कोरोना भाइरसले महिलाको तुलनामा पुरुषलाई बढी असर गरिरहेको छ । कोरोनाबाट अत्यधिक प्रभावित देशहरू इटली, चीन र अमेरिकामा कोरोनाका कारण मर्ने पुरुषको संख्या महिलाको तुलनामा बढी रह्यो । भारतमा पनि पुरुष नै बढी प्रभावित देखिएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार भारतमा कोभिड–१९ को चपेटामा परेर ज्यान गुमाउनेमा ६९ प्रतिशत पुरुष छन् भने महिलाहरू ३१ प्रतिशत छन् । यसको पछाडि के कारण हुन सक्छ ? के महिलाहरूको प्रतिरोधक क्षमता पुरुषको तुलनामा बढी बलियो हुन्छ ? के यसको पछाडि सामाजिक तथा आर्थिक कारण पनि छन्, जुन सामान्य हिसाबमा ओझेलमा पर्ने गर्छन् । दिल्लीस्थित सफदरजंग अस्पतालमा कम्युनिटी मेडिसिन विभाग प्रमुख डा. जुगल किशोरका अनुसार महिलाहरूमा प्रतिरोधक क्षमता घटाउने ‘रिस्क फ्याक्टर (जोखिम)’ कम हुने गर्छ ।
विश्वभर नै महिलाको तुलनामा पुरुषहरू धेरै धूम्रपान गर्छन् । धूम्रपानले मानिसको फोक्सोलाई कमजोर बनाइदिन्छ र विभिन्न रोगको जोखिम बढाइदिन्छ । नियमित धूम्रपानले फोक्सोमा गराउने खराबीमा क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज (सिओपिडी) प्रमुख हो । डा. जुगल किशोरका अनुसार सिओपिडीले कोरोना संक्रमण निकै बढाइदिन्छ । यो समस्याबाट ग्रसित व्यक्तिमा कोरोना संक्रमण भएपछि ठीक हुन पनि कठिन हुन्छ । चुरोट र रक्सीले मानिसको प्रतिरोधी क्षमतालाई असर गर्छ । महिलाको तुलनामा पुरुषहरू धेरै धूम्रपान गर्ने भएकाले पुरुषहरू कोरोना संक्रमणका सन्दर्भमा कमजोर साबित भइरहेका छन् । भारतीय स्वास्थ्य मन्त्रालयको वेबसाइटका अनुसार कोरोनाबाट मर्नेमध्ये ७० प्रतिशतभन्दा बढी मानिसमा पहिलेदेखि कुनै गम्भीर रोग थियो ।
चुरोट र रक्सीले मानिसको प्रतिरोधी क्षमतालाई असर गर्छ, महिलाको तुलनामा पुरुषहरू धेरै धूम्रपान गर्ने भएकाले पुरुषहरू कोरोना संक्रमणका सन्दर्भमा कमजोर साबित भइरहेका छन् ।
दिल्लीस्थित सर गंगाराम अस्पतालका सिनियर कन्सल्टेन्ट डा. धीरेन गुप्ताका अनुसार कोरोनाबाट पुरुष बढी प्रभावित हुनुमा पुरुषको हार्मोनको पनि हात छ । पुरुष हार्मोनले संक्रमणलाई बढी ग्राह्य बनाइदिन्छ । पुरुषमा बढी पाइने एन्ड्रोजन हार्मोनले कोरोना भाइरसका शरीरमा प्रवेशका लागि जिम्मेवार प्रोटिन टिएमपिआरएसएसटुलाई बढी सक्रिय बनाइदिन्छ । यही कारण पनि कोरोना भाइरसविरुद्ध महिलाको प्रतिरोधात्मक प्रतिक्रिया पुरुषको तुलनामा राम्रो देखिएको हुन सक्छ । सामान्यतया संक्रमणविरुद्ध महिलामा पुरुषको तुलनामा राम्रो असरका लागि महिलामा हुने दुई एक्स क्रोमोजोमको भूमिका देखिन्छ । पुरुषमा एउटा मात्र एक्स क्रोमोजोम हुन्छ । भाइरसविरुद्ध शीघ्र तयारी गर्ने प्रोटिन एक्स क्रोमोजोममा हुन्छ । महिलामा पुरुषको तुलनामा दोब्बर एक्स क्रोमोजोम हुने भएकाले प्रोटिनले गर्ने काम पनि बढी हुन्छ ।
यही कारणले महिलाको इम्युन सिस्टम कोरोना भाइरसविरुद्ध शीघ्र सक्रिय हुन्छ र बढी छिटो काम गर्छ । परिणामस्वरूप कोभिड–१९ को कारण महिलाको मृत्यु पनि कम भएको हुन सक्छ । कोरोना भाइरसले कसरी मानिसलाई प्रभावित गर्छ भन्ने कुरामा चिकित्सा विज्ञान र जीवविज्ञानका अतिरिक्त सामाजिक तथा आर्थिक स्थितिले पनि भूमिका खेल्छ । विश्वभर नै महिलाको तुलनामा पुरुषहरू घरबाहिरको काममा बढी सक्रिय हुने गर्छन् । दक्षिण एसियाली मुलुकमा घरबाहिर निस्किने पुरुषको दर झनै बढी छ । लकडाउनको समयमा पनि पुरुषहरू नै बाहिर धेरै निस्किरहेको देखिन्छ । यसले पनि कोरोना संक्रमण पुरुष बढी परिरहेका हुन सक्छन् ।
भारतका प्रमुख सहर दिल्ली, मुम्बईमा भएको हालैको सर्वेक्षणमा पुरुषको तुलनामा महिलामा बढी कोरोना एन्टीबडी विकसित भएको देखियो । अगस्टको अन्तिममा दिल्लीमा भएको एक सर्वेक्षणमा एकतिहाइभन्दा बढी महिलामा एन्टीबडी रहेको पाइयो । जुलाईको अन्तिममा मुम्बईमा भएको त्यस्तै सर्वेक्षणमा ५९.२ प्रतिशत महिलामा एन्टीबडी विकसित भएको पाइयो भने पुरुषमा यो ५३.२ प्रतिशत थियो । महिलाहरू कोरोना भाइरसबाट संक्रमित त भइरहेका छन्, तर तिनको रोग प्रतिरोधात्मक प्रणालीले राम्रो काम गरेकाले तिनमा शीघ्र एन्टीबडी बनिरहेको छ । यसैले महिलाको मृत्युदर कम गरिरहेको हुन सक्छ ।
यसको अर्को पाटो पनि छ । भारतलगायत विकासोन्मुख देशमा महिलाहरूको स्वास्थ्यलाई पुरुषको तुलनामा गम्भीरताका साथ लिइँदैन । यसले महिलाहरूको पर्याप्त कोरोना परीक्षण नगरिएको पनि हुन सक्छ । यसले कोभिड–१९ संक्रमित महिला र तिनको मृत्युका तथ्यांक पूर्ण रूपमा बाहिर नआएको हुन सक्छ । हालसम्मको अध्ययनले महिलाको रोग प्रतिरोधात्मक प्रणाली कोरोना भाइरससँग लड्न केही बढी प्रभावकारी रहेको देखाएको छ, तर भारतजस्तो विकासोन्मुख देशमा महिलाहरू कोभिड–१९ बाट कम संक्रमण हुनुको कारण यही हो या अन्य छन् अहिले नै ठोस निष्कर्ष निकाल्न सकिँदैन ।
(लेखक पत्रकार हुन्)
बिबिसी हिन्दीबाट