काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षसमेत रहेका पत्रकार शिव गाउँलेले देशमा संविधान जोगाउनका लागि लड्नुपर्ने वेला आएको बताएका छन् । शुक्रबार प्रहरीले सञ्चारगृहमा गरेको धरपकडको प्रंसगमा उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि भन्दा पहिले संविधान जोगाउन लड्नुपर्ने अवस्था आएको बताएका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा छिरेर प्रहरीले पत्रकार पक्राउ गर्न थालेको हो भने यो मुलुकमा संविधान सकियो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि लड्दै गरौँला, पहिले संविधान जोगाउन लड्नुपर्ने भयो।’
सरकारको निर्देशन भन्दै प्रहरीले शुक्रबार नयाँ पत्रिकालगायत सञ्चारगृहमा धरपकड गरेको थियो भने केही पत्रकारलाई नियन्त्रणमा लिएर छाडिएको थियो । राज्यको यस कदमविरुद्ध नेपाल पत्रकार महासंघले शनिबार विरोध प्रदर्शन गर्दै छ ।