दूरपश्चिमवरपरको क्षेत्रलाई मानसखण्ड पनि भन्ने गरिन्छ । यो पूर्वमा कर्णालीदेखि पश्चिमको कुमाउ क्षेत्रसम्म फैलिएको छ । जानकारका अनुसार उत्तराखण्ड, कुमाउ (भारत)को नन्द पर्वतदेखि कर्णालीको काकगिरिसम्मको भूगोल मानवखण्ड हो । मानस क्षेत्रमा डोट्यालीसहित कुमैङ्ढया र सिँजाली भाषा बोलिन्छन् । सुदूरपश्चिमको डोट्याली भाषा, साहित्यको साम्राज्य कर्णाली र कुमाउसम्म फैलिएको छ । यद्यपि, बोलीचालीको डोट्याली भाषा बहुआयामिक छ । भूगोलमा खोलावारि र पारिको डोट्याली भाषा भिन्न भिन्न सुनिन्छ । डोट्याली भाषा र साहित्य ठाउँअनुसार फरक हुँदै गएको देखिन्छ । यसको लामो इतिहास रहेको अध्येताहरू बताउँछन् ।
पछिल्लो राष्ट्रिय जनगणना(२०७८) अनुसार देशभरि बोलिने एक सय २४ मातृभाषामध्ये सबैभन्दा बढी बोलिने सूचीमा डोट्याली १०औँ नम्बरमा छ । यो जनगणनाअनुसार बैतडेली, बझाङ्गी, डडेल्धुरेली, अछामी, बाजुरेली, दार्चुलेली भाषा बोल्नेहरूको संख्यालाई छुट्टाछुट्टै तथ्यांकमा राखिएको छ । यो क्षेत्रको लोकसाहित्य, परम्परा र भाषाको प्रकृति हेर्दा यी सबै डोट्याली समूहकै मातृभाषा हुन् भन्न सकिन्छ ।
डोट्याली भाषाको अन्तर्राष्ट्रिय सूचीकरण
कञ्चनपुरको महेन्द्रनगरबाट २९ वर्षदेखि प्रकासन भइरहेको डोट्याली मासिक साहित्यिक पत्रिका गुगुल्डीमा एउटा स्लोगन छ ‘गुगुल्डिः भट्कना, ह्याःँक, धोको ।’ डोट्याली भाषाको यो शब्दावलीले ‘मृगतृष्णा, रहर, धोको’ भन्ने नेपाली अर्थ दिन्छ । पछिल्ला तीन दशकमा झन्डै साढे तीन सय अंक प्रकाशन गरी यो क्षेत्रको समसामयिक लोक साहित्यमा महत्वपूर्ण योगदान पुर्याउने गुगुल्डी एक प्रतिनिधि उदाहरण मात्र हो । डोट्याली भाषा, साहित्य क्षेत्रको इतिहासदेखि वर्तमानसम्म कैयौँ सम्झनलायक गतिविधि भएका पाइन्छन् ।
बीस वर्षसम्मको निरन्तर अध्ययन, डोट्याली भाषाका पुस्तक, पत्रपत्रिका र अगुवा सर्जकसँगको समन्वयपछि डोट्याली साहित्यकार तथा अध्येता आर.डी.प्रभास चटौतले अढाइ दशकअघि ४० हजार शब्दको ‘डोट्याली शब्दकोश’ प्रकाशन गरे । डोट्याली भाषामा केही पुस्तक आफैँले लेखे । अरू सयौँ पुस्तक संकलन गरे । उनले यो भाषालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सूचीकृत गर्नका लागि अनुकरणीय प्रयासको थालनी गरे ।
डोट्याली भाषाका दसौँ हजार मौलिक शब्द छन् । यो भाषाको आफ्नै व्याकरण छ । डोट्याली लोक साहित्यका लोक कथा, लोक गायन, ऐतिहासिक गाथा, आइना, बातै छन् । भूगोल, जनसंख्या, ऐतिहासिक तथा सांस्कृतिक प्रचलन र लिखित साहित्यको आधारमा डोट्याली भाषाले अन्तर्राष्ट्रिय मान्यता पाउन सफल भयो । ‘मैले निकै मिहिनेत गरेँ, दसौँ वर्षको प्रयासपछि डोट्याली भाषाले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्यो,’ ९१ वर्षीया चटौत भन्छन् । यो काममा प्राध्यापक माधव पोखरेलको ठुलो सहयोग रहेको चटौत बताउँछन् । चटौत स्वयंले पनि डोट्याली साहित्यका चारवटा पुस्तक लेखेका छन् ।
सन् २०१२ मा डोट्याली भाषालाई अन्तर्राष्ट्रिय मानकीकरण संगठन (आइएसओ : इन्टरनेसनल अर्गनाइजेसन फर स्ट्यान्डरडाइजेसन)ले ‘सिक्स थ्रीनाइनथ्री डिटिवाई’ कोड प्रदान गर्यो । यो सँगै डोट्याली भाषा अन्तराष्ट्रिय मान्यता प्राप्त भाषा भयो ।
डोट्याली भाषा र साहित्यको विकासक्रम
