कास्की/ संयुक्त अरब इमिरेट्सको वायुसेवा कम्पनी फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा थप सात महिना उडान सेवा दिने भएको छ । फ्लाई दुबईले पोखरा–दुबई दोहोरो उडान गर्न आउँदो एक वर्षसम्मका लागि टिकट बुकिङ खुला गरेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट दुबई–पोखरा, पोखरा–दुबई उडानका लागि गत २५ जेठमा फ्लाई दुबईले अनुमति पाएको थियो ।
७ असोज (२३ सेप्टेम्बर)बाट उडान सुरु गर्ने गरी २८ जेठमा दुबई–पोखरा, पोखरा–दुबई उडानका लागि टिकट बुकिङ खुला गरेको थियो । सुरुमा ७ असोजदेखि १२ चैत ०८३ (२३ सेप्टेम्बर २०२६ देखि २६ मार्च २०२७) सम्म ६ महिनाका लागि टिकट बुकिङ खुला गरिएको थियो । अहिले त्यसलाई सात महिना बढाएर आउँदो १३ कात्तिक ०८४ (३० अक्टोबर २०२७) सम्मका लागि थप गरिएको छ ।
फ्लाई दुबईका सेल्स एजेन्टमध्येका एक पोखरास्थित नमस्ते ट्राभल्सका प्रबन्ध निर्देशकसमेत रहेका पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले कम्पनीले टिकट बुकिङको समय बढाएर आउँदो १३ कात्तिक ०८४ सम्म पुर्याएको बताए ।
दुवई–पोखरामा यात्रुको चाप बढेसँगै टिकट बुकिङको समय बढाएको उनले बताए । अहिलेभन्दा दसैँपछि आउने र जानेको संख्या बढ्दो रहेको उनको भनाइ छ । दुबई जान र आउनका लागि काठमाडौंबाट भन्दा पोखराबाट टिकट मूल्यमा पाँच हजार कम रहेकाले पनि यात्रुको चाप पोखरामा बढ्दै गएको हो ।
दुबईलाई ट्रान्जिट बनाएर विश्वका दुई सय ५० भन्दा बढी देशमा जान सकिने भएकाले गण्डकी प्रदेशसँगै छिमेकी जिल्लाका यात्रुले उडानका लागि पोखरालाई रोजेको उनको भनाइ छ । बुकिङको समय थपिएसँगै अब उडान नियमित सञ्चालन हुनेमा पर्यटन व्यवसायी ढुक्क भएको श्रेष्ठले बताए ।
६ महिनाका लागि गरिएको अफर बढाएर कात्तिकसम्म पुर्याउनु खुसी र सकारात्मक रहेको पोखरा महानगरका मेयर धनराज आचार्यले बताए । यसले उडानलाई नियमित बनाउँछ भन्ने संकेत गरेको उनको भनाइ छ । पोखराबाट नियमित उडान सुरु भए पनि धेरैलाई जानकारी नभएकाले सबै मिलेर सूचनाप्रवाह गर्न आवश्यक रहेको उनले बताए ।
महानगरले वैदेशिक रोजगार व्यवसायीसँग यसबारेमा छलफल गरिसकेको मेयर आचार्यले बताए । हाल उडान आउने र जाने समयको अन्तर एक घण्टा मात्र रहेकोमा त्यसलाई बढाएर दुई घण्टा बनाउने तयारी भइरहेको छ । यसले पनि यात्रुको संख्या बढाउन सहयोग गर्ने आचार्यले बताए ।
१७ पुस ०७९ मा उद्घाटन गरिएको विमानस्थलमा ११ फागुन ०८० मा इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) लागू भएपछि अन्तर्राष्ट्रिय उडान र रात्रिकालीन उडानका लागि तयार भएको थियो । १८ फागुन ०७९ देखि रात्रिकालीन उडान सुरु भएको विमानस्थलमा चार्टर्ड उडान भए पनि नियमित अन्तर्राष्ट्रिय उडान भने हुन सकेको थिएन ।
पोखरामा पहिलोपटक ६ असार ०८० मा चीनको छेन्दु विमानस्थलबाट आएको सिचुवानको न्यारोबडी ए–३१९ विमानले चार्टर्ड उडानमार्फत पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान भरेको थियो । त्यसपछि २३ भदौ ०८० मा भुटानको ‘ड्रुक एयर’ले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडानसँगै पोखराबाट पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भरेको थियो ।
पारोबाट चालक दलका सात र तीन पर्यटकसहित १० जना लिएर आएको विमानले पोखराबाट ४२ यात्रु र चालक दलका सात गरी ४९ जना लिएर थिम्पुका लागि उडान भरेको थियो, जुन पोखराबाट भएको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान थियो । त्यसपछि विभिन्न मितिमा पोखरामा चार्टर्ड उडान हुँदै आएकोमा ७ असोजदेखि फ्लाई दुबईले व्यावसायिक उडान सुरु गरेसँगै यसले केही आशासँगै पोखरालाई चलायमान बनाउने काम गरेको छ । फ्लाई दुबईले हाल १६५ यात्रु क्षमताको बोइङ ७३७ म्याक्स ८ जहाजबाट दुबई–पोखरा–दुबई उडान गर्दै आएको छ ।
उडान सुरु भएसँगै उडानमार्फत आउने यात्रुहरूलाई लक्षित गर्दै पोखराका पर्यटन व्यवसायीले विभिन्न सेवामा छुट प्याकेजसमेत दिइरहेका छन् ।सरकारले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने वायुसेवा कम्पनीलाई आकर्षित गर्नका लागि भदौ ०८५ सम्मका लागि पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्कमा शतप्रतिशत तथा ग्राउन्ड ह्यान्डलिङ सेवाको शुल्कमा ५० प्रतिशत छुट एवं सहुलियतको घोषणा गरेको छ ।
फ्लाई दुबईले आफ्नो उडानको समय बढाएर निरन्तरता दिनुले पोखरालाई चलायमान बनाएको होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । उडानको समय थपिएसँगै यसले पर्यटन क्षेत्रमा मात्र नभएर समग्र क्षेत्रमा उत्साह थपेको उनको भनाइ छ ।
हरेक दिन १८:१५ बजे पोखरा अवतरण गर्ने फ्लाई दुबईले पोखराबाट १९:१५ बजे दुबईका लागि उडान भर्ने गरेको छ । ७ असोजदेखि हालसम्म गरी उडानमार्फत पोखरामा करिब तीन हजार पाँच सयको हाराहारीमा यात्रु आएका छन् भने पोखराबाट एक हजार आठ सयको हाराहारीमा यात्रुहरू गएका छन् ।