कोरोना जितेकालाई सम्मानपूर्वक बिदाइ

बुधबार, १७ भदौ, २०७७
डिजिटल संस्करण

कोरोना (कोभिड– १९) संक्रमण भएका कतिपय नागरिकलाई समाजमा अपहेलनासहित सामाजिक बहिस्कार गरेका घटना सार्वजनिक भइरहँदा दोलखामा भने कोरोना जितेकाहरूलाई सम्मानपूर्वक बिदाइ गरिएको छ । विभेद गरिएका कतिपय घटनालाई लक्षित गरी यस्ता घटनाको अन्त्य गर्न र संक्रमितको मनोबल उच्च बनाउन सम्मानपूर्वक घर पठाइएको हो । बुधबार दोलखाका सातजना कोरोनामुक्त भई घर फर्किएका छन् ।

चरिकोटस्थित आइसोलेसनमा रहेका उनीहरूमा दोस्राेपटकको पिसिआर परीक्षणमा पनि नेगेटिभ रिपोर्ट आएपछि बुधबार डिस्चार्ज गरेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । उनीहरूलाई स्वास्थ्यसम्बद्ध निकायका प्रमुखहरूको उपस्थितिमा सम्मान गर्दै बिदाइ गरिएको थियो । स्वास्थ्य कार्यालयको प्रांगणमा आयोजित कार्यक्रममा सातैजनालाई टीका र खादा लगाएर डिस्चार्ज गरेको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटकी प्रमुख डा. रिना लामिछानेले जनाएकी छिन् । उनले समाजमा सकारात्मक सूचना प्रवाह र बहिस्कारका घटना हुन नदिन विशेष तरिकाले बिदाइ गरेको बताइन् । 

उनीहरूको २ भदौमा गरिएको पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । डिस्चार्ज हुनेहरूमा चितवनको तालिममा सहभागी भएर फर्किएका चारजना गैरसरकारी संस्थाका प्रतिनिधि, दुईजना सुरक्षाकर्मी र एक स्वास्थ्यकर्मी थिए । 
 

सुझावित समाचार