नबिल बैंकले सञ्चालनमा ल्यायो भर्चुअल क्रेडिट कार्ड

शुक्रबार, ३० असोज, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ नबिल बैंक लिमिटेडले डिजिटल बैंकिङ अनुभवलाई थप सहज, सुरक्षित र आधुनिक बनाउन ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । २९ असोजदेखि सुरु गरिएको भर्चुअल क्रेडिट कार्ड बैंकको एनबैंक एपमार्फत प्राप्त तथा प्रयोग गर्न सकिने बताइएको छ ।

बैंकका अनुसार ग्राहकले क्रेडिट कार्डका लागि कागजी प्रक्रिया तथा झन्झट व्यहोर्नुपर्नेछैन । बैंकको एनबैंक एपको होमपेजमा रहेको ‘अपलाई नाउ’ अप्सनमार्फत भर्चुअल क्रेडिट कार्डका लागि आवेदन दिन तथा प्राप्त गर्न सक्नेछन् । साथै, दैनिक आवश्यक विभिन्न डिजिटल कारोबारमा यसको प्रयोग गर्न सक्नेछन् ।

डिजिटल स्वरूपमा उपलब्ध यो क्रेडिट कार्ड ग्राहकलाई छिटो, सुरक्षित तथा झन्झटरहित रूपमा कर्जा सुविधा उपयोग गर्ने अवसर प्रदान गर्न डिजाइन गरिएको बैंकको भनाइ छ । यसमार्फत ग्राहकले मोबाइल बैंकिङ एपबाटै क्रेडिट कार्ड प्राप्त गरी दैनिक कारोबार सुरक्षित र सहज रूपमा गर्न सक्नेछन् ।

बैंकले आफ्नै डेटामा आधारित विश्लेषणात्मक प्रणालीमार्फत योग्य ग्राहकलाई पूर्वस्वीकृत गरिसकेको छ । योग्य ग्राहकले एपको होमपेजमा स्वचालित रूपमा ‘अपलाई नाउ’ अप्सन देख्न सक्नेछन् । भर्चुअल क्रेडिट कार्ड फोनपे मर्चेन्ट क्युआरमार्फत गरिने क्युआरमा आधारित भुक्तानीका लागि प्रयोग गर्न सकिनेछ ।

नबिल बैंकले ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ नेपालको डिजिटल बैंकिङ यात्रामा एक महत्वपूर्ण उपलब्धिका रूपमा स्थापित हुने विश्वास लिएको छ ।

सुझावित समाचार