कञ्चनपुर । बेलडाँडी गाउँपालिका– १, झर्नासागरमा रहेको सरस्वती माध्यमिक विद्यालयको टिमले तेस्रो वासुदेव स्मृति फुटबल प्रतियोगिता ०८३ को उपाधि जितेको छ। महेन्द्रनगरस्थित खुलामञ्चमा सम्पन्न अन्तरविद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधि सरस्वतीले हात पारेको हो।
आइतबार भएको यू–१६ सेभेन ए–साइड फुटबल प्रतियोगिताको फाइनलमा सरस्वतीले ओम पुष्पा अञ्जली बोर्डिङ इंग्लिस स्कुल दोधाराचाँदनीलाई १–० ले पराजित गरेको प्रतियोगिता संयोजक गौरभ बोहराले जानकारी दिए।
विजेता टोलीले नगद ५५ हजार ५५५ रुपैयाँ र उपविजेता टिमले ३३ हजार ३३३ रुपैयाँसहित आकर्षक ट्रफी मेडल र प्रमाणपत्र पाएका छन्।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, मिडफिल्डर र सर्वाधिक गोलकर्ता सरस्वती माविका क्रमशः वीरेन्द्र साउद, उमेश खडायत र जीवन महर घोषित भए। उत्कृष्ट डिफेन्स बैजनाथ मावि महेन्द्रनगरका गणेश ओली र प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि एलिस बमले हात पारे।
प्रतियोगितामा सामुदायिक विद्यालयका नाै र संस्थागत विद्यालयका २३ टिमको सहभागिता थियो। प्रतियोगिताका विजेता खेलाडीलाई मुख्यमन्त्री खगराज भट्टले पुरस्कार वितरण गरेका थिए।