१० वर्षदेखि ज्येष्ठ नागरिकलाई भत्ता बाँड्दै वडाध्यक्ष कुँवर

आइतबार, २५ असोज, २०८३
डिजिटल संस्करण

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका– १ का वडाध्यक्ष आसिफ कुँवर (भुन्टु)ले विगत १० वर्षदेखि ज्येष्ठ नागरिक, असहाय तथा अशक्त नागरिकलाई आफ्नो भत्ताबापतको रकम वितरण गर्दै आएका छन्।

नेपाली कांग्रेसबाट ०७४ र ०७९ सालको स्थानीय तह निर्वाचनमा लगातार वडाध्यक्षमा निर्वाचित कुँवरले यस वर्ष पनि राज्यबाट प्राप्त भत्ताको रकम ज्येष्ठ नागरिक तथा असहाय नागरिकलाई वितरण गरेका छन्।

हरेक आर्थिक वर्षको पहिलो चौमासिकमा दसैँ–तिहारअघि भत्ता वितरण गर्दै आएका कुँवरले चालू आर्थिक वर्ष ०८३/८४ को असोज तेस्रो साता आइतबार पनि भत्ता वितरण गरेका हुन्। पहिलो र दोस्रो स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएदेखि नै उनले निरन्तर यस कार्यलाई अघि बढाउँदै आएका छन्।

‘मैले चुनावका वेला जनतासँग गरेको वाचाअनुसार राज्यबाट पाउने रकम हरेक वर्ष ७० वर्षमाथिका ज्येष्ठ नागरिक र अति अशक्त व्यक्तिलाई दसैँ खर्चका रूपमा वितरण गर्दै आएको छु,’ वडाध्यक्ष कुँवरले भने, ‘मैले हरेक महिना पाउने २२ हजार ४७० रुपैयाँ जम्मा गरेर दसैँअघि ज्येष्ठ, अशक्त र असहाय नागरिकलाई वितरण गर्दै आएको छु।’

आफ्नो भत्ताबापतको रकम वडाध्यक्ष कुँवरले वितरण गरेपछि ज्येष्ठ नागरिकदेखि असहाय नागरिकसम्म खुसी भएका छन्। उनले १० वर्षको अवधिमा भत्ताबापत करिब २७ लाख रुपैयाँभन्दा बढी रकम प्राप्त गरेको र हरेक वर्ष डेढ सयदेखि १७० जनासम्मलाई वितरण गर्दै आएको जनाइएको छ। यस वर्ष भने उनले १६४ जनालाई रकम वितरण गरेका छन्।

स्थानीय रत्नलाल लुहारले राज्यबाट प्राप्त सेवा–सुविधासमेत जनतालाई बाँड्ने वडाध्यक्षको कार्यबाट आफू खुसी भएको बताए। दलित अधिकारका लागि संघर्ष गर्दै आएका दलित युवा लुहारले वडाध्यक्षले दसैँ मनाउन खर्च दिएको भन्दै प्रशंसा गरे।

त्यस्तै, स्थानीय महिला लीलादेवी चौधरीले वडाध्यक्ष कुँवरले निरन्तर आफूहरूको दुःखमा साथ दिँदै आएको बताइन्। ज्येष्ठ नागरिक हरिसिंह डगौराले आफ्नो व्यक्तिगत सुविधाका लागि प्राप्त रकम ज्येष्ठ नागरिकको खुसीका लागि खर्च गरेको भन्दै वडाध्यक्षप्रति आभार व्यक्त गरे। वडा अध्यक्ष कुँवरले आगामी दिनमा पनि ज्येष्ठ नागरिक तथा असहाय नागरिकको हितमा यसरी नै काम गर्ने प्रतिबद्धता जनाएका छन्।

सुझावित समाचार