल भए । युएस ओपनको इतिहासमा १६ वर्षपछि तीन दिग्गज खेलाडी क्वार्टरफाइनलमै पुग्न सकेनन् । यो प्रतियोगितामा फेडेरर र नाडालले नाम फिर्ता लिएका थिए । जोकोभिक प्रिक्वार्टरफाइनलबाट बाहिरिए । सन् २००४ को संस्करण पनि यस्तै भएको थियो ।