एमालेले बिहीबार स्थायी समिति बैठक बोलाएको छ । गत पुस मसान्तमा एघारौँ महाधिवेशन सम्पन्न भएको नौ महिनापछि एमालेले पहिलोपटक स्थायी समिति बैठक बोलाएको हो ।
एमालेको विधानमा केन्द्रीय कमिटीको एकतिहाइ पोलिटब्युरो र एकतिहाइ संख्या रहेको स्थायी समिति रहने व्यवस्था छ । अहिले एमालेमा ३०२ सदस्यीय केन्द्रीय कमिटी छ । केन्द्रीय कमिटीको ८ असोजमा सम्पन्न बैठकले सातजना स्थायी समिति सदस्य मनोनीत गरेको थियो । अहिले १९ सदस्यीय पदाधिकारीमा सातजना मनोनीत भएपछि स्थायी समितिको संख्या २६ पुगेको छ । विधानअनुसार अझै सातजना सदस्य मनोनीत गर्न बाँकी रहेकोमा पछिल्लो केन्द्रीय कमिटी बैठकले त्यससम्बन्धी अधिकार केन्द्रीय सचिवालयलाई दिएको छ ।
महाधिवेशनपछि बस्न लागेको पहिलो स्थायी समितिमा पूर्वराष्ट्रपति विद्या भण्डारी पनि सहभागी हुँदै छिन् । उनलाई एमालेले अध्यक्षपछिको दोस्रो मर्यादामा रहने गरी वरिष्ठ नेताका रूपमा पार्टीमा भित्र्याएको छ ।
पछिल्लो केन्द्रीय कमिटी बैठकले उनको मर्यादा तोक्नुका साथै अध्यक्षको काममा सघाउने, पार्टीका सही निर्णयका लागि परामर्शलगायतको काम गरेर भूमिका खेल्ने, केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी समितिले तोकेको अन्य काम गर्नेजस्ता अधिकार दिएको छ । ती अधिकार विधान महाधिवेशनबाट पास गर्ने गरी अहिलेलाई बाधा अड्काउ फुकाई केन्द्रीय कमिटीबाट एमालेले भण्डारीको मर्यादा र जिम्मेवारीको टुंगो लगाएको हो ।
प्रचार विभाग प्रमुख नीरज आचार्यले विधानमा उपाध्यक्षहरूको जस्तै वरिष्ठ नेताको पनि अधिकारका विषयमा केन्द्रीय कमिटीले टुंगो लगाइसकेकाले त्यहीअनुसारको मर्यादा र भूमिकामा भण्डारीको पनि बैठकमा सहभागिता रहने जानकारी दिए ।