पारा एसियाली खेलकुद : पलेशा गोवर्धनबाटै पदकको आशा

शनिबार, २४ असोज, २०८३
प्रिन्ट संस्करण
  • अक्टोबर १८–२४ देखि जापानको आइची नागोयामा हुने पारा एसियाली खेलकुदमा आठ खेलबाट १९ खेलाडी सहभागी हुँदै

लगातार अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रदर्शन गरिरहेकी तेक्वान्दोकी पलेशा गोवर्द्धनबाटै नेपालले पारा एसियाली खेलकुदमा पदकको आशा गरेको छ । जापानको आइची–नागोयामा हुने पाँचौँ एसियाली पारा खेलकुदमा नेपाल पनि सहभागी हुँदै छ । नेपालका आठ खेलका १९ खेलाडीले पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । त्यसका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रामचरित्र मेहताले नेपाली टिमलाई शुक्रबार नै बिदाइ गरेका हुन् ।

नेपाल पहिलो संस्करणदेखि नियमित रूपमा पारा एसियाडमा सहभागी हुँदै आएको छ । तर, चार संस्करणको समाप्तिसम्म पारा एसियाली खेलकुदमा नेपालले मात्र एक पदक जितेको छ । तेक्वान्दोकी पलेशाले नै पछिल्लोपटक चीनको हाङझाउमा भएको चौथो संस्करणमा कांस्य पदक जितेकी थिइन् । पलेशा पेरिस पारालिम्पिककी पनि कांस्य पदक विजेता हुन् । त्यसैले पनि उनीबाट पदकको अपेक्षा गरिएको छ ।

प्रशिक्षक कविराज नेगी लामाले पलेशा पदक जितेरै फर्कने प्रतिबद्धता जनाउँछन् । ‘पदक जित्ने अत्यधिक सम्भावना छ । पछिल्लोपटक हामीले एसियाली खेलकुद र ओलम्पिकमै पदक जितेका छौँ । तयारी राम्रो छ । हामी यसपटक पनि पदकको अपेक्षा गर्न सक्छौँ,’ प्रशिक्षक लामा छन्, ‘एसियामै तेक्वान्दोका राम्रो प्रतिस्पर्धी छन् । तैपनि, हामी राम्रो चुनौती दिनेछौँ । फाइनल नै पुग्ने योजना छ ।’

यसपटक तेक्वान्दोमा २३ वर्षीय पलेशासँगै दुई खेलाडीले चुनौती प्रस्तुत गर्नेछन् । युवा प्रतिभावान् रेनु तामाङ पनि यसपटक पदक जित्ने लक्ष्यमा छिन् । पछिल्लोपटक मंगोलियामा भएको एसियन च्याम्पियनसिपमा पनि पलेशा र रेनुले कांस्य पदक जितेका थिए । ‘दुवै खेलाडी उत्तिकै राम्रा छन् । मंगोलियामा पदक जितेकाले पनि उच्च मनोबल छ ।’

कुन खेलका कति खेलाडी सहभागी ?
यसपटक तेक्वान्दोसँगै एथलेटिक्स, ब्याडमिन्टन, टेबलटेनिस, पावर लिफ्टिङ, टेबलटेनिस, पौडी, जुडो र ह्विलचेयर टेनिसमा नेपालले प्रतिस्पर्धा गर्दै छ । एथलेटिक्समा प्रभा आङदेम्बे, सृष्टि धेवाजु, मोहन रोका, हिमाल अर्याल र राजु गुरुङ छन् । ब्याडमिन्टनमा प्रकाश अधिकारी, टेबलटेनिसमा केशव थापा, डिगमसिंह चेमजोङ, निर्मला भण्डारी, स्वीकृति न्यौपाने र विवेक राई पनि सहभागी छन् । पावर लिफ्टिङमा रजनी राई र पवन घर्तीमगर, पौडीमा जेनिशा कडायत र हर्कमान घर्ती, जुडोमा संकल्प आचार्य र ह्विलचेयर टेनिसमा रामबहादुर तामाङले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

प्रशिक्षकतर्फ तेक्वान्दोमा कविराज नेगी लामा, एथलेटिक्समा ओलम्पियन विमला रानामगर, ब्याडमिन्टनमा छविलाल शाही, टेबलटेनिसमा वसन्त भारती, पावर लिफ्टिङमा क्याब्लिन महर्जन, पौडीमा शुभ श्रेष्ठ, जुडोमा योगेन्द्र विष्ट र ह्विलचेयर टेनिसमा सूर्यभूषण वज्राचार्य छन् ।

टोलीको बिदाइ
पाँचौँ एसियाली पारा खेलकुदमा सहभागी हुने टोलीलाई शुक्रबार सफलताको शुभकामना दिँदै राखेपका सदस्यसचिव रामचरित्र मेहता र राखेपकी सदस्य मोनालिसा खम्बूले त्रिपुरेश्वरस्थित मुख्यालयमा बिदाइ गरेका थिए । टोलीको सेभ दी मिसनमा केदारबाबु शिवाकोटी, अफिसियलमा विश्वास बस्नेत, राधा घले, टेकबहादुर गुरुङ, पशुपति पराजुली, दीपक केसी, ओमनाथ शिवाकोटी, सुनीता पराजुली, टेकबहादुर शाही ठकुरी, रामचन्द्र श्रेष्ठ, सरोज श्रेष्ठ, राजीव प्रधान, छिरिङ लामा, गणेशबहादुर खत्री, माधवप्रसाद चौलागाईं, विकास थापा, अमोद कार्की, साङ्बु भोटे, सुनीता तामाङ, अञ्जना श्रेष्ठ र ज्याननारायण श्रेष्ठ रहेका छन् । चिकित्सकमा दीपक श्रेष्ठ छन् । तेक्वान्दो र जुडो टोली शनिबार नै जापान प्रस्थान गर्नेछन् । 

सुझावित समाचार