ललितपुरका मेयर महर्जनले भने, ‘रथ बनाउने र तान्ने कार्यमा महानगरको भूमिका छैन’

शुक्रबार, १९ भदौ, २०७७
डिजिटल संस्करण

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले निषेधाज्ञा कायमै रहेका वेला जबर्जस्ती रातो मत्स्येन्द्रनाथको रथ तान्न खोज्दा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘करिब ६० टनभन्दा बढी तौल र ५० फिटभन्दा अग्लो मत्स्येन्द्रनाथको रथलाई विनाजानकारी र योजना तान्न खोज्नु अशोभनीय कार्य भयो, स्थानीय सरकार र प्रशासनलाई जानकारी नै नदिई अशोभनीय ढंगबाट रथ तान्ने प्रयास गरिनुले संस्कृति र सम्पदाप्रेमी सबैको मन नराम्रोसँग दुखाएको छ ।’ 

‘धर्म, संस्कृति, जात्रा, परम्परा जोगाउने नाममा भएको यस्तो घटनाले मर्माहत बनाएको छ, रातो मत्स्येन्द्रनाथको रथ बनाउने र तान्ने प्रक्रियामा ललितपुर महानगरपालिकाको भूमिका नहुने कुरा यहाँहरूलाई अवगत गराउँछु,’ विज्ञप्तिमा उल्लेख छ ।

मेयर महर्जनले कोभिड– १९ का वेला स्वास्थ्य सतर्कता अपनाउन भक्तजनहरूको व्यवस्थापन र जात्राका लागि ‘लजिस्टिक सपोर्ट’ मात्रै गर्न खोजेको जनाएका छन् । विज्ञप्तिमा महर्जनले ललितपुर महानगरपालिका कला, धर्मसंस्कृति, सम्पदा, जात्रालगायतका अन्य परम्पराले सम्पन्न सहर भएको उल्लेख गर्दै अमूल्य निधिको संरक्षण तथा सम्मान गर्न महानगरवासी र सम्पूर्ण संस्कृतिप्रेमी जनसमुदायलाई आग्रह गरेका छन् । 

मेयर महर्जन बिहीबार आफ्नो पिसिआर रिपोर्टको प्रतीक्षा गर्दै होम आइसोलेसनमा बसेका थिए । अपराऋनपछि रिपोर्ट नेगेटिभ भएको खबर प्राप्त भएसँगै रातो मत्स्येन्द्रनाथको रथका विषयमा आयोजना गरिएको छलफलमा सहभागी भएको उनले बताए ।  

सुझावित समाचार