जंगली जनावरले अन्नबाली सखाप पारेपछि बेसार खेतीतर्फ कोहलपुरका किसान

बिहिबार, २९ असोज, २०८३
प्रिन्ट संस्करण

बाँके/ कोहलपुर नगरपालिका– ७, सल्यानी टोलका किसान बेसार खेतीतर्फ आकर्षित भएका छन् । जंगली जनावरले बालीनाली सखाप पार्न थालेपछि बेसार खेती गर्न थालेको स्थानीय पूर्णकला गिरीले बताइन् ।

बेसारलाई जंगली जनावरले केही नगर्ने भएकाले जंगलछेउको सबै जमिनमा बेसार खेती गरेको उनको भनाइ छ । ‘धान, मकै, गहुँ, तोरी बाँदर र बँदेलले सखाप पार्छन् । बेसारलाई जंगली जनावरले कुनै क्षति गर्दैनन्,’ उनले भनिन् । 

पूर्णकलाले बेसार खेतीको क्षेत्र बढाउँदै गएकी छिन् । गत वर्ष चार कट्ठा जमिनमा बेसार रोपेकी पूर्णकलाले यस वर्ष एक कट्ठा बढाएकी छिन् । ‘गत वर्ष २२ क्विन्टल उत्पादन भएको थियो । यस वर्ष ३०–३५ क्विन्टल उत्पादन गर्ने लक्ष्य छ,’ उनले भनिन् । 

काँचो बेसार, बिउ र पिँधेर बिक्री गर्दै आएको उनले बताइन् । बिउ ६ हजार रुपैयाँ क्विन्टल, काँचो तीन हजार रुपैयाँ क्विन्टल र पिँधेको बेसार प्रतिकिलो तीन सय रुपैयाँका दरले बिक्री गर्दै आएको उनको भनाइ छ । ‘धान, गहुँ, तोरीलगायत खाद्यान्न बेसार बिक्री गरेको पैसाले किन्छौँ । खान, लाउन मजाले पुगेको छ,’ पूर्णकलाले भनिन् । 

अन्य अन्नबालीभन्दा बेसार खेतीमा फाइदा हुने गरेको स्थानीय सरस्वती बुढाथोकीले बताइन् । धान र मकैभन्दा यसमा दोब्बर फाइदा हुने गरेको बताउँदै उनले बेसार खेतीमा मिहिनेत पनि कम लाग्ने गरेको बताइन् । ‘धान र मकैमा रासायनिक मल हाल्नुपर्छ । लगानी र मिहिनेत पनि उत्तिकै गर्नुपर्छ,’ उनले भनिन्, ‘बेसार खेतीमा जंगलको घाँसापात र गोठे मल मात्र हाले पुग्छ । लागतभन्दा बढी फाइदा यसमा हुन्छ । जंगली जनावरले क्षति पनि पुर्याउँदैनन् ।’

सल्यानी टोलका अधिकांशले अहिले बेसार खेती गर्न थालेका छन् । दुई कट्ठामा रोपेको मकै बाँदर र बँदेलले सखाप पारेको स्थानीय मनीषा घर्तीमगरले बताइन् । बाँदरका कारण  एक कोशा घरमा लग्न नपाएको बताइन् । आगामी वर्षदेखि उक्त जमिनमा बेसार खेती गर्ने उनले सुनाइन् । ‘गाउँका सबैले बेसार खेती गरे । हामीलाई पनि बेसार खेती गर्न सुझाएका थिए, तर हामीले मानेनौँ,’ उनले भनिन्, ‘बेसार खेती गर्नुको विकल्प भएन ।’ 

बाँदरले बालीनाली सखाप पार्न थालेपछि स्थानीय सुकी डाँगीले पनि चार कट्ठा जमिनमा बेसार खेती गरेकी छिन् । अन्य बालीभन्दा बेसार खेती राम्रो लागेको उनले बताइन् । एक त जंगली जनावरको डर हुँदैन, अर्कोतर्फ बिक्री गर्न टाढा जान पर्दैन,’ उनले भनिन्, ‘अन्य बालीभन्दा दोब्बर फाइदा हुन्छ । बेसार खेती गर्न थालेपछि ढुक्क छौँ ।’

बेसार पिँध्न मिलको व्यवस्था गाउँमा गरिएको छ । स्थानीय महिला मिलेर मिल सञ्चालनमा ल्याएको स्थानीय मनकुमारी थापाले बताइन् । समूहका सदस्यका लागि विशेष छुटको व्यवस्था भएको उनको भनाइ छ । ‘खन्नेबित्तिकै किन्न महाजनहरू गाउँमै आउँछन् । काँचोमा बिक्री भएन भने बिउका रूपमा बिक्री गर्न सकिन्छ । त्यो पनि भएन भने पिँधेर बिक्री गर्न सकिन्छ,’ उनले भनिन्, ‘बिक्री भएन भने बिग्रिने डर हुँदैन ।’

यहाँका महिलाले बेसार छिल्ने मेसिन पनि भित्र्याएका छन् । पहिले हँसियाले छिल्ने गरेका महिलाले अब मेसिनले छिल्न थालेका छन् । ‘हँसियाले छिल्दा ढिला र असहज हुन्थ्यो । छिल्ने मेसिन ल्याएपछि सहज हुने भएको छ,’ पूर्णकलाले भनिन् । उनले जंगली जनावरले क्षति पुर्याउने ठाउँमा बेसार खेती उपयुक्त हुने पाठ सिकेको बताइन् ।

जंगली जनावरबाट अन्न बाली जोगाउन हैरान भएका थियौँ, तराई भू–परिधि कार्यक्रम (ताल)ले बेसार खेती गर्न सिकाएपछि अहिले हामी ढुक्क छौँ,’ उनले भनिन्, ‘अधिकांशले धान, मकै, गहुँ र तोरी खेती गर्न छाड्दै जानु भएको छ ।’ सल्यानी टोलका करिब २० घरले बेसार खेती गर्दै आएको उनले बताइन् । यस वर्ष सय क्विन्टलभन्दा बढी बेसार उत्पादन हुने उनको भनाइ छ ।

सुझावित समाचार