तीन वर्षअघि बाढीलेबगाएको फोक्सिनटार पुल अलपत्र

उदयपुर र खोटाङबिच सिधा यातायात प्रभावित, हिउँदमा बेलिब्रिज र वर्षामा घिर्नीको भर

बिहिबार, २९ असोज, २०८३
प्रिन्ट संस्करण

उदयपुर/ तीन वर्षअघि सुनकोशी नदीमा आएको बाढीले बगाएको सगरमाथा लोकमार्गको गाईघाट–खोटाङ–दिक्तेल खण्डस्थित फोक्सिनटार पुल अझै बन्न सकेको छैन । उदयपुर र खोटाङलाई जोड्ने पुलको विकल्पमा हिउँदमा बेलिब्रिज जडान गरेर सवारीसाधन सञ्चालन गरिँदै आएको छ भने वर्षायाममा घिर्नीको सहारामा खाद्यान्नलगायत उपभोग्य वस्तु ढुवानी गर्नुपर्ने बाध्यता छ । 

१२ असोज ०८१ मा सुनकोशी नदीमा आएको बाढीले पुल बगाएको थियो । पुल पुनर्निर्माण नहुँदा दुई जिल्लाबिचको सिधा यातायात प्रभावित भएको छ भने तराईबाट खोटाङसम्म ढुवानी हुने दैनिक उपभोग्य वस्तुको लागतसमेत बढेको छ । पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासी र व्यवसायीले वर्षौँदेखि सास्ती खेप्नुपरेको छ । 

त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका अध्यक्ष दिनेश श्रेष्ठका अनुसार हिउँदमा बेलिब्रिज जडान भएपछि सवारीसाधन सञ्चालन गर्न सहज हुन्छ । तर, वर्षायाममा बेलिब्रिज झिकेपछि बाढीले पुल बगाएको स्थानमा घिर्नीको सहारामा सामान वारपार गराउनुपर्ने अवस्था छ ।

‘हिउँदमा बेलिब्रिज जडान गर्दा यातायात सञ्चालन गर्न सहज हुन्छ । वर्षामा बेलिब्रिज झिकेपछि पुल बगेको भागमा घिर्नी जोडेर खाद्यान्न तथा अन्य वस्तु ढुवानी गर्ने गरिएको छ । यसले खोटाङमा सामान पुर्याउने लागत बढाएको छ,’ उनले भने । उनका अनुसार चामल, नुन, तेल र लत्ताकपडालगायत दैनिक उपभोग्य वस्तु गाईघाटबाट सगरमाथा लोकमार्ग हुँदै खोटाङ पुर्याइन्छ । तर, पुल नहुँदा ढुवानी प्रक्रिया झन्झटिलो र महँगो भएको छ ।

 ३५ करोड बजेटको चर्चा हल्ला मात्र
फोक्सिनटार पुल पुनर्निर्माणका लागि ३५ करोड रुपैयाँ बजेट सुनिश्चित भएको चर्चा चले पनि त्यसअनुसार काम अघि बढ्न सकेको छैन । ०८२ जेठमा गाईघाट–दिक्तेल सडक योजना कार्यालयका तत्कालीन प्रमुख इन्जिनियर पशुपति ज्ञवालीले अर्थ मन्त्रालयबाट पुल निर्माणका लागि ३५ करोड रुपैयाँ बजेट सुनिश्चित भएको पत्र प्राप्त भएको बताएका थिए । श्रेष्ठले भने, ‘हामीले ०८२ जेठमै नयाँ पुल बन्ने हल्ला सुनेका थियौँ । तर, अहिले हल्ला मात्र रहेको छ भन्ने थाहा भयो ।’

तर, कार्यालय प्रमुख रहेका वरिष्ठ इन्जिनियर विवेक पाण्डेले बजेटसम्बन्धी पत्र कार्यालयमा नरहेको बताए । ‘३५ करोड रुपैयाँ बजेट सुनिश्चित भएको भनिएको विषयमा मलाई जानकारी छैन । हाम्रो कार्यालयमा त्यससम्बन्धी पत्र भेटिएको छैन,’ उनले भने, ‘यो पुल पुल सेक्टर कार्यालय धरानको मातहतमा पर्छ ।’

