घरदैलोमै पुगेर सुरक्षा सचेतना फैलाउँदै जाजरकोट प्रहरी

शनिबार, २४ असोज, २०८३
डिजिटल संस्करण


जाजरकोट/ बडादसैँलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय जाजरकोटले जिल्लाभर सुरक्षा सचेतना अभियान सञ्चालन गरेको छ। चाडपर्वका वेला हुन सक्ने चोरी, लुटपाट, झैझगडा तथा अन्य आपराधिक गतिविधि न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले घरदैलोदेखि बजारका चोकचोकसम्म पुगेर नागरिकलाई सचेत गराउन थालेको हो।

चाडपर्व मनाउन घरबाहिर जानेको संख्या बढ्ने, बजारमा चहलपहल बढ्ने र आर्थिक कारोबारसमेत वृद्धि हुने भएकाले आपराधिक गतिविधिको जोखिमलाई ध्यानमा राखेर सुरक्षा सचेतना अभियान तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले बताए।

उनका अनुसार जिल्ला सदरमुकाम खलंगासहित मातहतका प्रहरी युनिटमार्फत घरदैलोमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, माइकिङ तथा साउन्ड सिस्टमबाट सुरक्षा सन्देश प्रवाह गर्ने र विभिन्न सार्वजनिक स्थानमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने काम भइरहेको छ।

चाडपर्वलाई सुरक्षित, मर्यादित र शान्तिपूर्ण बनाउन प्रहरी परिचालनसँगै नागरिकलाई सुरक्षा सतर्कताबारे जानकारी गराउने काम भइरहेको पुरीले बताए। चाडपर्वको समयमा हुन सक्ने चोरी, लुटपाट, झैझगडा तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी सक्रिय रहेको उनको भनाइ छ।

प्रहरीले घर छाडेर बाहिर जाँदा ढोका, झ्याल र ताल्चा राम्रोसँग जाँच गर्न, सम्भव भएसम्म छिमेकीलाई जानकारी गराउन तथा घरमा नगद र बहुमूल्य सामान खुला रूपमा नराख्न आग्रह गरेको छ। त्यस्तै, अपरिचित व्यक्तिको गतिविधिप्रति सचेत रहन, बजार तथा भिडभाड हुने स्थानमा आफ्ना सामानको सुरक्षा गर्न र सवारीसाधन पार्किङ गर्दा आवश्यक सावधानी अपनाउन पनि नागरिकलाई अनुरोध गरिएको छ।

कुनै शंकास्पद गतिविधि देखिएमा वा आपराधिक घटना हुन सक्ने आशंका लागेमा तत्काल प्रहरीलाई खबर गर्न प्रहरीले आग्रह गरेको छ।

चाडपर्वलाई शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गराउन सुरक्षा निकाय, स्थानीय तह, नागरिक समाज र सर्वसाधारणबिच सहकार्य आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी नवराज बरालले बताए। चाडपर्वका वेला हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायलाई सक्रिय बनाइएको उल्लेख गर्दै उनले नागरिकलाई पनि सचेत र जिम्मेवार भएर चाडपर्व मनाउन आग्रह गरे।

प्रमुख जिल्ला अधिकारी बरालका अनुसार शान्ति सुरक्षा कायम राख्नु प्रशासन र प्रहरीको जिम्मेवारी भए पनि सम्भावित घटना रोक्न नागरिकको सहयोग उत्तिकै महत्त्वपूर्ण हुन्छ। शंकास्पद गतिविधि, झैझगडा वा आपराधिक घटना देखिएमा समयमै सम्बन्धित निकायलाई जानकारी गराउँदा सम्भावित क्षति न्यूनीकरण गर्न सकिने उनले बताए।

दसैँमा गाउँघर फर्किने तथा परिवार र आफन्तसँग भेटघाटका लागि बाहिर जानेको संख्या बढ्ने भएकाले घर तथा सम्पत्तिको सुरक्षामा विशेष ध्यान दिनुपर्ने प्रहरीले जनाएको छ। घर छाड्नुअघि ढोका, झ्याल र ताल्चा जाँच गर्ने, छिमेकीलाई जानकारी गराउने र बहुमूल्य सामान सुरक्षित स्थानमा राख्नेजस्ता सावधानी अपनाउन प्रहरीले सुझाव दिएको छ।

जिल्ला प्रहरी कार्यालयले चाडपर्व अवधिभर सुरक्षा सतर्कता बढाउँदै नागरिकसँगको समन्वयलाई प्राथमिकता दिने जनाएको छ। प्रहरीको घरदैलो अभियानले सम्भावित जोखिमबारे नागरिकलाई सचेत गराउनुका साथै प्रहरी र समुदायबिचको सम्बन्ध थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।


 

सुझावित समाचार