डोट्याली भाषामा लामो लेखन परम्परा भएको साहित्य भेटिन्छ । डोट्याली साहित्यका अध्येता डा. पुष्करराज भट्टका अनुसार यो भाषाको विकासक्रमलाई तीन भागमा विभाजन गरिएको छ । मानसखण्ड क्षेत्रको लोक साहित्य (डोट्याली साहित्य) र भाषाको प्रारम्भिक काल (वि.सं. ९००–१४००), माध्यमिक काल (वि.सं. १४००–२०००) र आधुनिक काल (वि.सं. २००० देखि हालसम्म) रहेको उनी बताउँछन् ।
यस क्षेत्रका अग्रज लेखक तथा अनुसन्धानकर्ता पञ्चमराज भट्टले डोट्याली भाषा र साहित्यको विकासक्रमलाई विस्तृत रूपमा औँल्याएका छन् । उनका अनुसार नवौँ शताब्दीदेखि एघारौँ शताब्दीसम्म डोट्याली भाषा अपभ्रंशबाट छुट्टिसकेको अनुमान गरिन्छ । सिञ्जाली, कुमाउनी(कुमइøया) र डोट्याली भाषा सँगसँगै विकास भएका भाषा मानिन्छन् । अभिलेखअनुसार वि.सं. १०३८ को दामुपालको शिलालेखलाई पुरानो नेपाली भाषाको नमुनाको रूपमा स्विकार गरिएपछि डोट्याली पनि पुरानो भाषाबाट छुट्टिएर नौलो रूपमा आएको भन्न सकिन्छ ।
त्यस्तै माध्यमिक काल डोटी क्षेत्र नेपाल राष्ट्रमा समाहित नहुँदासम्मको अवधिलाई मानिएको छ । योे कालमा डोट्याली भाषामा लेखिएका कतिपय अभिलेख (शिलालेख, ताम्रपत्र, कनकपत्र) आदि विद्वान्हरूले खोजेका छन् । डोटी क्षेत्रको अभिलेखमा ‘पाषाणे क्षीयते रेखा..।...मल्ल भाषा नक्षीयते’ लेखिएको देखेर कतिपय विद्वान्ले त्यतिवेला डोटेली भाषाको नाम मल्ल भाषा थियो र डोटी क्षेत्रका राजाहरूले यो कहिले नाश नहुने भाषा भनिएको दाबी गरेका छन् । पञ्चमराज भट्टले महाकाली साहित्य संगमका लागि तयार पारेको कार्यपत्रमा उल्लेख गरेअनुसार ‘पूर्ण प्रकाश नेपाल ‘यात्रीले’ ‘‘नेपालीका उपभाषिका’’ शीर्षक लेखमा डोटेली शाके १२०१, संवत् १३३६ को नमुना प्राप्त भएको उल्लेख गरेका छन् र यसैलाई यस भाषाको उपलब्ध सबभन्दा पुरानो नमुना मानिन्छ । सं. १३३६ देखि लिएर डोटी राज्य नेपाल अधिराज्यभित्र गाभिन्जेलसम्मका हजारौँको संख्यामा यस भाषामा लेखिएका अभिलेख (शिलालेख, ताम्रपत्र, कनकपत्र आदि) उपलब्ध भइसकेका छन् । यस कालका राजाले यसलाई राजकाजको भाषाको रूपमा स्विकारेर ‘मल्ल भाषा’ पनि भनेको पाइन्छ ।’
वि.सं. २००० देखि यताको आधुनिक कालखण्डमा डोट्याली भाषा, साहित्यको विकास तीव्र रूपमा भएको पाइन्छ । यो क्षेत्रको लोकसाहित्य एवं संस्कृतिको अध्ययन, अनुसन्धान र लेखनले डोट्याली भाषाको विकासमा योगदान रहेको पाइन्छ । आधुनिक कालमा कृति प्रकाशन र भाषासम्बन्धी गोष्ठी, सेमिनारहरूको आयोजना भएका छन् । डोट्याली भाषाका साहित्यिक पत्रिका प्रकाशनमा आएका छन् । पुस्तक लेखनमार्फत अग्रज व्यक्तिले डोट्याली भाषा, साहित्यको विकासलाई उचाइमा पुर्याउने काम गरेका छन् । रामबहादुर चन्दको ‘लोकगीत संग्रह’ २०१७ पहिलो कृतिको रूपमा देखिन्छ । त्यसपछि वीरेन्द्रकुमार मल्लिकको लोकगीत संग्रह (२०१८), गजेन्द्रबहादुर शाहीको लोकगीत संग्रह (फागु, सगुन, ड्यौडा), लालमणि जोशीको ‘गमरादेवीको गीत’जस्ता कृतिलाई डोट्याली साहित्यका प्रारम्भिक प्रकाशनका रूपमा लिइन्छ ।
विसं. २०४० को दशकपछि डोट्याली कृति प्रकाशन हुने क्रम बढेको अध्येताहरू बताउँछन् । डोट्याली भाषाका अध्येता डा. भट्टका अनुसार ‘बडुवा रे माखो’ धरतीकी जून, ‘हमरी संस्कृति तथा लोकसंस्कृति’ ‘खिचडी’, ‘झ्यारी’, ‘उजड्डी किर्मुली प्वाँख’जस्ता विभिन्न विधाका कृति प्रकाशनमा आए । डोट्याली साहित्यिमा पत्रिकाको प्रकाशन २०५० को दशकबाट सुरु भयो । त्यो समय प्रकाशनमा आएका डोट्याली साहित्यिक पत्रिका ‘घुघुती’, ‘प्याउली’, ‘रामराज्य’, ‘रैबार’लगायत प्रकाशनमा आए, तर निरन्तरता पाउन भने सकेनन् ।