नुवाकोट/ सामाजिक सहयोग अभियानलाई निरन्तरता दिँदै सोनी ढुंगानाले नुवाकोटको बेलकोटगढी नगरपालिकाका तीन विद्यालयका ६ सयभन्दा बढी विद्यार्थीलाई न्यानो कपडा वितरण गरेकी छिन्।
ढुंगानाले करुणाकर आधारभूत विद्यालय, महामाया माध्यमिक विद्यालय र महादेव माध्यमिक विद्यालयमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी विद्यार्थीलाई न्यानो कपडा वितरण गरेकी हुन्।
कपडा वितरण कार्यक्रममा ढुंगानाले विद्यार्थीको आवश्यकता सम्बोधन गर्न विद्यालय र समुदायबिच सहकार्य आवश्यक रहेको बताइन्। आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने तथा टाढाबाट विद्यालय आउने बालबालिकाका लागि यातायात सुविधा सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिइन्।
उनले विद्यालयमा हुने विभेद अन्त्य गर्दै सबै विद्यार्थीलाई शिक्षामा समान अवसर प्रदान गर्नुपर्ने धारणा राखिन्। विद्यालयलाई दलीय राजनीतिक प्रभावबाट मुक्त राखी विद्यार्थीको अधिकार, सिकाइ र भविष्यलाई प्राथमिकतामा राख्नुपर्ने उनकाे भनाइ थियो। न्यानो कपडा वितरण विशुद्ध सामाजिक अभियान भएको स्पष्ट पार्दै ढुंगानाले यसमा कुनै राजनीतिक स्वार्थ नरहेको बताइन्।
विगत एक दशकदेखि व्यक्तिगत रूपमा विभिन्न व्यक्ति तथा समुदायलाई सहयोग गर्दै आएकी ढुंगानाले यसअघि नुवाकोटका विभिन्न विद्यालयमा कुल १५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिसकेकी छिन्। उनकाे निरन्तर सामाजिक पहलले शैक्षिक क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ।
तीन विद्यालयका ६ सयभन्दा बढी विद्यार्थी लाभान्वित हुने गरी गरिएको न्यानो कपडा वितरणले आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।