भरतपुर महानगरपालिकाले केही दिनअघि भरतपुर– १ मा आइसोलेसन स्थापना गरेको छ ।
७५ शय्याको उक्त आइसोलेसन हालका लागि पर्याप्त रहेको र आवश्यक परेको खण्डमा तत्कालै सोही स्थानमा थप गर्न सकिने भरतपुर महानगरकी मेयर रेनु दाहालले बताइन् ।
दुई सय शय्यासम्म थप्न सकिने उनको भनाइ छ । केही दिनअघि भएको महानगरको ४६औँ पूर्ण बोर्ड बैठक कोरोना महामारीमा केन्द्रित रही आयोजना गरिएको थियो ।
भर्चुअल विधिबाट आयोजना गरिएको उक्त बैठकमा बोल्दै मेयर दाहालले महानगरवासीको स्वास्थ्य सुरक्षाको विषय महत्वपूर्ण भएकाले यसका लागि महानगरले कुनै पनि कसर बाँकी नराख्ने बताइन् । साथै उनले महामारीबीच काम गर्नका लागि महानगर टिम सशक्त लागिपरेको बताइन् ।
बोर्ड बैठकले भरतपुर महानगर कोभिड– १९ आइसोलेसन केन्द्र सञ्चालन कार्यविधि पारित गरेको उनले बताइन् । आयुर्वेदिक र प्राकृतिक विधिअनुसार संक्रमितको उपचार चिकित्सालयमा थालिएको छ ।