लहान/ विद्युतीय तार सर्ट हुँदा सिराहाको गोलबजार नगरपालिका- ३, जमदह चोरपाने र विष्णुपुर गाउँपालिका- ४, बथान टोलमा छुट्टाछुट्टै भएको आगलागीमा चार पशुचौपाया जलेर मरेका छन् ।
विष्णुपुर गाउँपालिका- ४, बथान टोलमा शुक्रबार बिहान करिब डेढ बजेतिर स्थानीय वीरेन्द्र यादवको बाँसको भित्ता र फुसको छानो भएको गाईगोठ र भान्साघरमा विद्युतको तार सर्टको कारणले आगलागी हुँदा दुई गोरु र एक भैँसी जलेर मरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार आगलागी भएको खबर पाएलगत्तै प्रहरी चौकी बेलहाबाट प्रहरी हबल्दार उमेश पहाडीको कमान्डमा खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाको सहयोगमा पौने ३ बजेतिर आगो नियन्त्रणमा लिइएको हो । आगलागीमा भैँसी र गाेरु जलेर मर्नुका साथै भान्सामा रहेको अन्नपात, भाँडावर्तन जलेर नष्ट हुँदा करिब पाँच लाख रुपैयाँबराबरको क्षति भएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।
त्यस्तै, गोलबजार नगरपालिका- ३ स्थित नेवारकुनी चोरपाने गाउँका गंगाबहादुर सुनुवारको घरगोठमा शुक्रबार मध्यरातमा विद्युतीय मिटरमा सर्ट हुँदा भएको आगलागीमा एउटा गोरु जलेर मरेको छ भने अर्को गोरु घाइते रहेको गोलबजार प्रहरीले जनाएका छ।भुइँतलामा गोरु र माथिल्लो तलामा सुनुवार बस्ने जस्ताले छाएको दुईतले घरको आगलागीमा भएको क्षतिको पूर्ण विवरणसहितको घटनास्थल मुचुल्का उठाएर फर्किएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक दीपक खरेलले जानकारी दिए। उनका अनुसार आगलागीमा गोरु जलेर मर्नुका साथै अन्नपात, भाँडावर्तन जलेर नष्ट हुँदा करिब एक लाख ८० हजार रुपैयाँबराबरको क्षति भएको छ।
विंगरमा आगलागी
प्रहरीका अनुसार बिहीबार बिहान करिब पौने ४ बजेतिर धनगढीमाई नगरपालिका- १०, श्यामपुर टोलमा घरअगाडि पार्किङ गरेर राखिएको विंगरमा अचानक आगलागी भएको छ। स्थानीय देवकुमार यादवले आफ्नो घरअगाडि पार्किङ गरी राखेको ना. १ ज ७०७२ नम्बरको विंगरमा आगलागी भएको हो ।
आगलागीको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाको सहयोगमा बिहान सवा ४ बजेतिर आगो निभाइएको प्रहरीले जनाएको छ। पार्किङमा राखिएको विंगरमा अकस्मात् कसरी आगलागी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिँदै प्रहरीले विंगर आंशिक रूपमा जल्दा करिब अढाई लाख रुपैयाँबराबरको क्षति भएको जनाएको छ।