समाजशास्त्री प्रकाश राईलाई ३ प्रश्न

शुक्रबार, ३० असोज, २०८३
प्रिन्ट संस्करण

हाम्रो समाजमा दसैँको प्रभाव कस्तो देखिन्छ ?
हाम्रो समाजमा दसैँको प्रभाव बहुआयामिक देखिन्छ । दसैँले समाजमा सामाजिक, सांस्कृतिक तथा आर्थिक प्रभाव पार्ने गर्छ । यसले समाजमा भाइचाराको सम्बन्ध स्थापित गर्छ । दसैँले सामाजिक पुँजी निर्माण र पुनर्निर्माणमा सघाउँछ । यसले सामाजिक पहिचान निर्माण र पुनर्निर्माणमा पनि सकारात्मक प्रभाव पार्छ । तर, यो प्रभाव सिंगो नेपाली समाजमा भने देखिन्न ।

खासगरी मधेशमा दसैँको अवसरमा दुर्गापूजाको भव्य रौनक देखिए पनि टीकाटालो गर्ने चलन भने छैन । तर, पहाडतिर भने यसको विशेष महत्व देखिन्छ । दसैँमा राज्यले लामो बिदा दिन्छ । सरकारी तथा निजी क्षेत्रका कर्मचारीलाई नियमित पारिश्रमिकका अतिरिक्त दसैँ बोनससमेत दिइन्छ । यसले गर्दा पनि समाजमा दसैँको विशेष प्रभाव देखिन्छ । 

दसैँले हाम्रो समाजलाई जोड्न कसरी सघाएको छ ?
विश्वव्यापीकरण र बजार अर्थतन्त्रको प्रभावमा हाम्रा समाज र घरपरिवार बिस्तारै विखण्डित हुँदै छन् । अध्ययन, रोजगारी या व्यवसायका कारण छिन्नभिन्न भइरहेको समाज र घरपरिवारलाई जोड्ने काम पनि दसैँले गरिरहेको छ । दसैँको अवसरमा देशभित्र र बाहिरबाट लाखौँ नेपाली घरपरिवार सम्झेर फर्किन्छन् । यसले घरपरिवार, आफन्त र साथीसँगीसित भेटघाट र पुनर्मिलनको अवसर जुटाउँछ । सामाजिक सम्बन्ध नवीकरणका अवसरसमेत दसैँका कारण जुर्ने गर्छ । 

अहिलेको हाम्रो सामाजिक संरचनाले दसैँलाई कुनै असर पारेको देख्नुहुन्छ कि ?
अहिलेको दसैँ हिजोको जस्तो छैन । रोजगारी, व्यवसाय या अध्ययनका क्रममा नेपालीहरू विभिन्न देशमा पुगिरहेका छन् । जसले गर्दा दसैँमा घर फर्किन चाहँदैमा पनि सबैलाई सम्भव हुँदैन । त्यसले गर्दा एकातिर हाम्रो दसैँ ‘भर्चुअल’ बन्दै छ भने अर्कातिर नेपालीहरू जो–जो जहाँजहाँ पुगेका छन्, त्यहीँ नै आपसमा मिलेर रमाइलो गरी दसैँ मनाउने चलन सुरु भएको छ । यसले विश्वका विभिन्न देशमा दसैँकै कारण ‘मिनी नेपाल’ निर्माण भइरहेको छ । यसका साथै, विश्वव्यापीकरणको प्रभावमा दसैँ वस्तुकृत पनि हुँदै गएको छ । 

सुझावित समाचार