काठमाडौं । रुसका उपविदेशमन्त्री रुदेन्को आन्द्रेई युरेभिच तीनदिने औपचारिक भ्रमणका लागि मंगलबार नेपाल आउने भएका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार उनले बुधबार परराष्ट्रसचिव अमृतबहादुर राईसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
नेपाल र रुसबिच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाठका अवसरमा उनी आउन लागेका हुन् । उनले बुधबार परराष्ट्रसचिव राईसँग द्विपक्षीय सम्बन्धको सात दशकको समीक्षा गर्ने तथा पारस्परिक सहकार्यका विषयहरूमा छलफल गर्ने छन् । नेपालले रुसी सेनामा नेपालीहरूको अवैधानिक भर्ती तथा त्यहाँ हराइरहेकाहरूको खोजी, मृत्यु भएकाहरूलाई क्षतिपूर्तिलगायतका विषयमा पनि चासो राख्नेछ ।
उपविदेशमन्त्री युरोभिच मंगलबार साँझ एक पाँचतारे होटेलमा रुसी राजदूतावासद्वारा आयोजित ओपन डाइलगमा सहभागी हुनेछन् जहाँ उनले वर्तमान भूराजनीति, रुस–नेपाल सम्बन्धमा केही सीमित व्यक्तिहरूसँग अनौपचारिक अन्तरक्रिया गर्नेछन् । उनी बिहीबार स्वदेश फर्किनेछन् ।