संविधान, प्रेस स्वतन्त्रता र अन्तर्राष्ट्रिय कानुनहरूको उल्लंघन : महासंघ

शनिबार, १४ कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडाैं- नेपाल पत्रकार महासंघले नयाँ पत्रिका, नेपालप्रेसको समाचार कक्षभित्रै विनाअनुमति प्रहरीको प्रवेश र पत्रकार धरपकड सरकारले राज्य आतंक सुरु भएको भन्दै कडा शब्दमा भर्त्सना गरेको छ । संविधान र कानुनविपरीत पत्रकारलाई जबर्जस्ती समाचार स्रोतसमेत खोल्न दबाब दिने प्रयासले लोकतन्त्र, संविधान र कानुनलाई नै ठाडो चुनौती दिइएको भन्दै महासंघले सरकारको निरंकुश कदमविरुद्ध एकजुट हुन आह्वान गरेको छ ।

‘हरेक समाचार कक्षमा बर्दीधारी प्रहरी गएर समाचार कक्षबाट पत्रकारलाई उठाउने (नियन्त्रणमा) लिने कुरा नेपालको संविधान, प्रेस स्वतन्त्रता र अन्तर्राष्ट्रिय कानुनहरूको उल्लंघन हो,’ महासचिव रामप्रसाद दाहालले भने, ‘यस्तो निरंकुश दमनविरुद्ध राज्यका सबै पक्ष एक जुट भएर प्रतिवादमा उत्रिनुपर्छ ।’

त्यस्तै, प्रेस काउन्सिल नेपालले प्रहरीले पत्रकारमाथि धरपकडको प्रयास गरेर आफ्नो अधिकार क्षेत्रमाथि हस्तक्षेप गरेको भन्दै विरोध गरेको छ । उसले पक्राउपुर्जीविनै र अदालतको अनुमतिविनै पक्राउ गर्न खोज्नु गम्भीर विषय भएको जनाएको छ । ‘पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको, अदालतको अनुमति लिइएको नदेखिएको तथा अपराधको जाहेरी परेको विषयसमेत स्पष्ट नभएको अवस्थामा लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि यसरी पत्रकारहरूलाई नियन्त्रणमा लिइनु गम्भीर आपत्तिको विषय हो । प्रहरी प्रधान कार्यालयबाट जारी विज्ञप्तिको पृष्ठभूमिमा भएको यस घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ,’ काउन्सिलले भनेको छ ।

त्यस्तै, सञ्चारमाध्यममा प्रकाशित समाचार सामग्रीप्रति असहमति वा आचारसंहितासम्बन्धी उजुरी भएमा त्यसको छानबिन, अनुगमन र निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिल नेपालको भएको भन्दै उसले भनेको छ, ‘समाचारकै विषयमा सिधै प्रहरी परिचालन गर्नुको सट्टा काउन्सिलको स्थापित विधि र प्रक्रियाबाट समाधान खोज्न नेपाल सरकार, प्रहरी प्रशासन तथा सम्बद्ध सबै पक्षलाई काउन्सिल आग्रह गर्दछ ।’

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले समाचार कक्षभित्रै प्रवेश गरेर पत्रकारमाथिको धरपकड र आतंकपूर्ण वातावरणले सरकारको निरंकुश चरित्र प्रदर्शित भएको भन्दै त्यस्तो कदम नसच्याइए कडा आन्दोलन गरिने चेतावनी दिएका छन् ।

प्रेस युनियनका महासचिव दिलीप पौडेलले घटनाको भर्त्सना गरेका छन् । समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने, सञ्चारगृहमा प्रहरी परिचालन गरी त्रास सिर्जना गर्ने कार्य संविधानप्रद्धत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको युनियनको ठहर छ ।

त्यस्तै, पत्रकार महासंघ नयाँ पत्रिका शाखाले पनि विज्ञप्ति जारी गरी घटनाको घोर भर्त्सना गरेको छ । त्यस्तै, फोटो पत्रकार क्लबका महासचिव अमुल थापाले पनि घटनाको भर्त्सना गर्दै संविधानप्रदत्त अधिकारको प्रत्याभूत गर्न माग गरेको छ ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षद्वय शिव गाउँले र महेन्द्र विष्टले पत्रकारमाथि धरपकड र सञ्चार माध्यममा प्रहरी हस्तक्षेप निन्दनीय भनेका छन् । ‘समाचार स्रोत पत्ता लगाउन भनेर प्रहरी मिडियाको समाचार कक्षमा छिरेको अवस्थाले मुलुकमा संविधान नै समाप्त भएको अवस्था मान्नुपर्ने हुन्छ, यो त निकै गम्भीर घटना हो,’ गाउँलेले भनेका छन् ।

पत्रकार धरपकड घटनाबाट संविधान र लोकतन्त्रको हुर्मत लिने काम भएको उल्लेख गर्दै विष्टले भनेका छन्, ‘प्रेस स्वतन्त्रता विरोधी यस्तो हर्कत तत्काल बन्द गरियोस् ।’

वरिष्ठ पत्रकार सुधीर शर्माले समाचार कक्षमा प्रहरी छिरेर पत्रकारहरूलाई धरपकड गर्नु विद्यमान कानुन र संविधानको सरासर बर्खिलाफ भएको भन्दै प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालय नै जिम्मेवार दिएको बताएका छन् । ‘प्रधानमन्त्री कार्यालयले यो घटनामा आफ्नो संलग्नता र जानकारी नरहेको भनेर मात्र पुग्दैन । कुनै पनि सरकारी निकायले चाल्ने कदम स्वतः सरकारको जिम्मेवारीभित्र पर्न आउँछ । त्यसैले यसबाट सरकार पन्छिन मिल्दैन,’ शर्माले भनेका छन् । 

सुझावित समाचार