संखुवासभाका उत्कृष्ट आठ कृषक सम्मानित

मंगलबार, २७ असोज, २०८३
डिजिटल संस्करण

संखुवासभा/ कृषि ज्ञान केन्द्र संखुवासभाले जिल्लाका उत्कृष्ट आठ कृषकलाई सम्मान गरेको छ। ‘पोषण सुरक्षाका लागि कृषिमा नवप्रवर्तन’ भन्ने नारासहित केन्द्रले ४६औँ विश्व खाद्यान्न दिवसको अवसरमा मंगलबार कृषकलाई सम्मान गरेको हो।

उक्त कार्यक्रममा कृषकहरूलाई सम्मानपत्र र नगद पुरस्कारद्वारा सम्मानित गरिएको थियो। जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य र प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले जिल्लाभित्रका उत्कृष्ट कृषकहरूलाई सम्मानित गरेको हो।

कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख छत्रबहादुर विश्वकर्माका अनुसार १० स्थानीय तह रहेको संखुवासभामा भूगोल, क्षेत्र र बालीको विवरणअनुसार ६ स्थानीय तहका कृषकहरू छनोटमा परेका थिए। तीमध्ये पाँचखपन नगरपालिका–६ स्थित देवीथान पोल्ट्री फार्मका सञ्चालक राजन श्रेष्ठ (तरकारी विधा), चैनपुर नगरपालिका–५ स्थित लालीगुराँस अलैँची तथा कफी फार्मका सलबहादुर खत्री (अलैँची विधा) र चैनपुर नगरपालिका–७ स्थित बिन्दाबासिनी कृषि तथा पशुपालन फार्मका तीर्थबहादुर खड्का (उखु तथा सख्खर विधा)अन्तर्गत सम्मानित भएका हुन्।

त्यसैगरी, मकालु गाउँपालिका–४ का वसन्त राई (अलैँची) र मकालु गाउँपालिका–५ का विष्णुमान गुरुङ (अलैँची), चिचिला गाउँपालिका–१ स्थित गुरुङ कृषि तथा पशुपन्छी फार्मकी रमिला गुरुङ (तरकारी र अकबरे खुर्सानी), खाँदबारीस्थित सुनौलो कृषि बहुउद्देश्यीय पशु तथा मौरी फार्मका फुर्बु सांगे शेर्पा (मौरीपालन) र खाँदबारी नगरपालिका–१ स्थित भिसिआई पशु तथा कृषि फार्मकी शान्ता राई (च्याउ खेती) उत्कृष्ट कृषकको रूपमा सम्मानित भएका हुन्।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले कृषकहरूले उत्पादन र उत्पादकत्व बढाए मात्रै देश समृद्धितर्फ अघि बढ्ने बताए। उनले उत्कृष्ट कृषक भएर सम्मानित हुनु मात्रै ठूलो कुरा नभई व्यवसायिकतालाई जोड दिई आत्मनिर्भर बनी रोजगारी दिनु ठुलो उपलब्धि हुने बताए।

कृषिमा आधुनिकीकरण र पोषण सुरक्षालाई प्राथमिकता दिँदै स्थानीय उत्पादनको प्रवर्द्धन तथा कृषकको योगदानको कदर गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको कार्यालयको भनाइ छ। बर्सेनि जिल्लाभरका कृषकहरूको खेतीको मूल्यांकन गरेर कृषि ज्ञान केन्द्रले पुरस्कृत र सम्मानित गर्ने गरेको छ। कृषकहरूको प्रोत्साहनको लागि बर्सेनि यस्ता पुरस्कृत र सम्मान  गर्ने गरिएको कार्यालयको भनाइ छ।

सुझावित समाचार