शुक्रबार १० बजेसम्मका प्रमुख १० खबर

शुक्रबार, १३ कार्तिक, २०८३
डिजिटल संस्करण

‘प्रहरी’ भन्दै विनाअनुमति एक जत्था नयाँ पत्रिकामा प्रवेश, पत्रकार मैनालीलाई खोज्दै [भिडियाेसहित]

आफूहरूलाई नेपाल प्रहरी बताउने एक जत्था नयाँ पत्रिकाको कार्यालयमा प्रवेश गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख सन्तोष खड्काको आदेश भन्दै सातजनाको समूह नयाँ पत्रिकामा प्रवेश गरेको हो।

समाचार लेखेकै आधारमा पत्रकार नवराज मैनालीलाई कार्यालयमा उपस्थित गराउन भन्दै उक्त समूहले धरपकड गर्ने प्रयास गरेको छ। अहिले सो टोली मैनालीलाई लिएर जाने भन्दै समाचार कक्षमा रहेको छ।

प्रहरी प्रवक्ता भन्छन्– नयाँ पत्रिकामा प्रहरी पठाएकोबारे जानकारी छैन

नेपाल प्रहरीका प्रवक्ता डिआइजी अविनारायण काफ्लेले नयाँ पत्रिकाको कार्यालयमा प्रहरी पठाइएको विषयमा जानकारी नभएको बताएका छन्।

विनाअनुमति सादा पोसाकमा समाचार कक्षबाटै पक्राउको प्रयास गरेको विषयमा नयाँ पत्रिकाले गरेको प्रश्नमा डिआइजी काफ्लेले आफूलाई जानकारी नभएको भन्दै महाशाखामै बुझ्न आग्रह गरे। 

उनले भने, ‘मलाई त्यस विषयमा जानकारी छैन। अहिलेलाई अपराध महाशाखामै बुझ्दा राम्रो होला । म विषय बुझेर मात्र भन्न सक्छु।’

समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गरिएकोप्रति रास्वपाको आपत्ति, विनासर्त रिहाइको माग

विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूलाई समाचार प्रकाशित गरेकै आधारमा प्रहरी कार्यालयमै पुगेर नियन्त्रणमा लिएको तथा अन्य पत्रकारको खोजी भइरहेको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गम्भीर आपत्ति जनाएको छ।

पार्टीले प्रेस स्वतन्त्रतामाथि हुने कुनै पनि प्रकारको हस्तक्षेप नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकारमाथिको प्रहार भएको उल्लेख गरेको छ। लोकतन्त्रमा स्वतन्त्र, सक्षम र उत्तरदायी संस्थाहरूको महत्त्वपूर्ण भूमिका रहने भन्दै सञ्चार जगत् नागरिकको आवाज मुखरित गर्ने प्रमुख माध्यम भएको रास्वपाको भनाइ छ।

जनदबाबपछि रिहाइ होइन, कानुनविपरीत पक्राउ र पत्रकारमाथिको ‘ह्यारेसमेन्ट’ बन्द गर : नेपाली कांग्रेस

विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिने र जनदबाबपछि मात्रै रिहा गर्ने सरकारी प्रवृत्तिप्रति नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विज्ञप्ति जारी गर्दै कानुनविपरीत पत्रकार पक्राउ गर्ने, धरपकड गर्ने र सञ्चारगृहमा प्रहरी हस्तक्षेप गर्ने कार्य तत्काल बन्द गर्न सरकारसँग माग गरेका छन्।

सञ्चारकर्मीमाथिको धरपकड फासीवादी प्रवृत्ति : एमाले

नेकपा (एमाले)ले सञ्चारगृहमा छापा मार्ने र सञ्चारकर्मीलाई पक्राउ गर्ने सरकारी कदमको विरोध गर्दै यसलाई फासीवादी प्रवृत्तिको संज्ञा दिएको छ।

शुक्रबार विज्ञप्ति जारी गर्दै एमाले नेता नीरज आचार्यले सञ्चारकर्मीमाथि भइरहेको धरपकड र सञ्चारगृहमा छापा मार्ने कार्य निन्दनीय तथा अलोकतान्त्रिक भएको बताएका हुन्।

एमालेले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै सञ्चारमाध्यममाथिको हस्तक्षेपले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकमाथि प्रहार गरेको जनाएको छ।

राज्यका निकायहरू कानुनी शासनको दायरामा रहनुपर्नेमा सरकारले नै लोकतान्त्रिक मूल्य र मान्यताविपरीत दमनकारी व्यवहार देखाउनु गम्भीर चिन्ताको विषय भएको विज्ञप्तिमा उल्लेख छ। सुशासनको नाममा दमन र लोकतन्त्रको नाममा निरंकुशता स्वीकार्य नहुने एमालेको भनाइ छ।

सरकारले निंकुशता र फाशिष्ट चरित्रको नांगो रूप देखायो : नेकपा

नेकपाले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गरेर निरंकुशता र फाशिष्ट चरित्रको नांगो रुप देखाएको भन्दै बिरोध र भत्र्सना गरेको छ। ‘सरकारले पत्रकारहरुलाई जथाभावी गैरकानुनी ढंगले पक्राउ गरेको घटना र संचार माध्यममाथिको हस्तक्षेप निन्दनीय छ।

संविधान र कानुनविपरित छ। यस घटनाबाट सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजिरहेको पुष्टि भएको छ’ प्रवक्ता प्रकाश ज्वालाले भने,‘यो सरकारको निरंकुशता र फाशिष्ट चरित्रको नांगो रुप हो । हाम्रो पार्टी पत्रकारहरुमाथिको गैरकानुनी धरपकड र संचारमाध्यममाथिको हस्तक्षेप तथा निरंकुश कदमको कडा शब्दमा भत्र्सना गर्दछ ।’

राष्ट्रिय निर्देशन ऐन पालना नगरेको भन्दै गृह मन्त्रालयले गर्यो एनप्याब्सनलाई निलम्बन

सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन)लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ।

गृह मन्त्रालयका अनुसार राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम दिइएको निर्देशन पटक–पटक पालना नगरेको तथा संस्थाका पदाधिकारीले स्वीकृत विधान र मूल उद्देश्यविपरीतका गतिविधि गरेको पाइएपछि निलम्बन गरिएको हो।

वर्षाले जनजीवन प्रभावित [फोटोफिचर]

 बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले शुक्रबार काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा वर्षा भएको छ। वर्षाका कारण काठमाडौं उपत्यकाको जनजीवन प्रभावित बनेको छ। 

सर्वसाधारण छाता र रेनकोट ओढेर गन्तव्यतर्फ लागेको देखिन्छ भने सडकमा सवारीसाधनको आवागमनसमेत प्रभावित भएको छ।

कान्ति लोकपथमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोक

बंगालको खाडीमा विकसित चक्रवात अर्नबको प्रभावले मकवानपुरमा निरन्तर वर्षा भएपछि जिल्ला प्रशासन कार्यालयले कान्ति लोकपथमा रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ । 

सम्भावित बाढीपहिरोबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न कात्तिक १३ र १४ गते बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको हो ।

नेपालका ६ थप हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ ले  विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा नेपालका थप ६ हिमाललाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन पहल अघि बढाएको बताएका छन् ।

नेपाल पर्वतारोहण संघ (एनएमए) मार्फत विश्व पर्वतारोहण तथा आरोहण महासंघ (युआइएए) को सन् २०२६ को साधारणसभामा मन्त्री पौडेलले उक्त प्रस्ताव अघि सारेका हुन् । 

 

 

सुझावित समाचार