पाण्डेका अनुसार गत वर्ष हिउँदमा जडान गरिएको बेलिब्रिज वर्षायाम सुरु भएपछि झिकिएको हो । अब दसैँपछि बेलिब्रिज पुनः जडान गर्ने प्रक्रिया अघि बढाइने उनले बताए । बेलिब्रिज झिकिएपछि अहिले घिर्नीको सहारामा सामान ढुवानी भइरहेको छ ।

फोक्सिनटार पुल पुनर्निर्माणको काम ठेक्का विवादका कारण रोकिएको पूर्व पुल सेक्टर कार्यालय धरानका प्रमुख आविष्कार थापामगरले बताए । उनका अनुसार पुल निर्माणको जिम्मा पाएको गौरी–पार्वती वाइपी कन्स्ट्रक्सन जेभी काठमाडौंले निर्माण सम्पन्न गर्नुअघि नै पुल बाढीले बगाएको थियो । ‘पुलको काम सम्पन्न नभई बाढीले बगाएको हो । त्यसको जिम्मेवारी ठेकेदार कम्पनीले लिनुपर्ने अवस्था थियो । पछि नयाँ पुल बनाउने भन्दै पुरानो ठेक्का तोडियो,’ थापामगरले भने । 

ठेक्का तोडिएपछि निर्माण कम्पनी अदालत पुगेको र अदालतले अन्तरिम आदेश जारी गर्दै तत्काल थप प्रक्रिया अघि नबढाउन भनेपछि पुनर्निर्माणको काम रोकिएको उनले बताए । ‘३५ करोड रुपैयाँ बजेट सुनिश्चित भएको भनिएको विषय कागजमा मात्रै थियो होला । हाम्रो कार्यालयमा कुनै पनि जानकारीको अभिलेन छैन । हामीलाई त्यसबारे जानकारी छैन,’ उनले भने । थापामगरका अनुसार १२ असोज ०८१ को बाढीले क्षति पुर्याएको बिपी राजमार्गको पुनर्निर्माणलाई प्राथमिकता दिइएकाले पनि फोक्सिनटार पुलको काम अघि बढ्न सकेको छैन । 

गौरी–पार्वती वाइपी कन्स्ट्रक्सन जेभी काठमाडौंले निर्माण गरेको फोक्सिनटार पुल निर्माण सुरु भएको करिब १० वर्षपछि सञ्चालनमा आएको थियो । आर्क डिजाइनमा बनेको पुल ०७९ चैतमा सञ्चालनमा आएको थियो । सरकारलाई हस्तान्तरण गर्ने तयारी भइरहेका वेला बाढीले पुल बगाएको थियो । त्यसवेला निर्माण कम्पनीले भ्याटसहित २२ करोड ६७ लाख रुपैयाँमा पुल निर्माण गरेको थियो । पुलको लम्बाइ १२० मिटर र चौडाइ ११ मिटर थियो । बाढीले पुल बगाएपछि करिब ११ करोड रुपैयाँबराबरको क्षति भएको मूल्यांकन गरिएको थापा मगरले बताए । 

फोक्सिनटार खोटाङको खोटेहाङ गाउँपालिका– ९, लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका– ५, आँपटारको बिचमा पर्छ । उक्त पुलले उदयपुरको गाईघाट हुँदै तराईबाट खोटाङ आवतजावत गर्ने र सामान ढुवानी गर्ने मार्गलाई जोड्थ्यो । पुल बगेको तीन वर्ष पुग्न लाग्दासमेत स्थायी पुनर्निर्माणको टुंगो नलाग्दा स्थानीयवासी र व्यवसायीले अस्थायी संरचनाकै भर पर्नुपरेको छ । हिउँदमा बेलिब्रिज र वर्षामा घिर्नीको विकल्पमा निर्भर रहनुपर्ने अवस्थाले पुल पुनर्निर्माणको अनिश्चिततालाई थप उजागर गरेको छ ।

सुझावित समाचार