कांग्रेस नेता शेखर भन्छन्– जनता भोकभोकै रहनुपर्ने अवस्था बन्यो, सरकारले बाह्य सम्बन्ध ध्वस्त पाऱ्याे

सोमबार, २२ भदौ, २०७७
डिजिटल संस्करण

कांग्रेस नेता डा. शेखर कोइरालाले सरकारमा रहेको दल आन्तरिक झगडामा अलमलिने र जनता भोकभोकै रहनुपर्ने अवस्था आएको बताएका छन् । उनले बाह्य सम्बन्ध ध्वस्त पार्ने काम सरकारले गरेको आरोपसमेत लगाए । 

आफैँले आयोजना गरेको ‘नेपालको कूटनीति दोबाटोमा’ विषयक भर्चुअल अन्तर्क्रियामा कोइरालाले दुईपक्षीय र बहुपक्षीय सम्बन्ध धुमिल बनाउने काम किन गरियो भन्ने विषयमा जनता चनाखो बनेको बताए । एक छिमेकविरुद्ध अर्को प्रयोग गर्ने र शक्तिमुलुकबाट आएको सहयोगमा विरोध गर्ने काम दलभित्रैबाट गराएर सहयोग नभई ऋणमा मुलुकलाई फसाउने कार्यतर्फ सरकारउन्मुख बनेको उनको दाबी छ । 

कार्यक्रममा कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले सरकारले वैचारिक सम्बन्ध भएका मुलुकसँग मात्रको सहकार्यले उत्तर कोरियाको झल्को दिन सक्ने बताए । 

कांग्रेसले गठन गरेको छाया सरकारका परराष्ट्रमन्त्रीसमेत रहेका डा. नारायण खड्काले कांग्रेसले कूटनीतिक मामिला र आन्तरिक विषयमा चासो देखाएर काम गरिरहेको दाबी गरे । उनले कुनै पनि सम्बन्धलाई नबिगारी विश्व मञ्चमा नेपाल सक्रिय रहनुपर्नेमा नेपालको वर्तमान नेतृत्वले त्यसतर्फ ध्यान दिन नसकेको बताए ।

पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यले सरकारले कूटनीतिलाई मजाक बनाएको बताए । अर्का पूर्वपरराष्ट्रसचिव एवं राष्ट्रसंघका पूर्वउपमहासचिव ज्ञानचन्द्र आचार्यले पनि विश्व परिवेशबाट नेपाललाई एक्ल्याउने काम वर्तमान सरकारले गरेको बताए । 

पूर्वराजदूत डा. दिनेश भट्टराईले पनि अतिराष्ट्रवादको नाराले मात्र मुलुकको मुहार नफेरिने भन्दै अहिलेको सरकारले सबैलाई चिढाउने र आफ्नो मुलुकको भूराजनीतिक अवस्थिति बिर्सने काम गरिरहेको बताए । 

दक्षिण एसियाली अध्ययन केन्द्रका प्रमख निश्चलनाथ पाण्डेले सार्कको अध्यक्षसमेत रहेको नेपालले कोभिडको समयमा नेतृत्वदायी भूमिका खेल्न नसकेको बताए ।

सुझावित समाचार