जिन्दगीजस्ता गीतहरू

शनिबार, १३ भदौ, २०८३
डिजिटल संस्करण

रहर छ ज्युँन मलाई मेरै नामको जिन्दगानी
स्वीकार छन् झेल्दै जान आफ्नो भागको घामपानी 

डा. गीता त्रिपाठीका यी गीति पंक्तिहरूले जीवनयात्रामा तय गर्नुपर्ने जुनसुकै आरोह–अवरोह स्वीकार्य भएको भाव सम्प्रेषण त गरेका छन् नै त्यसभन्दा पर एउटा इतिहास पनि निर्माण गरेका छन् । यो त्यही गीत हो, जसले उनलाई एउटा अब्बल गीतकारको परिचयमा स्थापित गरिदियो । २०६४ सालमा सांस्कृतिक संस्थानले आयोजना गरेको देशव्यापी आधुनिक गीत प्रतियोगितामा सर्वोत्कृष्ट पुरस्कार प्राप्त गर्न सफल गीत यही थियो ।

यस लेखमा प्राध्यापन, निबन्धलेखन, कवितालेखन, समालोचना, सम्पादनजस्ता विविध सिर्जनशील काम एकसाथ गरिरहेकी साहित्यकार त्रिपाठीको गीति लेखनमाथि केन्द्रित हुन चाहन्छु । गीतलाई परिभाषित गर्ने आ–आफ्ना तरिका होलान्, तथापि के कुरामा विवाद छैन भने सरलता, संक्षिप्तता, लयचेतना, अनुप्रास–कौशल र अलंकारको उचित प्रयोग गीतलाई चाहिने तत्व हुन् ।

‘थुँगा वनफूलका’ डा. त्रिपाठीका प्रकाशित गीति सिर्जना हुन् । गजलमञ्चले २०६१ सालमा प्रकाशन गरेको गीतिसंग्रह हो यो । वनमा फुलेका फूलहरूले घाम, झरी, आँधी, हुरीजस्ता अनेकौँ बाधाहरूसँग जुधिरहनुपर्छ । तर, तिनको पनि आफ्नै अस्तित्व र स्वाभिमान हुन्छ । आफ्नै पहिचान, सौन्दर्य र सुगन्ध हुन्छ । वनफूल त्यस्तो शक्तिशाली बिम्ब हो, जसले सीमान्तमा रहेको वर्गसंघर्ष, आत्मसम्मान र सपनालाई सम्झाइदिन्छ । महलका गमलाहरूमा फुल्ने गुलाफ र जंगलका भिरहरूमा फुल्ने सुनाखरीहरूमा ठुलो अन्तर हुन्छ । पुस्तकको नामले नै वर्गीय रंग बोकेको प्रतीत हुन्छ ।

एउटा बौद्धिक स्रष्टाले मात्र यस्तो प्रयोग गर्न जान्दछ । उनका गीतका विषयहरू प्रकृति संस्कृति, नारी, प्रेम, जीवन, मृत्यु, एक्लोपन, उदासी हुन् । यसका साथसाथै कतिपय गीतमा नारी अस्मिता, आत्मखोज, विद्रोही, प्रतिरोधी र आशावादी भाव पनि प्रकट भएको पाइन्छ ।

जसरी मान्छेको जीवनरुपी फूलमा प्रेम, वियोग, हाँसो, आँसु, बेचैनी,  संघर्ष, विद्रोह र आशाका अनेकौँ पत्रहरू छन्, गीता त्रिपाठीका गीतमा पनि ठिक त्यसैगरी अनेकौँ पत्रहरू उनिएर आएका छन् । त्यसैले भन्न सकिन्छ, उनका गीतहरू जीवनजस्तै छन् । सरलता, लयात्मकता, कोमलता, अनुभवको जगमा उठेको नारी संवेदना, प्रेमको विराट आयाम, शालीन विद्रोह तथा सरल बिम्बका माध्यमले गहन दर्शन सम्प्रेषण गर्ने प्रयास उनका गीतका चरित्र हुन् ।

गीतमा भावुकता र यथार्थ कति सन्तुलित हिसाबले अभिव्यक्त गरिएको छ भन्ने कुराले गीतकारको सामर्थ्य झल्काउँछ । कविता, निबन्ध र समालोचनामा खेल्न माहिर डा. गीता त्रिपाठीका गीतहरूमा विषयगत, शैलीगत, संरचनागत, मात्रागत नवीनता र अप्रचलित उपमाहरूको प्रयोग पनि थपिँदै जाओस् भन्ने अपेक्षा त पाठक एवं श्रोताको रहन्छ नै । 

See More On

सुझावित समाचार