उदयपुरबाट १०औँ राष्ट्रिय खेलकुदका लागि खेलाडी छनोट सुरु

आइतबार, २५ असोज, २०८३
डिजिटल संस्करण

उदयपुर । कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा उदयपुरको प्रतिनिधित्व गर्ने खेलाडी छनोट सुरु गरिएको छ। जिल्ला खेलकुद विकास समिति उदयपुरका सचिव प्रकाशराम राईका अनुसार २१ खेलका लागि जिल्लाबाट ३५७ जना खेलाडी छनोट गर्न लागिएको हो ।

उदयपुरबाट फुटबल, कबड्डी, भलिबल, ह्यान्डबल, क्रिकेट, तेक्वान्दो, उसु, एथलेटिक्स, ब्याडमिन्टन, टेबलटेनिस, बक्सिङ, भारोत्तोलन, सेपाकताक्रो, रग्बी, फुलकन्ट्याक्ट कराँते, सुटिङ, पौडी, साइक्लिङ, बास्केटबल र एक्सवास खेलका लागि खेलाडी छनोट गरिनेछ । 

सचिव राईले जिल्लास्तरीय छनोटको काम सुरु भइसकेको बताए। ‘हामीले छनोटको काम सुरु गरेका छौँ। सबै खेलका खेलाडी जिल्लाबाट छनोट भएपछि प्रदेशस्तरीय प्रतियोगितामा पठाउँछौँ। त्यहाँबाट छनोट भएका खेलाडीले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्,’ उनले भने ।

शनिबारदेखि गाईघाटमा छनोट प्रतियोगिता सुरु गरिएको हो । जिल्लास्तरीय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शनका आधारमा   प्रदेशको लागि छनोट हुनेछन्। राईका अनुसार असोज ३० र ३१ गतेभित्र जिल्ला छनोटको प्रक्रिया सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्नुका साथै जिल्लामा खेलकुदको विकास र नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यले पनि छनोट प्रतियोगितालाई महत्त्व दिइएको राईले बताए ।

सुझावित समाचार