काठमाडौं। स्वास्थ्य बिमा बोर्डले आगामी ०८३ पुस १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रममा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने भएको छ।
बोर्डको दोस्रो बैठकले १६ वर्ष उमेर पूरा गरेका नागरिकका लागि स्वास्थ्य बिमा कार्यक्रममा नयाँ आबद्धता, नवीकरण तथा स्वास्थ्य सेवा प्राप्त गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको हो।
बोर्डद्वारा जारी प्रेस नोटअनुसार अब स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध सम्पूर्ण परिवारले इ–पोर्टलमार्फत आफ्नो विवरण अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्नेछ। राष्ट्रिय परिचयपत्रको प्रयोगबाट बिमितको पहिचान सुनिश्चित गर्नुका साथै दोहोरो आबद्धता नियन्त्रण र दाबी व्यवस्थापनलाई थप विश्वसनीय बनाउने बोर्डको अपेक्षा छ।
यसैगरी, स्वास्थ्य सेवा खरिद तथा भुक्तानी प्रणालीलाई थप वैज्ञानिक र लागत–प्रभावकारी बनाउन रणनीतिक खरिदसम्बन्धी अध्ययन कार्यदल गठन गर्ने निर्णय पनि बैठकले गरेको छ। कार्यदलले सेवा प्रदायक स्वास्थ्य संस्थाको छनोट तथा वर्गीकरण, भुक्तानी विधिलगायत विषय समेटिएको प्रतिवेदन ६० दिनभित्र पेस गर्नेछ।
बोर्डले स्वास्थ्य बिमा प्रणालीलाई डिजिटल प्रविधिमैत्री बनाउने क्रममा सेवा प्रदायक स्वास्थ्य संस्थाबाट इएमआर (Electronic Medical Record) प्रणालीमार्फत प्राप्त स्वास्थ्य अभिलेख तथा दाबी विवरणलाई समेत मान्यता दिने निर्णय गरेको छ।
