कञ्चनपुरमा सुरक्षित प्रजातिको अजिँगर फेला

बुधबार, २८ असोज, २०८३
डिजिटल संस्करण

कञ्चनपुर । कञ्चनपुरको उत्तरी चुरे क्षेत्रमा पर्ने एक बस्तीमा सुरक्षित प्रजातिको अजिँगर फेला परेको छ । भीमदत्त नगरपालिका– ९, ब्रह्मदेव मटैनास्थित एक बस्तीमा अजिँगर फेला परेको हो ।

स्थानीय हिरासिंह साउदको घरनजिकै फेला परेको अजिँगरको उद्धार गरिएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरका जमदार अर्जुन थापाको नेतृत्वमा गएको टोलीले अजिँगरको उद्धार गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडेको छ ।

डिभिजन वन कार्यालय कञ्चनपुरका जमदार थापाका अनुसार करिब साढे १२ फिट लामो र १९ किलो तौल भएको अजिँगरलाई बुधबार निकुञ्जमा छाडिएको हो । विषालु नभए पनि आहारा नपाएपछि अजिँगरले मानिसलाई बेरेर मार्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने उनले बताए ।

अजिँगर धानमा मुसा खानका लागि गाउँबस्तीमा पस्ने गरेको बताइएको छ । दक्षिण एसियाका नेपाल, भारतलगायतका देशमा पाइने अजिँगर संरक्षित जीव हो ।

जमदार थापाको नेतृत्वमा पछिल्लो एक वर्षमा जिल्लाका विभिन्न स्थानबाट १५ वटा अजिँगरको उद्धार गरी निकुञ्जमा छाडिएको छ ।

सुझावित समाचार