‘म्युजिकल चेयरजस्तो बनेको राजनीतिले सबै दल र नेता गलत हुन् भन्ने सन्देश गयो’

आइतबार, १८ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा उही अनुहार दोहोरिरहने प्रवृत्तिले नेपालको राजनीति ‘म्युजिकल चेयर’जस्तो बनेको बताएका छन्। यस्तो प्रवृत्तिले सबै राजनीतिक दल र नेता खराब छन् भन्ने सन्देश गएको र त्यसकै परिणामस्वरूप २३ र २४ भदौ आएको उनको भनाइ छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री बनेका व्यक्ति फेरि प्रधानमन्त्री बन्न खोज्ने, नेता बनेका व्यक्ति फेरि नेतृत्वमा दोहोरिरहने र मन्त्री बनेका व्यक्ति पनि पटक-पटक सत्तामा जाने प्रवृत्तिले जनतामा राजनीतिप्रति वितृष्णा बढाएको बताए।

राजनीतिक दल र नेतृत्वप्रतिको असन्तुष्टि बढ्दै गएर ‘भुसको आगो’जस्तो बनेको उल्लेख गर्दै थापाले भने, ‘यो भुसको आगोले सबैलाई एकैपटक खायो।’

राजनीतिक दलहरूले बदलिँदो जनभावना र असन्तुष्टिलाई समयमै बुझ्न नसक्दा भदौ २३ र २४ गतेको परिस्थिति आएको स्पष्ट पार्दै सभापति थापाले भने, ‘यसले कांग्रेस र अन्य पार्टीका नेता र कार्यकर्ता पनि भिक्टिम भए। तर पनि हामी सम्हालिनुपर्छ भनेर विशेष महाधिवेशनमा गयौँ।’ 

थापाले १५औँ महाधिवेशनलाई विगतका कमजोरीको समीक्षा गर्दै कांग्रेसलाई नयाँ राजनीतिक यात्रामा अघि बढाउने अवसरका रूपमा लिनुपर्ने बताए। जनतामा बढेको राजनीतिक वितृष्णा र दलहरूप्रतिको अविश्वास चिर्न कांग्रेसले आफ्नो नेतृत्व, व्यवहार र राजनीतिक कार्यशैलीमा परिवर्तन गर्नुपर्ने उनको भनाइ छ।

सुझावित समाचार