कल्पना गरौँ, इस्लामिक गणतन्त्र इरानले १८ वर्षको उमेरमा गरिएको एउटा अपराधका लागि ५० वर्षीया महिलालाई मृत्युदण्ड दिने प्रक्रिया अघि बढायो । मानौँ, आफ्नै सहपाठीको हत्याका लागि मृत्युदण्डको सजाय पाएकी ती महिला सानै उमेरदेखि बलात्कार र यौन दुव्र्यवहारको सिकार भएकी थिइन् । चिकित्सकले उनमा मानसिक रोग ठहर गरेका थिए । आरोपी आफैँले पछि स्विकारेकी थिइन् : ‘मलाई आफूले गरेको अपराध कति गम्भीर छ भनेर महसुस गर्न धेरै वर्ष लाग्यो ।’
यस्ती महिलालाई मार्ने निर्णय गरेकामा इरान अत्यन्त बर्बर भएको आरोप लगाउँदै अन्तर्राष्ट्रियस्तरमा ठुलो विरोध हुने थियो । आलोचनाको अग्रपंक्तिमा अमेरिका हुने निश्चित थियो । तर, अमेरिकाको टेनेसी राज्यमा ५० वर्षीया क्रिस्टा पाइकलाई मृत्युदण्ड दिने गत बुधबारको प्रयासपछि भने कुनै होहल्ला भएन । खासमा उल्लिखित सबै विवरण उनै अमेरिकी नागरिक पाइकको जीवनको वास्तविक यथार्थ हो ।
पाइक सन् १८२० यता टेनेसी राज्यमा मृत्युदण्ड पाउने पहिलो महिला बन्नेवाला थिइन् । यद्यपि, मृत्युदण्ड प्रयास असफल भयो । पाइकलाई मृत्युदण्ड दिन घातक इन्जेक्सन दिँदा पनि उनी जीवितै रहिन् । त्यसपछि मृत्युदण्डको प्रक्रिया रोकियो । उनलाई हतार–हतार अस्पताल लगियो ।
इन्जेक्सनमार्फत हुने मृत्युमा हुने पीडाको डरले, पाइकले सुरुमा ‘फायरिङ स्क्वाड’मार्फत मारियोस् भनेर अनुरोध गरेकी थिइन् । उनको त्यो अनुरोध अस्वीकार गरिएको थियो । पाइकका वकिलले असफल मृत्युदण्डको प्रयासपछि यसलाई ‘रासायनिक यातना’को संज्ञा दिएका छन् । अक्सिजनको अभावका कारण पाइकको मस्तिष्कमा कति क्षति पुग्यो भन्ने हेर्न बाँकी नै छ ।
इरानले मानसिक रोगी कुनै महिलालाई मृत्युदण्ड दिने प्रयास मात्र नभई, मार्ने प्रक्रियामा कुनै गल्ती गरेर उनलाई अधमरो छाडेको भए कस्तो निन्दा हुन्थ्यो होला, सहजै कल्पना गर्न सकिन्छ । यस्तो कार्य इरानले मात्र होइन, मध्यपूर्व र अफ्रिकाका अन्य धेरै देशमा भएको भए पनि त्यसको व्यापक निन्दा गरिन्थ्यो होला । तर, अमेरिकामा भने यो एउटा सामान्य दैनिकीजस्तै बनेको छ, जहाँका ५० राज्यमध्ये आधाभन्दा बढीमा मृत्युदण्डको सजाय कानुनी रूपमा वैध छ ।
मृत्युदण्डसँग जोडिएका अनेकौँ समस्यामध्ये एउटा प्रमुख समस्या कैयौँ अवस्थामा निर्दोष व्यक्तिले ज्यान गुमाउने गरेका छन् । ‘डेथ पेनाल्टी इन्फर्मेसन सेन्टर’को प्रतिवेदनअनुसार, ‘सन् १९७३ यता अमेरिकामा गलत अभियोगमा दोषी ठहरिएका र मृत्युदण्डको सजाय पाएका कम्तीमा २०३ जना पछि निर्दोष साबित भए ।’ अमेरिकामा दासप्रथाको युगमा मृत्युदण्डलाई ‘अश्वेत जनसंख्यालाई नियन्त्रणमा राख्न र विद्रोहलाई निरुत्साहित गर्न एउटा औजारका रूपमा प्रयोग गरिएको’ थियो ।
यसको स्मरण गर्दै, सो संस्थाले अहिले पनि मृत्युदण्ड दिँदाको जातीय विभेदको निरन्तरतालाई औँल्याएको छ । ‘अमेरिकी जनसंख्याको १२ प्रतिशत मात्र हिस्सा ओगटेका अश्वेत अहिले मृत्युदण्ड पर्खिरहेका कैदीको ४० प्रतिशत हिस्सा ओगट्छन्,’ डेथ पेनाल्टी इन्फर्मेसन सेन्टरले भनेको छ ।
अमेरिकामा लोकतन्त्रको आवरणमा चल्ने जातीय तथा वर्गीय विभेद बाँच्नेहरूका लागि मात्र नभई मृत्युदण्डको प्रक्रिया दोहोरिनु आश्चर्यको विषय होइन । आखिर, अश्वेत वा अन्य जातिगत समूह र विपन्नलाई असमान रूपमा थुनामा राखेर वा कानुनी रूपमा हत्या गरेर पुँजीवादी श्रेणी क्रमलाई कायम राख्ने गरिएको छ । आखिर, उच्च वर्गको सामाजिक नियन्त्रण बचाउन योभन्दा उत्तम उपाय के नै हुन सक्छ र ? यद्यपि, पाइक अश्वेत होइनन्, तैपनि उनको हत्याको प्रयासले नियन्त्रणको संयन्त्रलाई नै सघाउँछ । यसले गैरउच्च वर्गीय मानिसलाई उनीहरूको जीवनको मूल्य नभएको र उनीहरूको भाग्य पूर्णतया स्वेच्छाचारी वा अनिश्चित छ भन्ने बोध गराउँछ ।
अमेरिकाभित्र होस् या बाहिर वा राज्य–प्रायोजित मृत्युदण्डको कार्यान्वयन होस् वा क्यारिबियन क्षेत्रमा माछा मार्नेहरूको गैरन्यायिक हत्या, अमेरिकाले त्यस्ता बर्बर कार्यका लागि कहिल्यै पनि जवाफदेहिता वा आलोचनाको सामना गर्नुपरेको छैन । टेनेसी राज्यको अस्पतालमा ‘पाइक’ अचेत अवस्थामा रहँदा, राज्यले यस वर्षको बाँकी अवधिका लागि मृत्युदण्डको प्रक्रिया रोकेको छ । अधिकारीहरू किन मृत्युदण्ड असफल भयो भनेर समीक्षामा केन्द्रित छन् ।
बेलेन फर्नान्डेज (बेलेन अन्तर्राष्ट्रिय मिडियामा समसामायिक विषयमा कलम चलाउँछिन्)
अलजजिराबाट