नयाँदिल्ली/ भारतमा मतदाता नामावलीमा भएको विवादित फेरबदलविरुद्ध शनिबार पनि सरकारविरुद्ध विद्यार्थी प्रदर्शन जारी रह्यो । प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारले मतदाता नामावलीबाट धेरैको नाम काटेको विरोधमा भएको प्रदर्शनमा विद्यार्थी र सामाजिक अभियन्ता सहभागी भए । प्रदर्शनकारीले ‘भोट चोर, पद छोड’ तथा ‘ज्ञानेश कुमार, राजीनामा देऊ’ भन्दै नाराबाजी गरे । प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको रोयटर्सले जनाएको छ ।
कक्रोच जनता पार्टी (सिजेपी)को आह्वानमा भएको प्रदर्शनमा स्वतन्त्र सांसद कपिल सिबल, वामपन्थी ‘अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन’की अध्यक्ष नेहा बोरा तथा राजनीतिकर्मीहरू प्रशान्त भूषण र योगेन्द्र यादव पनि सामेल थिए । यसअघि शुक्रबार भएको प्रदर्शनमा मुम्बई र दिल्लीबाट सयौँ विद्यार्थी पक्राउ परेका थिए ।
आन्दोलनलाई विपक्षी पार्टी तथा विद्यार्थी संगठनले पनि समर्थन जनाएका छन् । प्रमुख आयुक्त कुमारको राजीनामा नआए देशव्यापी आन्दोलन चर्काउने सिजेपीले चेतावनी दिएको छ । सिजेपी प्रमुख अभिजित दिपकेले आगामी शनिबार बृहत् प्रदर्शन गर्ने चेतावनी दिएका छन् ।